+
+

वीरगञ्जको मदरसा : कक्षा तीन, शिक्षक एक, भुईंमै पढाइ

सुरेश बिडारी सुरेश बिडारी
२०७८ फागुन ९ गते ११:४९

९ फागुन, वीरगञ्ज । वीरगञ्ज-१३ राधेमाईदरगाह टोलमा बारिया ए दारा शरैया आधारभूत विद्यालय सात महिनापछि पुनः सञ्चालनमा आएको छ । विद्यालय सञ्चालनमा आए पनि बालबालिका भने विद्यालयबाट पाउनुपर्ने न्यूनतम सुविधाबाट बञ्चित छन् ।

बन्द विद्यालय सञ्चालनमा आए पनि बालबालिका भने विद्यालयबाट पाउनुपर्ने न्यूनतम सुविधाबाट वञ्चित छन् । मदरसा छेउमै रहेको भवनको भुईं तल्लाको एउटा कोठामा विद्यालय सञ्चालनमा छ ।

डेक्स बेञ्जको अभावमा विद्यार्थी सिमेन्टेड चिसो भुईंमा पातलो दरी ओछ्याएर पढ्न बाध्य छन् । विद्यालयमा खाजा कार्यक्रम पनि सञ्चालनमा आउन सकेको छैन । कक्षा तीनसम्म पढाइ हुँदै आएको मदरसामा एकमात्र शिक्षिका छिन् ।

भुल सुधार गर्ने प्रतिबद्धतापछि खुल्यो विद्यालय

वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासनको निर्णयको अवज्ञा गरेको, आईएमआईएस अद्यावधिक नगरेको, बिहान बेलुका धार्मिक हिसाबले मात्रै चलेको, अनुगमनका क्रममा विद्यालय सञ्चालनमा नरहेको पाइएपछि नगर शिक्षा समितिले गत जेठ २० गतेदेखि विद्यालयलाई दिइने सम्पूर्ण अनुदान रोकेको थियो । त्यसपछि विद्यालय बन्द भएको थियो ।

स्थानीयले अबदेखि कार्यालयको आदेश मानेर विद्यालय सञ्चालन गर्ने निर्णय गर्दै नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेपछि विद्यालय सञ्चालन गर्न अनुमति दिइएको शैक्षिक प्रशासन महाशाखाले जाएको छ ।

नियमित विद्यालय सञ्चालन गर्ने र कार्यालयको आदेश मान्ने प्रतिवद्धता आएपछि विद्यालय सञ्चालन गर्न अनुमति दिइएको शैक्षिक प्रशासन महाशाखा प्रारम्भिक बाल विकास तथा आधारभूत शिक्षा शाखाका शिक्षा अधिकृत आनन्द लामिछानेले जानकारी दिए ।

स्थानीयको आग्रहलाई स्वीकार गर्दै नगर शिक्षा समितिले पुस २८ गते विद्यालय पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । माघ २१ गते बारिया ए दारा सरैया मदरसाका अध्यक्ष मन्सुरुलहक सिद्धिकीको अध्यक्षतामा बसेको बैठकले भुल सुधार गरी पूर्ण क्षमतामा मदरसा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । विद्यालय सञ्चालनका लागि स्थानीयले माघ १६ गते अभिभावक भेला मार्फत अधिवक्ता शेख मन्सुर बाबु अध्यक्ष रहेको विद्यालय व्यवस्थापन समिति गठन गरेका छन् ।

स्थानीय अभिभावक अन्सारुल हक विद्यालय खुले पनि न्यूनतम सुविधा पनि नभएको बताउँछन् । ‘बल्ल बल्ल विद्यालय सञ्चालनमा आएको छ तर सुविधा केही छैन । सुविधा भएन भने बालबालिका बस्दैनन्,’ उनले भने, ‘केही सुविधा महानगरले दिन्छ भने समुदायले पनि थपेर काम गर्छ ।’

विद्यालयमा सेवा सुविधा थप गरेको खण्डमा विद्यार्थी संख्या अझै बढ्ने स्थानीय सैयद सुफी फरियादले बताए । ‘अहिले विद्यार्थी संख्या कम छ, शिक्षक, डेस्क बेञ्च, खाजा कार्यक्रम दिने हो भने विद्यार्थी संख्या बढ्छ,’ उनले भने ।

विद्यालयमा निमित्त प्रधानाध्यापकको रुपमा राहत शिक्षिका रिमा कुमारी हवारी मात्रै कार्यरत छिन् । माघ २४ गतेबाट हाजिर भएकी उनले बालविकासदेखि कक्षा ३ सम्म एक्लै पढाउँदै आएकी छन् । विद्यालयको कामले शैक्षिक प्रशासन महाशाखा नै जानुपर्दा समेत विद्यालय बन्द गर्नुपर्ने बाध्यता उनलाई छ ।

‘विद्यालय बन्द हुँदा गाउँका बालबालिका अन्य विद्यालयमा जाने गरेका थिए, क्रमशः आउने क्रम शुरु भएको छ । विद्यलयमा डेक्स बेञ्च लगायत फर्निचर केही छैन,’ उनले भनिन्, ‘एक्लैले विद्यालय चलाउन गाह्रो हुन्छ ।’

बाल विकासमा ३१ र कक्षा १ देखि ३ सम्म ६० जना विद्यार्थी रहेको दाबी निमित्त प्रधानाध्यापक हवारीको दावी छ तर आइतबार शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले विद्यालयको स्थलगत निरीक्षण गरेका छन् । अनुगमनको क्रममा आइतबार विद्यालयमा १७ जना मात्रै बालबालिका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अधिवक्ता शेख मन्सुरबाबुले विद्यालयलाई व्यवस्थित बनाउँदै लैजाने जानकारी दिए । विद्यालयमा पूर्वाधार प्रयाप्त रहेको र निर्माणको क्रममा पनि रहेको जानकारी गराउँदै उनले छात्रावास, वृद्धाआश्रम र मुसाफिर खानाको व्यवस्था गर्ने योजना रहेको सुनाए ।

‘शुक्रबार र शनिबार गाउँमा मेला भएकोले विद्यार्थी संख्या कम भएको हो,’ उनले भने, ‘आउने शैक्षिक शत्रबाट विद्यार्थी संख्या बढ्छ । शिक्षक र कार्यालय सहयोगी आवश्यक छ ।’

विद्यालयका लागि हाल ४ वटा कोठा भएको दुई तले भवन प्रयोगमा रहेको उनको भनाइ छ । मस्जिदका लागि र विद्यालय छेउमै सामुदायिक भवनका लागि २०/२० लाख बजेट आएको छ । भवन तयार भएपछि आवश्यक पर्दा ती भवन पनि प्रयोगमा ल्याउन सकिने उनको भनाइ छ ।

शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्णले विद्यार्थी संख्या बढेपछि मात्रै थप सहयोग गर्न सकिने बताए । ‘एक पटक बन्द गरेर पुनः सञ्चालनमा ल्याएका छौं, पुनः बन्द गर्नुपर्ने अवस्था आउँदा राम्रो सन्देश जाँदैन,’ उनले भने, ‘तत्कालका लागि एक जना कार्यालय सहयोगीको बन्दोबस्त गर्दैछु, विद्यार्थी संख्या बढ्छ भने मात्रै शिक्षक र थप अनुदान दिन सकिन्छ ।’

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?