
१० फागुन, काठमाडौं । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. विकास लामिछाने नियुक्त भएका छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले डा. लामिछानेलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेका हुन् । डा. लामिछानेले कुलपतिबाट मंगलबार पत्र बुझेको बताए ।
‘आज प्रधानमन्त्रीबाट नियुक्ति पाएँ । भोलिदेखि जिम्मेवारी समाल्छु’ डा. लामिछानेले अनलाइनखबरसँग ने ।
डा. लामिछाने दाङकै हापुरका बासिन्दा हुन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं राप्ती प्रतिष्ठानका सहकुलपति विरोध खतिवडा नेतृत्वको सिफारिस समितिले उपकुलपति नियुक्तिका लागि तीनजनाको सिफारिस गरेको थियो ।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला र स्वास्थ्य सचिव डा. रोशन पोखरेल सदस्य रहेको सिफारिस समितिले ऋषिकेश नारायण श्रेष्ठ, विकास लामिछाने र नारायणविक्रम थापाको नाम सिफारिस गरेको थियो । प्रतिष्ठानको उपकुलपतिका लागि १६ जनाले आवेदन दिएका थिए ।
स्रोतका अनुसार लामिछाने नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेका नातेदार हुन् ।
नियुक्ति पाएपछि डा. लामिछानेले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धेरै सुधार गर्नुपर्ने बताए । ‘अहिले बाहिरबाट हेर्दा त्यहाँको मेडिकल सेवा सुधार गनुपर्ने देखिन्छ । त्यसका साथै शैक्षिक कार्यक्रम सुरु गर्ने योजना छ,’ उनले भने ।
प्रतिक्रिया 4