+
+
Shares
विश्लेषण :

कसका लागि फुटबल ? विश्वकपमा निष्पक्षता र व्यापारीकरणको टकराव

अनिश्चितता फुटबलको सौन्दर्य हो, यही यसको सामाजिक शक्ति हो। र, विडम्बना के छ भने यही यसको सबैभन्दा ठूलो आर्थिक सम्पत्ति पनि हो।

दुर्गाराज पाठक दुर्गाराज पाठक
२०८३ साउन ३० गते १६:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फुटबलको लोकप्रियता र आर्थिक सफलताका पछाडि खेलको विश्वव्यापी पहुँच, भावनात्मक शक्ति र परिणामको अनिश्चितता जस्ता मुख्य तत्वहरू रहेका छन्।
  • सन् २०२६ को विश्वकपमा ४८ टोली सहभागी हुँदा ६८ लाख १० हजारभन्दा बढी दर्शक उपस्थित भएर नयाँ कीर्तिमान कायम गरेका छन्।
  • फुटबलको व्यावसायिक वृद्धिले निष्पक्षता र प्रतिस्पर्धात्मक सन्तुलन कायम राख्न तथा संस्थागत सुशासनका लागि नयाँ चुनौतीहरू सिर्जना गरेको छ।

फुटबललाई ‘खेलकुदको राजा’ भनिनु केवल यसको लोकप्रियताका कारण होइन। यसको पछाडि विश्वव्यापी पहुँच, खेलको सरल संरचना, भावनात्मक शक्ति, राष्ट्रिय पहिचान र विशाल आर्थिक प्रणाली जोडिएको छ। एउटा बल, दुई टोली र खुला मैदानबाट शुरु हुने यो खेल आज प्रसारण अधिकार, प्रायोजन, टिकट, डिजिटल सामग्री, जर्सी, खेलाडीको व्यक्तिगत ब्रान्ड र सामाजिक सञ्जालसम्म फैलिएको बहुस्तरीय उद्योग बनेको छ।

अन्य खेलका विश्वकप पनि प्रतिष्ठित छन्, तर फुटबल विश्वकपको सामाजिक र सांस्कृतिक प्रभाव फरक छ। यसको दुर्लभता, राष्ट्रिय टोली बीचको प्रतिस्पर्धा, विश्वभर फैलिएको समर्थक-आधार र लियोनेल मेसी तथा क्रिस्टियानो रोनाल्डो जस्ता विश्वव्यापी स्टारहरूले सिर्जना गर्ने ध्यानले यसलाई खेलकुद र लोकप्रिय संस्कृतिको साझा केन्द्र बनाएको छ।

सन् २०२६ को विश्वकपले पहिलो पटक ४८ टोली, १०४ खेल र तीन आयोजक राष्ट्र (क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिका) समेट्यो। तथ्यांक अनुसार प्रतियोगितामा ६८ लाख १० हजारभन्दा बढी दर्शक रंगशालामा उपस्थित भए, जुन विश्वकप इतिहासकै सर्वाधिक उपस्थिति हो। औसत ६५ हजारभन्दा बढी दर्शक प्रतिखेल र करिब शतप्रतिशत सिट-उपयोगले प्रतियोगिताको असाधारण व्यावसायिक र सामाजिक माग देखाउँछ।

१९ जुलाईमा सम्पन्न फाइनलमा स्पेनले अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले हराउँदै दोस्रोपटक विश्वकप जित्यो; फेरान टोरेसले १०६औं मिनेटमा निर्णायक गोल गरे।

तर यही विशाल सफलताले एउटा गम्भीर प्रश्न पनि जन्माउँछ; फुटबल जति ठूलो व्यावसायिक उद्योग बन्दै जान्छ, त्यति नै यसको मूल आत्मा अर्थात् निष्पक्षता, प्रतिस्पर्धात्मक सन्तुलन र परिणामको अनिश्चितता जोगाउन कठिन हुँदै गएको त छैन? यही प्रश्न नै २०२६ विश्वकपलाई खेलकुद विज्ञान, खेल अर्थशास्त्र र संस्थागत सुशासनको दृष्टिबाट हेर्ने मुख्य प्रवेशद्वार हो।

अनिश्चितता : फुटबलको सौन्दर्य र आर्थिक आधार

फुटबलको सबैभन्दा ठूलो शक्ति यसको आर्थिक आकार मात्र होइन, परिणामको अनिश्चितता हो। तुलनात्मक रूपमा कमजोर मानिएको टोलीले बलियो टोलीलाई हराउन सक्छ, नयाँ खेलाडीले स्थापित स्टार खेलाडीलाई उछिन्न सक्छ। र एउटा गोल, एउटा बचाउ वा रेफ्रीको एउटा निर्णयले खेलको सम्पूर्ण कथा बदलिदिन सक्छ।

यही अनिश्चितताले उत्सुकता पैदा गर्छ। उत्सुकताले दर्शक ल्याउँछ, दर्शकले प्रसारणलाई मूल्य दिन्छन्, प्रसारणले विज्ञापन र प्रायोजनको मूल्य बढाउँछ, र प्रायोजनले खेलमा थप पूँजी भित्र्याउँछ। यस अर्थमा फुटबलको आर्थिक मूल्य खेलबाट अलग कुनै बाह्य वस्तु होइन; त्यो खेलकै प्रतिस्पर्धात्मक प्रकृतिबाटै उत्पन्न हुन्छ।

खेल अर्थशास्त्रको दृष्टिले हेर्दा यहाँ एउटा आधारभूत सिद्धान्त देखिन्छ; प्रतिस्पर्धा विश्वसनीय रहेसम्म मात्र खेलको ध्यानात्मक र व्यावसायिक मूल्य दीर्घकालीन रूपमा टिक्छ। यदि आर्थिक शक्ति, राजनीतिक प्रभाव वा व्यावसायिक स्वार्थले परिणामलाई अत्यधिक पूर्वानुमानयोग्य बनाइदियो भने खेलको आकर्षण घट्न सक्छ, र आकर्षण घटेपछि त्यसैमा आधारित व्यावसायिक बजार पनि कमजोर हुन्छ। यसैले खेलकुदीय निष्पक्षता केवल नैतिक आदर्श होइन; यो खेल-अर्थतन्त्रको दीर्घकालीन पूर्वाधार पनि हो।

ध्यानको अर्थतन्त्र : आधुनिक खेलको नयाँ शक्ति

आजको डिजिटल युगमा खेलको आर्थिक मूल्य बुझ्न ‘ध्यानको अर्थतन्त्र’ को अवधारणा बुझ्न आवश्यक छ। आजको संसारमा सबैभन्दा दुर्लभ स्रोत पैसा मात्र होइन, दर्शकको सीमित ध्यान पनि हो। सामाजिक सञ्जाल, स्ट्रिमिङ प्लेटफर्म र छोटा-भिडियो सामग्री बीच दर्शकको ध्यान तान्न आज विश्वव्यापी प्रतिस्पर्धा चलिरहेको छ। यसले प्रतियोगिताको सफलतालाई अब स्टेडियम-उपस्थिति वा टेलिभिजन-रेटिङबाट मात्र होइन, डिजिटल पहुँच र सामाजिक सञ्जाल-इन्गेजमेन्टबाट समेत नाप्न थालेको छ।

यस अर्थमा खेलाडी र टोली दर्शकको आकर्षण र सञ्चारमाध्यमको ध्यानलाई सोझै आर्थिक मुनाफामा बदल्न सक्ने मूल्यवान् सम्पत्ति बनेका छन्। यही ध्यान नै विज्ञापन तथा प्रायोजन मार्फत प्रत्यक्ष आर्थिक मूल्यमा रूपान्तरण हुन्छ। यही कारण आज विश्वप्रसिद्ध खेलाडीको उपस्थितिले टिकट, प्रसारण र प्रायोजनको मूल्य समेत बढाउन सक्छ।

सुपरस्टार अर्थतन्त्र : मेसी, रोनाल्डो र उमेरको विज्ञान

खेल अर्थशास्त्री शेरविन रोजनको ‘इकोनोमिक्स अफ सुपरस्टार्स’ अवधारणाले केही असाधारण प्रतिभाले अरूको तुलनामा अत्यधिक ठूलो बजार-हिस्सा र आम्दानी किन प्राप्त गर्छन् भन्ने व्याख्या गर्छ। हाल फुटबलमा क्रिस्टियानो रोनाल्डो र मेसी यसका उत्कृष्ट उदाहरण हुन्। तर उनीहरूको बजार-मूल्य केवल विज्ञापनबाट बनेको होइन; दशकौंको प्रदर्शन, उपलब्धि, निरन्तरता, विश्वव्यापी पहिचान र समर्थकसँग बनेको भावनात्मक सम्बन्ध नै त्यसको आधार हो।

२०२६ विश्वकपमा ३९ वर्षीय मेसीले आठ गोल र चार असिस्ट सहित उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिनालाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेले। यसर्थ उनको उपस्थिति व्यावसायिक आकर्षणका कारण मात्र थियो भनेर भन्न सकिंदैन; उनको वास्तविक खेल-प्रदर्शनले नै यसको बलियो खण्डन गर्छ।

त्यस्तै ४१ वर्षीय रोनाल्डोले पनि यस विश्वकपमा महत्त्वपूर्ण भूमिका खेले। पोर्चुगलले क्रोएसियालाई २–१ ले हराउँदा उनले पेनाल्टी मार्फत गोल गर्दै विश्वकपको नकआउट चरणमा गोल गर्ने सबैभन्दा पाको उमेरको खेलाडीको कीर्तिमान बनाए भने लगातार ६ वटा विश्वकप खेल्दै सबैमा गोल गर्ने पहिलो खेलाडी बने।

क्रिस्टियानो रोनाल्डो र लुका मोड्रिच बीचको सम्भावित अन्तिम विश्वकप-भेट हेर्न टोरन्टोमा अत्यधिक गर्मीका बाबजुद हजारौं समर्थक उपस्थित भए। यसले एउटा महत्त्वपूर्ण आर्थिक सत्य देखाउँछ कि दर्शकले सधैं खेल हेर्न मात्र टिकट किन्दैनन्, कहिलेकाहीं उनीहरू एउटा युगको प्रत्यक्ष साक्षी बन्न पैसा तिर्छन्। यहींबाट स्टार-अर्थतन्त्र शुरु हुन्छ।

तर प्रश्न ‘यति उमेरका खेलाडी किन राष्ट्रिय टोलीमा?’ भन्ने मात्र होइन; वैज्ञानिक प्रश्न अझ गहिरो छ; ‘उमेर बढ्दै जाँदा प्रदर्शनको कुन पक्ष घट्छ, र कुन पक्ष अनुभव तथा रणनीतिक बुद्धिमत्ताका कारण कायम रहन्छ?’ खेलकुद विज्ञानले उमेरसँगै अधिकतम गति, उच्च-तीव्रता दौड र पुनरुत्थान क्षमतामा ह्रास आउन सक्ने देखाउँछ, तर अनुभव, खेल पढ्ने क्षमता, निर्णय क्षमता, स्थान-छनोट र नेतृत्व-गुण लामो समयसम्म उच्च रहन सक्छन्।

त्यसैले अनुभवी स्टार खेलाडीको छनोटलाई उमेरबाट मात्र होइन, बहुआयामिक प्रदर्शन-सूचकबाट मूल्याङ्कन गर्नुपर्छ। यस सन्दर्भमा सुशासन सम्बन्धी अर्को आयाम प्रकट हुन्छ: ‘असाधारण बजार मूल्य भएका खेलाडीको खेल-अवधि निर्धारणमा बाह्य व्यावसायिक पक्षको प्रभाव रहन्छ?’ प्रत्यक्ष प्रमाणको अभावमा यस्तो दाबी अपरिपक्व ठहरिए तापनि, सम्भावित बाह्य हस्तक्षेप रोक्न सुरक्षात्मक संस्थागत संयन्त्रको अपरिहार्यतामाथि विमर्श गर्नु न्यायसंगत र सान्दर्भिक देखिन्छ।

टिकट, प्रायोजन र ‘सुपरस्टार प्रभाव’

समर्थक कुनै देशको खेल हेर्न मात्र होइन, कुनै विशेष खेलाडीलाई प्रत्यक्ष हेर्न पनि टिकट किन्छन्। यसले माग सिर्जना गर्छ, र माग बढेपछि टिकट, प्रायोजन र डिजिटल इन्गेजमेन्ट मूल्य बढ्न सक्छ। तर यहाँ दुई कुरा छुट्याएर हेर्नुपर्छ।
पहिलो, स्टार खेलाडीले बजारमा आर्थिक माग र आकर्षण तीव्र रूपमा बढाउन सक्छन्। दोस्रो, त्यस आर्थिक मूल्यका कारण खेलकुदीय योग्यताभन्दा बाहिर गएर खेलाडीलाई खेलाउनुपर्छ भन्ने निष्कर्ष निकाल्न मिल्दैन। यही सीमारेखा आधुनिक खेल-सुशासनको केन्द्रमा आउँछ।

यदि कुनै राष्ट्रिय टोलीको मुख्य प्रायोजकले विश्वप्रसिद्ध खेलाडी मैदानमा देखिने अपेक्षामा ठूलो लगानी गर्छ भने सम्बन्धित संस्थाले स्पष्ट रूपमा तपसिलका कुराहरूको सुनिश्चितता गर्नुपर्छ- खेलाडीको छनोट पूर्ण रूपमा खेलकुदीय योग्यतामै आधारित हुनेछ, प्रारम्भिक टोली चयन प्रक्रियामा कुनै पनि व्यावसायिक वा कर्पोरेट हस्तक्षेप हुनेछैन, चिकित्सकीय स्वीकृति उचित प्रक्रियाबाट हुनेछ, र खेल-सम्बन्धी सबै निर्णय प्रशिक्षक तथा प्राविधिक समूहकै पूर्ण अधिकारमा रहनेछ। यसर्थ प्रायोजकको अधिकार व्यावसायिक साझेदारीसम्म सीमित हुनुपर्छ, खेलकुदीय निर्णयसम्म पुग्नुहुँदैन।

भार र रेफ्री : प्रविधिले निष्पक्षता दिन्छ कि भ्रम?

खेलको व्यावसायीकरण र निष्पक्षता बीचको सबैभन्दा संवेदनशील एवं चुनौतीपूर्ण कडी रेफ्रीको निर्णय नै हो। आधुनिक फुटबलमा भिडियो सहायक रेफ्री (भार) को आगमनले मानवीय त्रुटिहरू न्यूनीकरण गर्ने प्रयास त गरेको छ, तर प्रविधिले निर्णय-प्रक्रियालाई पूर्णतः मानवरहित भने बनाउन सकेको छैन।

मैदानभित्रको उच्च मानसिक दबाब, तत्काल निर्णय लिनुपर्ने समयको पावन्दी, रंगशालामा गुञ्जने दर्शकको आवाज, खेलको आर्थिक गुरुत्व र विश्वप्रसिद्ध स्टार खेलाडीहरूको उपस्थिति जस्ता बहुआयामिक कारकहरूले निर्णयकर्ताको संज्ञानात्मक भारलाई अत्यधिक बढाउने गर्छन्।

खेल-मनोविज्ञानको दृष्टिकोणबाट हेर्दा; ‘हेलो इफेक्ट’: स्थापित प्रतिष्ठाका आधारमा खेलाडी वा टोलीप्रति स्वतः बन्ने सकारात्मक धारणा, ‘रेपुटेसन इफेक्ट’ र ‘कन्फर्मेसन बायस’: आफ्नो पूर्वधारणालाई पुष्टि गर्ने सूचनालाई मात्र प्राथमिकता दिने प्रवृत्ति जस्ता अवधारणाहरूले यस्तो उच्च-तनावयुक्त वातावरणमा रेफ्रीहरूको निर्णय-प्रक्रिया र उनीहरूको मानसिक अवस्थाको अध्ययन गर्न एउटा बलियो सैद्धान्तिक आधार प्रदान गर्दछन्।

२०२६ को फिफा विश्वकप प्रविधिको प्रयोग र निर्णय-प्रक्रियाका दृष्टिकोणले निकै विवादास्पद रहन पुग्यो। पोर्चुगल र क्रोएसिया बीचको प्रतिस्पर्धात्मक खेलमा क्रोएसियाले खेलको अन्तिम क्षणमा गरेको सम्भावित बराबरी गोललाई भिडियो भारले पुनरावलोकन मार्फत अफसाइड घोषित गरिदियो। त्यस्तै, अर्जेन्टिना र इजिप्ट बीचको अन्तिम १६ को रोमाञ्चक खेलमा इजिप्ट २–० को अग्रता सहित जिततर्फ अग्रसर भइरहँदा, अन्तिम मिनेटहरूमा अर्जेन्टिनाले नाटकीय रूपमा लगातार तीन गोल गर्दै ३–२ को विजय सुनिश्चित गर्‍यो।

खेलको यसै संवेदनशील मोडमा इजिप्टको एउटा महत्वपूर्ण गोललाई भार समीक्षाले पूर्व-फाउलको आधारमा रद्द गर्‍यो भने, पछि इजिप्टद्वारा दाबी गरिएको पेनाल्टीको मागलाई समेत अस्वीकार गरियो। यस विरोधाभासपूर्ण निर्णयप्रति असन्तुष्टि जनाउँदै इजिप्ट फुटबल संघले फिफासमक्ष आधिकारिक उजुरी नै दर्ता गरायो।

यी विशिष्ट घटनाहरू मात्र नभई, समग्र प्रतियोगिताभरि नै अर्जेन्टिना र लियोनेल मेसीको पक्षमा रेफ्रीहरूबाट नीतिगत सहुलियत मिलेको गम्भीर आरोप लाग्यो, जसले फिफा र खेल अधिकारीहरू विरुद्ध विश्वव्यापी आक्रोश निम्त्यायो। सामाजिक सञ्जाल मार्फत शुरु भएका विभिन्न अनलाइन माग-पत्र (याचिकाहरू) मा लाखौं खेलप्रेमीले डिजिटल हस्ताक्षर गर्दै आफ्नो अविश्वास व्यक्त गरे। यहाँ फेरि त्यही वैज्ञानिक सावधानी लागू हुन्छ; लाखौं हस्ताक्षर वा व्यापक सार्वजनिक असन्तुष्टिले आफैंमा पक्षपातलाई प्रमाणित गर्दैन।

कुनै निर्णयमा समर्थकको असन्तुष्टि हुनु वा कुनै टोलीले आफूमाथि अन्याय भएको महसुस गर्नु पक्षपातको प्रत्यक्ष प्रमाण होइन। तर यति ठूलो सङ्ख्यामा जनआक्रोश पोखिनुले एउटा संस्थागत सन्देश भने स्पष्ट दिन्छ; जब निर्णय-प्रक्रियाको पारदर्शिता र व्याख्या पर्याप्त हुँदैन, तब आरोप प्रमाणित नभए पनि संस्थाको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठ्छ। त्यसैले डेटा-आधारित स्वतन्त्र अडिट र पारदर्शी सञ्चार प्रणाली अब वैकल्पिक होइन, अनिवार्य आवश्यकता बनिसकेको छ।

भविष्यमा ‘सुपरस्टार प्रभाव’ परीक्षण गर्न भावनात्मक आरोप होइन, डेटा आवश्यक हुन्छl जस्तै समान प्रकारका फाउलमा स्टार र गैर-स्टार खेलाडी बीचको निर्णय-तुलना, भार हस्तक्षेप-दर, पहेंलो/रातो कार्डको आवृत्ति, स्टपेज टाइम, पेनाल्टी दिइने सम्भावना, र रेफ्रीको त्रुटि-दर। खेलको महत्त्व, दर्शक-दबाब र खेलाडीको प्रतिष्ठा जस्ता (तत्त्व) चरहरूलाई नियन्त्रण गरेर दीर्घकालीन तथ्याङ्क-सङ्ग्रह निर्माण गर्न सकिन्छ। त्यसपछि मात्र ‘सुपरस्टार प्रभाव’ वास्तविक व्यावहारिक पूर्वाग्रह हो कि आभास मात्र हो भन्ने वैज्ञानिक रूपमा जाँच्न सकिन्छ।

फिफा : खेलको संरक्षक कि बढ्दो व्यावसायिक संस्था ?

फुटबलको निष्पक्षता मैदानमा मात्र निर्माण हुँदैन; यसको वैधता शासकीय संस्थामाथिको विश्वासबाट पनि आउँछ। २०२६ विश्वकपपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोको नेतृत्वलाई लिएर उठेको विवादले यही प्रश्नलाई नयाँ गम्भीरता दिएको छ।

फिफाले विश्वकपका व्यावसायिक अधिकार व्यवस्थापन गर्ने नयाँ संस्थामा करिब २० प्रतिशत हिस्सा निजी लगानीकर्तालाई बेचेर करिब ४.२ अर्ब अमेरिकी डलर जुटाउने प्रस्ताव अघि सारेको थियो। युईएफए लगायतका संस्थाहरूले पारदर्शिता र सरोकारवाला परामर्शको विषयमा गम्भीर आपत्ति जनाएपछि फिफाले अन्ततः प्रस्ताव फिर्ता लियो र सदस्य संघहरूसँग माफी माग्यो।

नर्वे फुटबल संघले इन्फान्टिनोको राजीनामा मागेको छ भने केही युरोपेली संघहरूले उनको पुनर्निर्वाचनको समर्थन फिर्ता लिएका छन्l अर्कोतर्फ मेक्सिको, अर्जेन्टिना, अफ्रिका तथा केही अन्य क्षेत्रका फुटबल संस्थाहरूले उनको नेतृत्वप्रति समर्थन जनाएका छन्। त्यसैले यो अवस्था ‘फिफा विरुद्ध सम्पूर्ण विश्व’ भन्ने सरल कथा होइन; यो विश्व फुटबलको संस्थागत शक्ति, पारदर्शिता र व्यावसायिक दिशाबारे बढ्दो विभाजन हो।

यस विवादलाई मेसी वा अर्जेन्टिनालाई कथित रूपमा गरिएको खेलकुदीय पक्षपातसँग सीधै जोड्नु उचित हुँदैन। तर दुवै घटनाले एउटै संरचनात्मक प्रश्न उठाउँछ कि विश्व फुटबलको सर्वोच्च संस्था एकैसाथ व्यावसायिक अधिकारको व्यवस्थापक र खेलकुदीय निष्पक्षताको संरक्षक हुँदा यी दुई भूमिका बीच पर्याप्त संस्थागत दूरी छ कि छैन? यही प्रश्न आधुनिक खेल-सुशासनको मूल प्रश्न हो।

व्यापारिकीकरण : समस्या कि आवश्यकता?

फुटबलको व्यापारिकीकरणलाई केवल नकारात्मक रूपमा हेर्नु वैज्ञानिक दृष्टिकोण होइन। ठूलो आर्थिक लगानीकै कारण खेल-चिकित्सा, पुनर्स्थापना, पोषण, बायोमेकानिक्स, प्रदर्शन-विश्लेषण, खेल-मनोविज्ञान र रिकभरी साइन्समा उल्लेखनीय विकास भएको छ।

उच्चस्तरीय टोलीहरूले आज खेल चिकित्सक, फिजियोथेरापिस्ट, पोषण विशेषज्ञ, खेल मनोविद् र प्रदर्शन विश्लेषकसम्मको विशेषज्ञ समूह राख्न सक्छन्। यसले खेलाडीको करियरको दीर्घायु, चोट-रोकथाम र प्रदर्शन-सुधारमा प्रत्यक्ष योगदान पुर्‍याएको छ। व्यावसायिक आम्दानीले महिला खेलकुद, स्थानीय-स्तरीय फुटबल, प्रतिभा-पहिचान र प्रशिक्षक-शिक्षामा पनि लगानी गर्न सम्भव बनाएको छ।

त्यसैले वास्तविक प्रश्न ‘पैसा चाहिन्छ कि चाहिंदैन?’ होइन। वास्तविक प्रश्न हो; ‘पैसाले खेललाई सहयोग गरिरहेको छ कि खेलका निर्णय नै पैसाले गर्न थालेको छ?’ पहिलो अवस्था आधुनिक खेलकुदका लागि आवश्यक हुन सक्छ, तर दोस्रो अवस्था खेलकुदीय निष्पक्षताका लागि गम्भीर जोखिम हो।

केप भर्डे: जब अनिश्चितताले फुटबललाई जीवित राख्छ

अत्यधिक व्यापारीकरणको बीच पनि खेलकुदको वास्तविक सौन्दर्य खेलको अनिश्चिततामा नै निहित हुन्छ भन्ने बहसको सबैभन्दा प्रभावशाली उदाहरण २०२६ विश्वकपमा पहिलोपटक सहभागी भएको केप भर्डेले प्रमाणित गरिदियो। करिब पाँच लाख २५ हजार जनसंख्या भएको यस देशले विश्वकपको इतिहासमा नकआउट चरण (राउन्ड अफ ३२) मा पुग्ने सबैभन्दा सानो राष्ट्र बन्यो। आफ्नो पहिलो विश्वकपको पहिलो खेलमै युरोपेली च्याम्पियन स्पेनलाई ०–० को बराबरीमा रोक्यो। स्पेनले खेल अवधिभर करिब २७–२८ पटक गोलतर्फ प्रयास गरे पनि केप भर्डेका ४० वर्षीय गोलरक्षक भोजिन्हा उत्कृष्ट प्रदर्शनकर्ता बने।

यो केवल एउटा तुलनात्मक रूपमा कमजोर टोलीले बलियो टोलीलाई रोकेको कथा होइन; यो फुटबलकै मूल अर्थशास्त्रको उदाहरण हो। मेसी र रोनाल्डोले ध्यान सिर्जना गर्छन्, केप भर्डेले आश्चर्य सिर्जना गर्छ। आश्चर्यले ध्यान ल्याउँछ, ध्यानले नयाँ नायक जन्माउँछ, र नयाँ नायकले पुनः व्यावसायिक मूल्य सिर्जना गर्छ।

यही कारणले फुटबलको सबैभन्दा ठूलो व्यावसायिक सम्पत्ति केवल सुपरस्टार होइन; अनिश्चितता स्वयं हो। यदि हरेक प्रतियोगितामा आर्थिक शक्ति र स्टार-पावरका आधारमा परिणामको दिशा पहिल्यै अनुमान गर्न सकिने भयो भने दर्शकको उत्सुकता घट्छ।

उत्सुकता घटेपछि ध्यान घट्छ, ध्यान घटेपछि प्रसारण-मूल्य घट्छ, र प्रसारण-मूल्य घटेपछि प्रायोजन-मूल्य पनि घट्छ। अन्ततः व्यापारले आफ्नै आधार कमजोर बनाउँछ। केप भर्डेको कथा अझ रोचक भयो जब उसले पूर्व विश्वविजेता उरुग्वेसँग २–२ को बराबरी खेल्यो र पछि अर्जेन्टिनालाई अतिरिक्त समयमा ३–२ को कठिन खेलमा धकेल्यो।

अर्जेन्टिनाले दोस्रो अतिरिक्त समयमा निर्णायक गोल गर्दै अन्तिम १६ मा स्थान बनाए पनि केप भर्डेले विश्वकपको सबैभन्दा सुन्दर कथाहरूमध्ये एक लेखेको छ। केप भर्डेका ४० वर्षीय गोलरक्षक भोजिन्हाको यही असाधारण प्रदर्शनकै कारण उनी मेसी, एम्बाप्पे र हालान्ड जस्ता सुपरस्टारहरूसँगै विश्वकपको आधिकारिक ‘फिफा ड्रिम इलेभेन’ मा टुर्नामेन्टकै उत्कृष्ट गोलकिपरका रूपमा छानिए।

विश्वकपको यो जादुमयी प्रदर्शनले उनलाई रातारात विश्वव्यापी चर्चामा ल्यायो, जसले गर्दा उनको सामाजिक सञ्जालमा फ्यान फलोइङ ह्वात्तै बढ्यो र उनी संसारभरका फुटबल प्रेमीहरूको प्रिय बने। यही अभूतपूर्व लोकप्रियता र प्रदर्शनकै बलमा ४० वर्षको उमेरमा उनले चिलीको चर्चित क्लब कोला-कोलासँग आकर्षक सम्झौता गर्दै आफ्नो खेल जीवनलाई एक ऐतिहासिक उचाइमा पुर्‍याए। यसले एउटा गहिरो सत्य देखाउँछ; जबसम्म प्रतियोगिताको संरचनामा साना टोलीलाई निष्पक्ष अवसर दिइन्छ, तबसम्म खेल भावना र अनिश्चितता जीवित रहन्छ।

यदि आर्थिक शक्ति र बजारको दबाबले खेलको नतिजा र अवसर नियन्त्रण गर्न थाल्यो भने यस्ता ऐतिहासिक क्षणहरू असम्भवप्रायः हुनेछन्। फुटबलमा पैसाले जित्ने सम्भावना बढाउन सक्छ, तर पैसाले परिणाम सुनिश्चित गर्न सक्दैन। र यही अनिश्चितता नै फुटबललाई बाँकी मनोरञ्जन-उद्योगभन्दा फरक बनाउने प्रमुख विशेषता हो।

पैसाको सीमा : वित्तीय अनुशासनले किन क्लब रोक्नुपर्छ?

निष्पक्षता मैदानमा मात्र होइन, आर्थिक संरचनामा पनि निर्भर हुन्छ। यदि अत्यधिक धनी क्लबहरूले असीमित रूपमा खेलाडी, प्रशिक्षक र प्राविधिक स्रोत खरिद गर्न सके भने प्रतिस्पर्धात्मक सन्तुलन कमजोर हुन सक्छ। यही कारण युईएफएले वित्तीय दिगोपन नियमन अन्तर्गत ‘स्क्वाड कस्ट रुल’ ल्यायो, जसअनुसार क्लबहरूले खेलाडी तथा प्रशिक्षकको पारिश्रमिक, ट्रान्सफर-एमोर्टाइजेसन र एजेन्ट-शुल्कलाई आफ्नो कुल राजस्वको निश्चित प्रतिशतभित्रै सीमित राख्नुपर्छ।

क्लबहरूलाई नयाँ व्यवस्थासँग विस्तारै अभ्यस्त बनाउन यो नियम तीन चरणमा लागू गरियो- सिजन २०२३/२४ मा ९० प्रतिशतको सीमाबाट शुरु भई, २०२४/२५ मा ८० प्रतिशतमा झारियो र २०२५/२६ देखि यो ७० प्रतिशतमा स्थायी रूपमा लागू भएको छ। नियम उल्लङ्घन गर्नेले वित्तीय जरिवानादेखि अंक-कटौती वा युरोपेली प्रतियोगिताबाट प्रतिबन्धसम्मका सजाय भोग्नुपर्छ। यसको उद्देश्य पैसा समाप्त गर्नु होइन; उद्देश्य पैसाको असन्तुलनले खेलको प्रतिस्पर्धात्मक अनिश्चितता समाप्त नगरोस् भन्ने हो। यस अर्थमा वित्तीय दिगोपन र खेलकुदीय निष्पक्षता वास्तवमा एउटै बहसका दुई पक्ष हुन्।

यो प्रवृत्ति फुटबलमा मात्र सीमित छैन। क्रिकेटमा सीमित ठूला बजारले प्रसारण-आम्दानीको ठूलो हिस्सा तान्ने प्रवृत्ति, बास्केटबलको एबीएमा प्रतिष्ठित खेलाडीले निर्णय-प्रक्रियामा फरक व्यवहार पाउने सम्भावनाबारे चलिरहेको बहस, टेनिसमा शीर्ष-वरीयता प्राप्त खेलाडीलाई बढी दृश्यता दिइने प्रवृत्ति र फर्मुला वानमा एफआईएले ल्याएको लागत सीमा, यी सबैले देखाउँछन् कि व्यापारिकीकरण र निष्पक्षता बीचको यो द्वन्द्व फुटबलमा मात्र सीमित होइन, यो विश्वव्यापी खेल-सुशासनकै साझा चुनौती हो।

अबको बाटो: के गर्न सकिन्छ?

आधुनिक फुटबललाई व्यापारबाट पूर्णतः अलग गर्न सम्भव पनि छैन, र आवश्यक पनि छैन। तर व्यापारिक शक्ति खेलका मूल निर्णयमाथि हावी हुन नदिन केही संस्थागत सुधार आवश्यक देखिन्छन्। भार कक्ष र मैदानका रेफ्री बीचको अडियो-संवाद सार्वजनिक गर्ने, हरेक विवादास्पद खेलपछि स्वतन्त्र प्राविधिक समीक्षा प्रकाशित गर्ने र रेफ्री-निर्णय सम्बन्धी तथ्याङ्क अनुसन्धानका लागि खुला राख्ने व्यवस्थाले पारदर्शिता बढाउँछ।

रेफ्री प्रशिक्षणमा नियमको ज्ञानसँगै तनाव-व्यवस्थापन र निर्णय-थकान जस्ता मानवीय पक्ष पनि समावेश हुनुपर्छ। कृत्रिम बुद्धिमत्तालाई अन्तिम निर्णयकर्ता होइन, मानव निर्णयकर्तालाई सघाउने ‘सहायक प्रणाली’ का रूपमा मात्र प्रयोग गर्नुपर्छ। साथै, प्रायोजक र प्रसारकको भूमिकालाई व्यावसायिक साझेदारीसम्मै सीमित राख्ने व्यवस्था, फिफा जस्ता संस्थामा व्यावसायिक सञ्चालन र खेलकुदीय नियमन बीच स्पष्ट संस्थागत दूरी र व्यावसायिक आम्दानीको ठूलो हिस्सा कमजोर फुटबल-राष्ट्रहरूमा दीर्घकालीन लगानीका रूपमा फर्काउने नीति पनि उत्तिकै आवश्यक छन्।

नेपालका लागि पाठ : स्टार होइन, प्रणाली

नेपाल जस्तो उदीयमान खेलकुद-प्रणालीका लागि यो बहस झनै उपयोगी छ। नेपालले केवल विदेशी सुपरस्टारको ब्रान्डिङ अनुकरण गर्ने होइन, प्रणाली निर्माण गर्ने सोच विकास गर्नु आवश्यक छ। खेल-विज्ञान, खेल-मनोविज्ञान, पोषण, चोट-रोकथाम, प्रदर्शन-विश्लेषण, खेलाडी-ब्रान्डिङ, वित्तीय सुशासन र स्थानीय-स्तरीय विकासलाई छुट्टाछुट्टै कार्यक्रमका रूपमा होइन, एउटै राष्ट्रिय खेलकुद-प्रणालीका परस्पर जोडिएका अंगका रूपमा विकास गर्नुपर्छ। नेपालमा क्रिकेट र फुटबल दुवैमा समर्थकको भावनात्मक शक्ति ठूलो छ, तर त्यो भावनालाई दीर्घकालीन खेलकुदीय मूल्यमा रूपान्तरण गर्न संस्थागत क्षमता आवश्यक हुन्छ।

एउटा खेलाडी लोकप्रिय भएर मात्र राष्ट्रिय खेलकुद-प्रणाली बलियो हुँदैन। एउटा क्लब सफल भएर मात्र लिग दिगो हुँदैन। र एउटा प्रतियोगिता भाइरल भएर मात्र खेलकुद-उद्योग विकसित हुँदैन। प्रतिभा-विकासदेखि खेल-विज्ञान, प्रदर्शन, सञ्चार, ब्रान्ड र व्यावसायिक आम्दानी हुँदै पुनः प्रतिभा-विकासमा फर्कने चक्र निर्माण गर्न सकेमा मात्र नेपालले क्षणिक ध्यानलाई दिगो खेलकुदीय मूल्यमा रूपान्तरण गर्न सक्छ।

फुटबल कसका लागि?

विश्वकप २०२६ ले आधुनिक फुटबलको एउटा गहिरो विरोधाभास उजागर गरेको छ; फुटबल जति ठूलो आर्थिक उद्योग बन्दै गएको छ, त्यसको मूल मूल्य अर्थात् निष्पक्षता, अनिश्चितता र प्रतिस्पर्धात्मक सन्तुलन जोगाउने चुनौती पनि त्यत्तिकै ठूलो हुँदै गएको छ। मेसी र रोनाल्डो जस्ता सुपरस्टारले फुटबलको आर्थिक मूल्य बढाउँछन्, प्रायोजनले पैसा ल्याउँछ, प्रसारणले विश्वव्यापी पहुँच दिन्छ, प्रविधिले निर्णय सुधार्न सक्छ, र वित्तीय नियमले प्रतिस्पर्धात्मक सन्तुलन जोगाउन सक्छ। तर यी सबैको अन्तिम उद्देश्य खेललाई नियन्त्रण गर्नु होइन, खेललाई बलियो बनाउनु हो।

फुटबलको वास्तविक शक्ति यसको व्यावसायिक मूल्यमा मात्र छैन। यसको शक्ति त्यो क्षणमा छ जब खेल शुरु हुनुअघि कसैलाई निश्चित रूपमा थाहा हुँदैन कि अर्को नब्बे मिनेटमा के हुनेछ? केप भर्डेले स्पेनलाई रोक्न सक्छ, कमजोर टोलीले शक्तिशाली टोलीलाई हराउन सक्छ, ४० वर्षीय गोलरक्षकले विश्वकै महँगा आक्रमणकारीलाई निराश बनाउन सक्छ, नयाँ खेलाडी एकै रातमा विश्वव्यापी स्टार बन्न सक्छ, र एउटा अप्रत्याशित गोलले करोडौं मानिसलाई एउटै भावनामा बाँध्न सक्छ।

यही अनिश्चितता फुटबलको सौन्दर्य हो, यही यसको सामाजिक शक्ति हो र विडम्बना के छ भने यही यसको सबैभन्दा ठूलो आर्थिक सम्पत्ति पनि हो। त्यसैले आधुनिक फुटबलका लागि सम्भवतः सही सूत्र यस्तो हुन सक्छ; व्यापारले स्रोत दिनुपर्छ, प्रविधिले शुद्धता बढाउनुपर्छ, विज्ञानले प्रदर्शन सुधार्नुपर्छ, स्टारले ध्यान आकर्षित गर्नुपर्छ, तर निष्पक्षता र खेलको अनिश्चितताले नै अन्तिम सीमा निर्धारण गर्नुपर्छ। फुटबललाई व्यावसायिक बनाउन सकिन्छ, तर फुटबललाई व्यापारकै अधीनमा राख्न मिल्दैन। किनभने फुटबल आर्थिक रूपमा ठूलो भएर मात्र जीवित रहँदैन।

फुटबल तबसम्म जीवित रहन्छ, जबसम्म दर्शकले खेल शुरु हुनुअघि यो प्रश्नको उत्तर निश्चित रूपमा दिन सक्दैनन, ‘अब के हुन्छ?’ यही प्रश्नले खेललाई खेल बनाउँछ, यही प्रश्नले समर्थकलाई समर्थक बनाउँछ, यही प्रश्नले प्रसारणलाई मूल्यवान् बनाउँछ, र अन्ततः यही प्रश्नले फुटबललाई ‘खेलकुदको राजा’ बनाइराख्छ।

त्यसैले प्रश्न फिफा, प्रायोजक, प्रसारक वा सुपरस्टारको मात्र होइन; फुटबल कसका लागि हो? यदि उत्तर अझै पनि खेलाडी, समर्थक र निष्पक्ष प्रतिस्पर्धाकै लागि हो भने फुटबलले आफ्नो आत्मा जोगाइराख्नेछ। यदि उत्तर क्रमशः बजार, पैसा र ध्यानतर्फ सर्दै गयो भने फुटबल आर्थिक रूपमा अझ ठूलो भए पनि खेलका रूपमा विस्तारै साँघुरिंदै जाने जोखिममा रहनेछ ।

(खेलकुद विज्ञानमा स्नातकोत्तर गरिरहेका पाठक नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य हुन्।)

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?