+
+

तीन सिजनपछि बी डिभिजनमै झर्‍यो च्यासल

शीर्ष ६ मा पर्ने लक्ष्य राखेको च्यासल कसरी पर्‍यो रेलिगेसनमा ?

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ फागुन ७ गते १८:५०
शनिबार फ्रेन्डस विरुद्धको खेल हारेपछि निराश च्यालस युथ क्लबका खेलाडीहरु । यो खेलपछि च्यासल रेलिगेसनमा पर्ने पक्का भएको हो । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

७ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग सुरु हुनुअघिको तामझाम हेर्दा धेरैलाई लागेको थियो, च्यासल युथ क्लबले यस पटक ठूलै उथलपुथल गर्छ । तर लिगको एक खेल बाँकी हुँदैमा च्यासल रेलिगेसनमा पर्ने पहिलो टिम बन्यो । अर्थात शीर्ष श्रेणीमा तीन सिजन बिताएपछि च्यासल बी डिभिजनमा फर्कने पक्का भएको छ ।

शनिबार फ्रेण्ड्ससंग २-१ को हारपछि पोष्ट म्याच कन्फ्रेन्समा उपस्थित च्यासलका टेक्निकल डिरेक्टर लेड मानसनले ए डिभिजन लिग स्ट्याटस गुमायौँ भन्दा निकै निराश देखिन्थे । उनले फ्रेण्ड्सविरुद्ध एक पेनाल्टी गोलले आशा जगाएपनि अवसर सदुपयोग गर्न नसक्दा हार व्यहोर्नुपरेको प्रतिक्रिया दिए ।

फ्रेण्ड्सका लागि जमाउल एन्थोनी फ्रान्कोइसले पहिलो हाफमा दुई गोल गरेका थिए । च्यासलका माउसा अबागानाले दोस्रो हाफमा पेनाल्टीबाट एक गोल फर्काए ।

यस पटक ए डिभिजनबाट दुई टिम रेलिगेसनमा पर्ने भएकोले रेलिगेसनबाट जोगिने प्रतिस्पर्धा चर्को थियो । त्यसमा च्यासल खरो उत्रन सकेन । १२औं चरणसम्म च्यासलको नतिजा हेर्ने हो भने त्यस्तै देखिन्छ ।

एक जित तीन बराबरी अनि आठ हार । जारी शहीद स्मारक ए डिभिजन लिगमा सबैभन्दा धेरै खेल हार्ने टिम च्यासल नै हो । अनि च्यासलले १२ खेलमा जम्मा ५ गोल मात्र गरेको छ । त्यसमा पनि रुमेश बर्तौलाले सुरुको तीन गोल गरेका थिए । पछिल्लो दुई गोल माउसा अबागानाले गरेका थिए । दुवै गोल पेनाल्टीबाट सम्भव भएको थियो । यस्तै च्यासलले लिगमा सबैभन्दा धेरै २१ गोल खाएको छ ।

‘सिजनभर समग्रमा हामीले खराब खेल्यौँ । हामीले गोल गर्न सकेनौँ । खेलमा गोल गर्नैपर्छ । कस्तो खेल्छ भन्नेले असर गर्दैन’ टेक्निकल डिरेक्टर मानसनले भने, ‘५ गोल भयो त्यसमा २ पेनाल्टी गोल । यो राम्रो होइन ।’

च्यासलले लिगको दोस्रो चरणमा एपीएफलाई १-० ले हराउनुबाहेक कुनै खेल जित्न सकेन । बी डिभिजनमा झर्ने पक्का भएपछि च्यासलले अब यसै सिजनबाट ए डिभिजनमा डेब्यु गरेको सातदोबाटो युथ क्लबसंग अन्तिम खेल खेल्न बाँकी छ ।

गत सिजनको लिग विजेता टिम मछिन्द्रको कप्तान विराज महर्जन र अर्को चर्चित क्लब मनाङ मर्स्याङ्दीको कप्तान कमल श्रेष्ठलाई च्यासलले भित्र्याएको थियो ।

यस्तै विदेशी खेलाडी राख्नमा पनि च्यासलले कुनै कन्जुस्याईं गरेन । इटलीको उमेर समूहबाट खेलिसकेका युवा फरवार्ड विकास मेराग्लियादेखि घरेलु फुटबलमा राम्रो खेल्दै आएको अफ्रिकन खेलाडीहरु केट्चा यानिक र माउसा अबागानालाई पनि च्यासलले भित्र्याएको थियो ।

यस्तै यू-२३ राष्ट्रिय टिमका गोलकिपर अर्पण कार्कीलाई पनि अनुबन्ध गरेको थियो । दक्षिण एसियाली कोटामा भारतीय वियज पोन्नुरंगमलाई भित्र्याएको थियो । यसबाहेक आशिष राई, राजिव लोप्चनलगायत खेलाडी च्यासलमा थिए ।

गोलकिपर अर्पण पूर्ण पिट नहुँदा सबै खेल्न सकेनन् । १०औं चरणको खेलमा मच्छिन्द्रविरुद्धको खेलमा अर्पणको घुँडामा चोट लागेको थियो । त्यसपछि उनले लिगको बाँकी खेल खेल्न सकेनन् ।

लिग सुरु हुनुअघिको प्रिम्याच कन्फ्रेन्समा च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले टिममा युवा खेलाडी रहेकोले धेरै अपेक्षा नभएको र शीर्ष ६ मा पर्ने लक्ष्य रहेको बताएका थिए ।

‘विदेशी खेलाडीहरु (दुई जना अफ्रिकन र एक इटलीका) छन् । विकास अनप्रेडिक्टेबल छ । ऊ यहाँ एडजस्ट गर्दैछ । युवा खेलाडी भएकाले एडजस्ट गर्नुपर्छ । टप लेभलमा खेलेको अनुभव छैन । सन्तोष साहुखल पनि आउँछ तर कुन समयमा आउने फिक्स छैन’ प्रशिक्षक साहुखलले भनेका थिए ।

प्रशिक्षकले भनेजस्तै युवा खेलाडी खरो उत्रन सकेनन् । विकास पनि टेक्निकल्ली राम्रो खेल्ने भएपनि यहाँ उनलाई एडजस्ट हुन नै गाह्रो भएको देखिन्छ । लिगमा जम्मा ५ गोल मात्र गर्न सक्नु च्यासलको अर्को समस्या देखियो ।

पहिलो खेलमै च्यासलले ललितपुरको अर्को चर्चित क्लब थ्रीस्टारको सामना गर्दा ३-० को हार बेहोर्‍यो । उक्त खेलमा थ्रीस्टारका तीन डिफेण्डरले गोल गर्दा च्यासलका आशा गरिएका उनै विकास मेराग्लिया पेनाल्टीमा चुके । एक गोलले पछि परेको अवस्थामा विकासले गोल गरेको भए च्यासलको यात्राले अर्कै मोड लिन सक्थ्यो । तर फुटबलमा सोचेजस्तो सधैँ कहाँ हुन्छ र !

त्यसपछि दोस्रो खेलमा पुनरागमन गर्दै च्यासलले एपीएफलाई १-० ले हरायो । तेस्रो खेलमा एनआरटीसंग बराबरी खेल्दा च्यासलको खातामा ३ खेलबाट ४ अंक थियो । जुन नराम्रो थिएन । तर त्यसपछि ९ खेलमा च्यासलले जम्मा २ खेल बराबरी गर्दा बाँकी ७ मा हार ब्यहोर्‍यो ।

स्कटिस नागरिक लेड मान्सनले आफ्नो फुटबल करियरमा पहिलो पटक रेलिगेसनमा पर्नुपरेको बताए ।

‘इमानदार भएर भन्नुपर्दा यो मेरो करियरमा पहिलो रेलिगेट हो’ मानसनले भने, ‘हारले धेरै सिकाउँछ जितले भन्दा । यो पटक राम्रो अनुभव भएन । हामी फेरि एकजुट हुन आवश्यक छ । क्लबले योजना बनाएर अघि बढ्नुपर्छ ।’

उनले यो निकै कठिन समय भएको भन्दै समर्थकलाई खुशी बनाउन नसकेकोमा माफी समेत मागे । ‘हामीले सिजनभर चाहिने जति गर्न सकेनौँ । म धेरै निराश छु । फ्रेण्ड्सलाई बधाई छ । उनीहरुले पछिल्लो ३ खेल राम्रो गरेका छन् । हामीले ए डिभिजन स्ट्याटस गुमायौँ । यो स्वीकार्न धेरै गाह्रो छ’ उनले भने ।

च्यासलको नतिजा

च्यासल ०-३ थ्रीस्टार
च्यासल १-० एपीएफ
च्यासल १-१ एनआरटी
च्यासल ०-२ आर्मी
च्यसाल ०-१ जाउलाखेल
च्यसाल १-३ हिमालयन शेर्पा
च्यासल ०-० संकटा
च्यसाल ०-५ मनाङ
च्यसाल १-२ पुलिस
च्यासल ०-२ मच्छिन्द्र
च्यसाल ०-० ब्रिगेड ब्वाइज क्लब
च्यासल १-२ फ्रेण्ड्स

बाँकी खेल

च्यसलविरुद्ध सातदोबाटो

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?