+
+

पत्रकार पौडेलको हत्यामा जन्मकैद सजाय तोकिएका गिरीलाई राष्ट्रपतिबाट माफी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते ११:०१
पत्रकार यादव पौडेल

८ फागुन, काठमाडौं । पत्रकार यादव पौडेल हत्याका मुख्य आरोपी युवराज गिरीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी पाएका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीले कर्तव्य ज्यान सम्बन्धी कसूरमा कैद भुक्तान गरिरहेका गिरीलाई शनिबार माफी दिएकी हुन् ।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा भण्डारीले गिरीसहित ५०१ जनाको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरिदिएकी हुन् । गिरीसहित जिल्ला कारागार, झापामा कैद सजाय भुक्तान गरिरहेका १६ जनाको बाँकी कैद माफी मिनाहा गर्ने निर्णय भएको झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले अनलाइनखबरलाई बताए । उनले भने, ‘उनले झण्डै १० वर्ष सजाय काटिसकेका थिए ।’

मोरङ सिजुवा घर भएका पत्रकार पौडेलको २१ चैत २०६८ मा झापाको बिर्तामोडस्थित बसपार्कमा हत्या भएको थियो ।  पुनरावेदन अदालत, इलामले २५ असार २०७१ मा पत्रकार पौडेलको हत्यामा संलग्न गिरीसहित ३ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।

अदालतको आदेशपछि फूलमाया भनिने मञ्जु ढकाल (कार्की) थुनामा गएकी थिइन् भने सोमनाथ ढकाल फरार भएका थिए । अर्का आरोपी मदन राईलाई ६ महिनाको कैद सजाय सुनाइएको थियो ।

पौडेललाई नयाँ बसपार्क नजिक पूर्वाञ्चल होटल एण्ड सेकुवा कर्नरको चौथो तलाबाट धकेलेर खसालेको मञ्जुले पनि बयान दिएकी थिइन् । त्यसबेला झापाका तत्कालीन एसपी तारणीप्रसाद लम्सालले होटलको माथिल्लो तलामा भनाभन भइरहेका बेला गिरीले खसालेर हत्या गरेको बताएका थिए ।

पत्रकार पौडेल राजधानी दैनिक, एभिन्युज टेलिभिजन र झापाबाट प्रकाशित हुने मेची टाइम्स दैनिकमामा कार्यरत थिए । अस्पतालको पोष्टमार्टम रिपोर्टमा पौडेलको टाउको र फोक्सोमा रगत जमेको, कलेजो फुटेको, तीनवटा करङ तथा देब्रे हात भाँचिएको उल्लेख थियो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले कर्तव्य ज्यान जस्तो गम्भिर मुद्दाका आरोपीलाई माफी दिनु गम्भिर विषय भएको भन्दै आपत्ति जनाए । उनले अनलाइनखबरसँग भने, ‘यो स्वीकार्य हुने विषय हुँदै होइन, यस विषयमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँछौं ।’

पत्रकार पौडेलकी पत्नी सुनम पौडेलले पनि गिरीलाई आममाफी दिइएकोप्रति दुःख प्रकट गरेकी छन् । ‘मजस्ता पीडितमाथि सरकारले यो भन्दा अन्याय गर्ने ठाउँ छैन्’, सुनमले भनिन्, ‘यो देशमा पीडितका लागि न्याय मरेजस्तै रहेछ । ममाथि यो अर्को बज्रपात हो ।’

पत्रकार पौडेलको हत्यापछि नेपाल पत्रकार महासंघले उनका दुई वटा छोराछोरीको पठनपाठनको दायित्व लिने घोषणा गरेको थियो । तर, महासंघबाट पनि भने अनुसार सहयोग नपाएको उनले दुःखेसो गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?