११ फागुन काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको ११औं चरणबाट विजेताको टुंगो लाग्यो भने १२औं चरणपछि रेलिगेसनमा पर्ने दुई टिमको टुङ्गो पनि लाग्यो । लिगमा एक चरणको खेल बाँकी रहँदा अब दोस्रो स्थानको होड भने बाँकी छ ।
दुई खेल बाँकी छँदै साविक विजेता मच्छिन्द्रले उपाधि जितिसकेको छ भने ललितपुरका दुई क्लब च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब रेलिगेसनमा परिसकेका छन् । यसबाहेक १२औं चरणको खेलका विशेषतामा मनाङ मर्स्याङ्दीको हार, आर्मीको पुनरागमन जित अनि लिगकै छिटो गोल आदि रहे ।
रेलिगेसन ब्याटलमा च्यासल र ब्रिगेड असफल
शनिबार भएको खेलमा फ्रेण्ड्ससंग २-१ ले पराजित भएपछि च्यासल यस सिजन रेलिगेसनमा पर्ने पहिलो क्लब बन्यो । च्यासलविरुद्ध जितले फ्रेण्ड्सले राहत मिलिसकेको थियो । दुई दिनपछि ब्रिगेड ब्वाइज नवप्रवेशी सातदोबाटो युथ क्लबसंग ३-२ ले पराजित भएपछि फ्रेण्ड्स एक खेलअघि नै रेलिगेसनबाट जोगियो । ब्रिगेड ब्वाइज भने रेलिगेसनमा पर्यो ।
१२ खेलपछि फ्रेण्ड्स १० अंङ्कसहित १२औं स्थानमा छ । समान खेलबाट ब्रिगेड ब्वाइज ७ अंकसहित १३औं र च्यासल ६ अंकसहित १४औं स्थानमा छ । अब ब्रिगेड ब्वाइजले अन्तिम खेल जितेपनि फ्रेण्ड्सलाई भेट्दैन । किनकी फ्रेण्ड्स ब्रिगेड ब्वाइजविरुद्ध हेड टु हेडमा अघि छ ।
मछिन्द्र र आर्मी अपराजित
च्याम्पियन बनिसकेको मछिन्द्रले अपराजित यात्रा १२औं चरणसम्म कायमै राखेको छ । कप्तान सुजल श्रेष्ठले इन्जुरी टाइममा पेनाल्टीबाट गोल गरेपछि मछिन्द्रले थ्रीस्टारलाई १-० ले हरायो ।
पाँचौं चरणमा बराबरी खेलेपछि लगातार ७ जित हात पारेको मछिन्द्रले यस सिजन १० जित र २ बराबरीबाट ३२ अंक जोडेको छ । यस हारपछि थ्रीस्टारको शीर्ष तीनमा पर्ने सम्भावनामा धक्का लागेको छ । थ्री स्टार १८ अंकसहित पाँचौं स्थानमा छ ।
अर्को अपराजित टोली आर्मीले पनि संकटा क्लब विरुद्ध एक गोलले पछि परेको स्थिति उल्टाएर पुनरागमन जित हात पार्यो । दोस्रो हाफमा तीन गोल गर्दै आर्मीले संकटालाई ३-१ ले पराजित गरेको हो । यस जितले आर्मीलाई दोस्रो स्थानमा उकालेको छ । आर्मीले लिगका १२ खेलमध्ये पाँचमा जित र सातमा बराबरी खेल्दै २२ अंक जोडेको छ ।
मनाङलाई दोस्रो हुन पनि कठिन
सोमबार भएको खेलमा एनआरटीले मनाङलाई १-० ले हरायो । यो आफैँमा कति ठूलो नतिजा रह्यो भने मनाङले २०६७-६८ पछि लिगमा पहिलो पटक लगातार दुई खेल हार्यो । अर्को संयोग के भने त्यही सिजनपछि एनआरटीले मनाङलाई पहिलो पटक हरायो ।
आर्मीले संङ्कटालाई हराउनु अघिसम्म एनआरटी यो जितले दोस्रो स्थानमा उक्लेको थियो । एनआरटीले मनाङलाई अंक तालिकामा पनि पछि पारेको छ । दुवैको समान २० अंक भएपनि एनआरटी हेड टु हेडमा अघि रहँदै तेस्रो स्थानमा छ भने मनाङ चौथो स्थानमा झरेको छ ।
यो सिजनमा मनाङले चार खेल हारिसकेको छ । त्यस्तै ६ जित र दुई खेलमा बराबरी गर्दै मनाङले २० अंक जोडेको छ । यस बाहेक १२औं चरणको अन्य खेलमा जाउलाखेलले हिमालयन शेर्पालाई २-१ ले हराउँदा विभागीय डर्बीमा नेपाल पुलिस र एपीएफले १-१ को बराबरी खेले । यस पटक पुलिस पहिलाको जस्तो देखिएन ।
सातदोबाटोले ब्रिगेड ब्वाइजलाई हराउनु अघिसम्म पुलिस पनि रेलिगेसनको चिन्तामा थियो । कम्तीमा यस सिजनका लागि त्यो खतरा टरेको छ । पुलिस १२ अंकसहित ११औं स्थानमा छ ।
अर्कोतर्फ एपीएफले भने सुरुवाती तीन खेल हारेपनि त्यसयता उत्कृष्ट प्रदर्शन गर्दै लगातार ९ खेलमा अपराजित छ । एपीएफ संकटा समान १५ अंक जोडेर आठौं स्थानमा छ ।
होड दोस्रो र तेस्रोका लागि
यस सिजन च्याम्पियन बनेको मछिन्द्रले गत सिजनको भन्दा २५ लाख बढी अर्थात ७५ लाख पुरस्कार प्राप्त गर्नेछ । गत सिजन शीर्ष ६ स्थानका टिमले नगद पुरस्कार पाएका थिए । यस सिजन भने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले च्याम्पियनसहित शीर्ष तीन स्थानमा रहने टिमलाई मात्र पुरस्कार दिने व्यवस्था गरेको छ । लिगमा दोस्रो हुनेले ५० लाख र तेस्रोले २५ लाख रुपैयाँ पाउनेछन् ।
गत सिजन च्याम्पियन मछिन्द्रले ५० लाख, दोस्रो भएको आर्मीले ३५ लाख, तेस्रो भएको मनाङले २५ लाख प्राप्त गरेका थिए । यस्तै चौथो भएको थ्रीस्टारले १५ लाख, पाँचौ भएको पुलिसले ७ लाख र छैटौं भएको जाउलाखेलले ५ लाख रुपैयाँ पाएका थिए । यस पटक पुलिस र जाउलाखेल शीर्ष ६ मा पर्ने सम्भावना छैन ।
यस सिजन पनि दोस्रो हुनका लागि आर्मी, न्युरोड टिम र मनाङ होडमा छन् । थ्रीस्टार भने दोस्रो बन्ने होडबाट बाहिरिसकेको छ । आफू अनुकुल नतिजा आएमा थ्रीस्टार र सातदोबाटो युथ क्लब तेस्रोसम्म हुन सक्छन् ।
१२ खेल सकिँदा आर्मी २२ अंकसहित दोस्रोमा छ भने तेस्रो र चौथो स्थानमा रहेका न्युरोड टिम र मनाङको समान २० अंक छ । सातदोबाटो र थ्रीस्टारको समान १८ अंक छ ।
आर्मी र मनाङको खेलको प्रतीक्षा
अब अन्तिम चरणमा आर्मीले मनाङसंग प्रतिस्पर्धा गर्नेछ । उक्त खेलमा जित वा बराबरीले पनि आर्मी दोस्रो बन्नेछ । आर्मीले मनाङसंग बराबरी खेलेमा उसको २३ अंक हुनेछ । यस्तोमा एनआरटीले पुलिसलाई हराएर २३ अंक जोडेपनि हेड टु हेडमा आर्मी नै अघि हुनेछ ।
मनाङले भने दोस्रो स्थान सुरक्षित गर्न आर्मीलाई हराउनै पर्नेछ । त्यतिले मात्र पुग्दैन एनआरटी र पुलिसबीचको खेल बराबरीमा सकिनुपर्नेछ वा पुलिस विजयी हुनुपर्नेछ । अन्यथा मनाङ दोस्रो स्थानमा रहन सक्नेछैन ।
यदि एनआरटीले दोस्रो स्थानमा लिग सकाउने हो भने अन्तिम खेलमा पुलिसलाई हराउनुपर्नेछ भने आर्मी मनाङसंग हार्नुपर्नेछ । यस्तो भएमा एनआरटी र मनाङको समान २३ अंक हुनेछ र हेड टु हेडमा एनआरटी अघि हुनेछ ।
आर्मी, एनआरटी र मनाङमध्येबाटै कुनै क्लब दोस्रो र तेस्रो रहनेछन् । यी तीन क्लबको नतिजा खराब भएमा मात्र सातदोबाटो र थ्रीस्टारको तेस्रो बन्ने सम्भावना कायम रहन्छ ।
सातदोबाटो तेस्रो हुनका लागि एनआरटी पुलिससंग र मनाङ आर्मीसंग हार्नुपर्नेछ । अनि सातदोबाटोले अन्तिम खेलमा च्यासललाई हराउनुपर्नेछ । यस्तै थ्रीस्टार तेस्रो बन्नका लागि एनआरटी पुलिससंग र मनाङ आर्मीसंग हार्नुपर्नेछ भने सातदोबाटो पनि च्यासलसंग हार्नुपर्नेछ ।
कम्तीमा दोस्रो र तेस्रो बन्नका लागि भएपनि अन्तिम चरणका खेल रोमाञ्चक हुनेछ ।
गोल्डेन बुटमा फ्रान्कोइसको दावी
अन्तिम चरणको खेल बाँकी रहँदा फ्रेण्ड्स क्लबका जोमोउल एन्थोनी फ्रान्कोइस सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् । उनले ७ गोल गरिसकेका छन् । ११औं चरणमा फ्रान्कोइसले च्यासल युथ क्लबविरुद्ध दुई गोल गरेका थिए । त्यही दुई गोलको मद्दतले फ्रान्कोइसले मछिन्द्रका सुनिल बल र मनाङका आफिज ओलावालेलाई पछि पारेका हुन् । सुनिल र ओलवालेको समान ६ गोल छ ।
ट्रिनिदाद एण्ड टोबागोका फ्रान्कोइसले लिगको सुरुवाती ६ खेलसम्म गोल गर्न सकेका थिएनन् । सातौं चरणमा एनआरटीविरुद्ध एक गोल गर्दै खाता खोलेका थिए । त्यसपछि उनले नवौं चरणमा आर्मीविरुद्ध एक, दशौँ चरणमा ब्रिगेड ब्वाइजविरुद्ध दुई, ११औं चरणमा जाउलाखेल युथ क्लबविरुद्ध एक गोल गरेका थिए ।
यस पटक लिगमा सर्वाधिक गोल गर्नेले गोल्डेन बुट अवार्डका साथै नगद २ लाख पाउनेछन् । फ्रान्कोइस, सुनिल र ओलावालेसंगै गोल्डेन बुटको होडमा सातदोबाटो युथ क्लबका अजयी मार्टिन्स र एपीएफ एफसीका आशिष लामा छन् । मार्टिन्स र आशिषले समान पाँच गोल गरेका छन् ।
१२औं चरणको नतिजा
फ्रेण्ड्स २-१ च्यासल
मछिन्द्र १-० थ्रीस्टार
जाउलाखेल २-१ हिमालयन शेर्पा
मनाङ ०-१ एनआरटी
ब्रिगेड २-३ सातदोबाटो
पुलिस १-१ एपीएफ
आर्मी ३-१ संकटा
१२औं चरणको गोलकर्ता
जोमोउल एन्थोनी फ्रान्कोइस, (२ गोल) फ्रेण्ड्स
माउसा अबागाना, च्यासल
सुजल श्रेष्ठ, मछिन्द्र
रुपबहादुर लामा, जाउलाखेल
ओङगुना जुनियर, जाउलाखेल
अमृत श्रेष्ठ, हिमालयन शेर्पा
मेसुके ओलोमोउ, एनआरटी
सुशिल राई, सातदोबाटो
दिपंक राज सिंह ठकुरी, सातदोबाटो
निरज चौधरी, सातदोबाटो
बर्ट्रान्ड इबोड, ब्रिगेड
रोसन राना मगर, ब्रिगेड
सुमन लामा, पुलिस
प्रदीप लामा, एपीएफ
उत्तम राई, संकटा
सन्तोष तामाङ, आर्मी
जर्ज प्रिन्स कार्की, आर्मी
टेकबहादुर बुढाथोकी, आर्मी
 
                    










 २०७८ फागुन  ११ गते १४:०९
                        २०७८ फागुन  ११ गते १४:०९                     
                         
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4