+
+

सरकारी स्कुलले समेत शुल्क उठाउन थाले, नगरपालिका रमिते मात्रै

सरकारी स्कुलले समेत विभिन्न शीर्षकमा सहयोग रकम उठाउन थालेपछि आर्थिक अभावले नगरभित्रका दलित तथा विपन्न विद्यार्थी स्कुलबाट बाहिरिंदा पनि गैंडाकोट नगरपालिका स्थानीय शिक्षा ऐन नभएको भनेर पन्छिने गरेको छ ।

पवित्रा पराजुली पवित्रा पराजुली
२०७८ फागुन ९ गते १०:१७

९ फागुन, नवलपुर । गैंडाकोट नगरपालिका वडा नम्बर ९ का अमृत दमाई कक्षा एकमा पढ्दापढ्दै विद्यालय छाडेका छन् । गैंडाकोटको नारायणी माध्यामिक विद्यालयमा पढ्दै गरेका अमृतले आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय छोड्नुपरेको हो ।

सामुदायिक विद्यालयमा कक्षा एकमा पढ्न कुनै शुल्क तिर्नु नपर्ने सरकारी प्रावधान छ तर अमृतले अध्ययन गर्ने विद्यालयमा कक्षा एकमा अध्ययन गर्न रु पाँच सय शुल्क तोकिएको छ । विद्यालयले भर्ना शुल्क नभने पनि सबै विद्यार्थीबाट सहयोग शुल्कका नाममा उक्त रकम उठाउने गरेको छ ।

अमृतकी अभिभावक ठूली आमा सावित्री दराई आफ्नो आर्थिक स्थिति कमजोर भएको र विद्यालयले परीक्षा शुल्क, सहयोग शुल्क लिने गरेकाले त्यो रकमको जोहो गर्न नसक्दा अमृतलाई विद्यालय पठाउन नसकेको बताउँछिन् ।

अमृतलाई आफ्ना बाबा-आमा कहाँ छन् थाहा छैन । उनी अहिले ठूली आमाको घरमा बस्छन् । ठूली आमाको चाहाना छ अमृतलाई स्थानीय सरकारले सहयोग गरोस् र अध्ययनको अवसर प्रदान गरोस् । तर, अमृत र उनकी ठूली आमाले सोचेजस्तो अनुकूल अवस्था छैन । अमृतलाई पढ्ने चाहना छ तर आर्थिक अभावका कारण उनी शिक्षा पाउने अवसरबाट बञ्चित भइरहेका छन् ।

उनीजस्तै गैंडाकोट ७ की सरिता बोटेले पनि आर्थिक अवस्था कमजोर भएका कारण पढाइ छोडेर बस्नुपरेको छ । सरिताले भाग्योदय आधारभूत विद्यालय गैंडाकोट ६ मा कक्षा ५ सम्म अध्ययन गर्ने अवसर पाए पनि त्यसपछि आर्थिक समस्याका कारण नै विद्यालय जान छोडेको बताइन् ।

विद्यालयले सहयोग बापत कति पैसा लिन्छ भन्ने कुरा नगरपालिकालाई पनि थाहा हुदैन । गैंडाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख बालकृष्ण चापागाईले विद्यालयले यस विषयमा नगरपालिकासँग छलफल नगरेको बताए

भाग्योदयबाट करिब एक सय मिटर नजिकै कालिका नमूना माध्यामिक विद्यालय छ । त्यस विद्यालयले कक्षा ६ मा अंग्रेजी माध्यमको पढाइका लागि विद्यालय प्रवेश गर्नुपूर्व सहयोग शुल्कका नाममा दुई हजार एक सय रुपैयाँ संकलन गर्ने गरेको छ । विद्यालयका प्रधानाध्यापक प्रजानाथ कंडेलका अनुसार कक्षा ६ मा नेपाली माध्यममा पढ्ने विद्यार्थीले भने सहयोग राशीका नाममा एक हजार दुई सय तिर्नु पर्छ ।

सोही विद्यालयमा नेपाली माध्यमबाट अध्ययन गर्न चाहने दलित विद्यार्थीले सहयोगका नाममा छ सय रुपैयाँ तिर्नु पर्छ । तर अंग्रेजी माध्यमबाट अध्ययन गर्न चाहने दलित विद्यार्थीका लागि कुनै छुटको व्यवस्था छैन । कालिका नमुना माध्यामिक विद्यालयमा अंग्रेजी माध्यमबाट अध्ययन गर्न चाहने दलित विद्यार्थीले पनि अन्य विद्यार्थी सरह दुई हजार एक सय रुपैयाँ नै तिर्नु पर्ने हुन्छ ।

शिक्षा नियामावली २०५९ मा सामुदायिक विद्यालयले भर्ना तथा सहयोगका नाममा कुनै पनि शुल्क लिन नपाउने प्रावधान छ । नियमावलीमा नियम १४७ को अधिनमा रही विद्यालयले विद्यार्थीसँग मासिक पढाइ शुल्क, विद्यालयमा पहिलोपटक भर्ना हुँदा एक पटकको लागि भर्ना हुने कक्षाको मासिक पढाइ शुल्कमा नबढ्ने गरी भर्ना शुल्क, विविध शुल्कहरु अन्तर्गत परीक्षा शुल्क, कम्प्युटर शुल्क लगायतका शीर्षकमा शुल्क लिन पाउने भनेको छ ।

तर उपनियम १ को खण्ड क, ख, ख (१) र ग मा जुनसुकै कुरा लेखिएको भए तापनि सामुदायिक विद्यालयको प्राथमिक र निम्न माध्यामिक तहमा अध्ययन गर्ने विद्यार्थी र सामुदायिक विद्यालयको माध्यमिक तहमा अध्ययन गर्ने नियम १५२ बमोजिमका विद्यार्थीसँग त्यस्तो शुल्क लिन पाइने छैन भन्ने उल्लेख छ ।

तर, गैंडाकोटका सामुदायिक विद्यालयहरुले यो व्यवस्थाको उल्लंघन गर्दै विद्यार्थीहरुबाट सहयोगका नाममा एकै प्रकृतिको रकम उठाउने गरेका छन् । त्यसैले निम्न आय भएका अभिभावकका सन्तानले आर्थिक अभावका कारण विद्यालय छोड्नुपरेको छ ।

आर्थिक अवस्था कमजोर भएका विद्यार्थी यति रकम तिर्न नसकेपछि विद्यालय जाँदैनन् । विद्यालयले सहयोग बापत कति पैसा लिन्छ भन्ने कुरा नगरपालिकालाई पनि थाहा हुदैन । गैंडाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख बालकृष्ण चापागाईले विद्यालयले यस विषयमा नगरपालिकासँग छलफल नगरेको बताए ।

उनको लाचारीपूर्ण जवाफ यस्तो छ- ‘विद्यालयलाई शिक्षा ऐनअनसार कुनै अभिभावकले सहयोग गर्न चाहेमा गर्न सक्छन् । त्यो पैसा विद्यालयले लिन पाउँछ । तर सरकारी विद्यालयले रकम नै तोकेर लिन पाउने नियम छैन । तर लिने गरेका छन् । हामी यसमा केही गर्न सक्दैनौं ।’ उनले नगरपालिकामा शिक्षा ऐन नभएकाले कारबाही गर्ने अधिकार आफूहरुसँग नभएको बताए ।

शिक्षा शाखा प्रमुख चापागाईं भन्छन् ‘तीन वर्ष अगाडि नगरपालिकाले बनाएको शिक्षा ऐनमा सामुदायिक विद्यालयले कुनै पनि नाममा शुल्क नलिने पालिकाले सबै बिद्यालयमा आवश्यकता अनुसार शिक्षक दरबन्दी दिने भनेर थियो तर त्यो पारित भएन । शिक्षा ऐन पारित भएको भए यो समस्या हुने थिएन ।’

पालिकाभित्र कति विपन्न बालबालिका छन्, कतिले आर्थिक अवस्था कमजोर भएर पढाइ छोडेका छन्, यसको तथ्यांक पनि नगरपालिकामा नआएको उनी बताउँछन् । त्यस्तो समस्या आए समाधानको लागि प्रयास गर्ने उनको भनाइ छ ।

गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेल आफूले सबै विद्यालयलाई कुनै पनि नाममा पैसा नलिन निर्देशन दिएको बताउँछन् । उनी भन्छन्, ‘मैले सबै सामुुदायिक विद्यालयलाई अभिभावकबाट कुनै पनि शुल्क नलिन भनेको छु । पैसा लिने गरेको कुरा मलाई जानकारी छैन ।’

उनी सामुदायिक विद्यालयले सहयोगको नाममा पैसा लिने गरेको आफूलाई थाहा नभएको भनेर तर्किन खोजे । पौडेल भन्छन्, ‘पैसा नलिनु भन्ने हो, लिएको थाहा पाए सम्झाउन बाहेक अरु केही गर्न सकिदैन । किनकी हामीसँग शिक्षा ऐन छैन ।’

किन बनेन शिक्षा ऐन ?

गैंडाकोट नगरपालिकामा शिक्षासम्बन्धी कानुन निर्माणबारे जनप्रतिनिधिहरु बीच नै विवाद छ । नगर प्रमुख पौडेलका अनुसार तीन वर्ष अगाडि स्थानीय शिक्षा समितिले शिक्षा ऐन पारित गर्नका लागि कार्यपालिका बैठकमा विधेयकको मस्यौदा पेश गरे पनि कार्यपालिकाको असहयोगका कारण कानुन बन्न पाएन ।

कार्यपालिकामा आफू अल्पमतमा रहेका कारण यो कानुन अघि बढाउन नसकेको भन्दै पौडेल भन्छन्, ‘कानुन नहुँदा शिक्षा क्षेत्रको बेथिति हेरेर बस्नु परेको छ ।’

तर उपप्रमुख विष्णुकुमारी कंडेल भने नगरप्रमुखको भनाइमा सहमत छैनिन् । प्रमुखले शिक्षा ऐन नभएका कारण केही गर्न नसकेको भनेर उम्किन खोज्ने कुरा गरेको बताउँदै उनी भन्छिन्, ‘स्थानीय तहमा शिक्षा ऐन नभए पनि संघीय कानुन छ त्यसमा रहेर काम गर्न सकिन्छ ।’

उनले कानुनभन्दा बाहिर रहेर शिक्षा ऐन बनाउन लागिएकाले त्यसलाई कार्यपालिकामा रोकिएको बताइन् । स्थानीय तहमा ऐन बनाउँदा प्रदेश र संघसँग नबाझिने गरी बनाउनुपर्ने हुन्छ । तर कार्यपालिकामा प्रस्तुत गरिएको शिक्षासम्बन्धी कानुनको मस्यौदा संघीय कानुनसँग बाझिने भएकाले पारित नभएको उनको भनाइ छ ।

उनले स्थानीय तहमा कानुन बनाउन विधायन समिति चाहिने बताउँदै गैंडाकोट नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐनको दफा २२ मा उल्लेख भएको विधायन समिति, लेखा समिति र सुशासन समिति नै गठन गर्न नसकेको अवस्थामा शिक्षा सम्बन्धीमात्र होइन अन्य थुप्रै कानुन बन्न नसकेको बताइन् । यी समिति नै बन्न नसकेका कारण शिक्षा ऐन बन्न नसकेको उनको भनाइ छ ।

जनप्रतिनिधि बीचको विवादको मार विद्यार्थीमा

आर्थिक अभावमा विद्यालय छोड्ने बालबालिकाको शिक्षाको निरन्तरताका लागि नगरपालिकासँग छुट्टै कोष नभएको गैंडाकोट नगरपालिकाका उपप्रमुख कंडेलले बताइन् । आर्थिक अभाव र भएको बजेट अन्य विकासका काममा बढी खर्च भएको उनको भनाइ छ । उनी भन्छिन् ‘विद्यालयले सहयोगको नाममा शुल्क लिनु गलत हो तर पनि लिने गरेका छन् । यसमा हामीले केही गर्न सकिरहेका छैनौं ।’

गैंडाकोट नगरपालिकाका जनप्रतिनिधि बीचको विवादको परिणाम नगरवासीले भोगिरहेका छन् । यही विवादका कारण थुप्रै विद्यार्थी शिक्षाको अवसरबाट बञ्चित भइरहेका छन् । आर्थिक अभावका कारण विद्यालय छोडेका विद्यार्थीको समस्या कसरी समाधान गर्ने भन्ने सन्दर्भमा पनि स्थानीय ऐन नहुँदा समस्या भएको छ । नगरपालिकाले यस समस्याको वैकल्पिक समाधान दिन सकिरहेको छैन ।

आर्थिक अभावमा विद्यालय छोड्नुपर्ने बाध्यता भएकाहरुको समस्या सम्बोधन गर्न नगरपालिकाले आवश्यक बजेट व्यवस्था गर्न सकेको देखिंदैन । फागुन ५ गते विहीबार नगरपालिकाको अन्तिम नगरसभा सकिएको छ । अन्तिम नगरसभामा पनि शिक्षा ऐनका सन्दर्भमा कुनै छलफल भएन । त्यसैले वर्तमान जनप्रतिनिधिबाट शिक्षा ऐन बन्ने आशा अब करिब-करिब समाप्त भएको छ ।

स्थानीय सरकार आएको साढे चार वर्ष पूरा भएको छ । चुनावको समयमा बालमैत्री वडा र नगर बनाउने मूल नारा लिएको गैंडाकोट नगरपालिकामा अझै पनि आर्थिक अवस्था कमजोर भएका कारण बालबालिकाले विद्यालय शिक्षाबाट बञ्चित हुनुपरेको बाल मैत्री अभियन्ता खेमराज सापकोटा बताउँछन् ।

चालु आर्थिक वर्षमा नगरस्तरीय बजेट अन्तर्गत साढे ११ लाख रुपैयाँ बालबालिकाको नेतृत्व विकास, बालकोष स्थापना, बालश्रम न्यूनीकरण, विपन्न विद्यार्थी पोशाक, बालविवाह अन्त्यका लागि सचेतना कार्यक्रमका लागि विनियोजन गरिएको छ ।

गैंडाकोट नगरपालिकाको महिला तथा बालबालिका शाखाका महिला निरीक्षक सीता लामिछानेले नगरबाट बालबालिकाको खेल र अन्य गतिविधिमा खर्च हुने गरी हरेक वर्ष तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको बताइन् । तर यो रकम विपन्न विद्यार्थीको अध्ययनका लागि खर्च गरिंदैन ।

वडा नं. १ को उदाहरण

नगरपालिकाको वडा नं. १ नगरको पहिलो बालमैत्री वडा हो । यस वडाले बालबालिकाको समस्याका लागि वडामा बाल संरक्षण कोष नै बनाएको छ ।

वडा अध्यक्ष हरिप्रसाद सापकोटाका अनुसार कोही बालबालिका आर्थिक अभावका कारण पढाइबाट बञ्चित हुन नपरोस् भनेर बालसंरक्षण कोष निर्माण गरिएको हो । यस कोषमा अहिलेसम्म करिब चार लाख ६५ हजार रकम संकलन भइसकेको वडा अध्यक्ष सापकोटाले बताए ।

प्रत्येक वडामा बालसंरक्षण कोष स्थापना गर्न सकेको खण्डमा आर्थिक अभावका कारण बालबालिका विद्यालय शिक्षाबाट बञ्चित हुने छैनन् । गैंडाकोट नगरपालिका वडा नं. १ ले जस्तै प्रत्येक वडाले बालसंरक्षण कोष निर्माण गर्न सके बालबालिकाहरु आर्थिक अभाका कारण विद्यालय शिक्षाबाट बञ्चित हुन पर्ने समस्या केही मात्रामा भएपनि कम हुने सापकोटा बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?