+
+

‘म यस्तो गीत गाउँछु २’लाई प्रिमियरमा सकारात्मक प्रतिक्रिया

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते ११:४६

१२ फागुन, काठमाडौं । शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’लाई प्रिमियरमा सुखद् प्रतिक्रिया मिलेको छ । बुधबार कीर्तिपुर सिनेप्लेक्समा आयोजना भएको प्रिमियरमा चलचित्रकर्मी र सञ्चारकर्मीहरु पुगेका थिए ।

२ घन्टा १६ मिनेट लामो यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । चलचित्रमा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डीसी, गणेश गिरी लगायतका कलाकारको मुख्य भूमिका छ ।

एक सुपरस्टार र एक उदयीमान गायिकाको प्रेमकथामा निर्माण भएको यो चलचित्रलाई अधिकांश चलचित्रकर्मीले उत्कृष्ट भने । चलचित्र हेरेर निस्किएपछि अभिनेत्री निरुता सिंहले भनिन्, ‘चलचित्र हेरेपछि म धेरै पटक रोमाञ्चित भए भने कैयौं पटक रोएँ । चलचित्रको गीतसंगीत, मेकिङ, कथावस्तु उत्कृष्ट छ । कलाकारको अभिनय बेजोड लाग्यो ।’

निर्देशक दीपाश्री निरौलाले पनि चलचित्र उत्कृष्ट बनेको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘यो चलचित्रले नेपाली चलचित्र क्षेत्रलाई नै चलायमान बनाउनेमा विश्वास छ । प्रेमकथामा सुदर्शन थापाले उत्कृष्ट चलचित्र बनाउनुभएको छ ।’

चलचित्र हेर्न पुगेका कलाकार दीपकराज गिरी, प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज, एलिशा गौतम, सञ्जोग कोइराला लगायतले पनि यसको कथावस्तु, प्रस्तुति र कलाकारको अभिनय उत्कृष्ट रहेको सुनाए । प्रिमियरमा कलाकारहरु नीर शाह, गौरी मल्ल, रमेश उप्रेती, निशा अधिकारी, दमन रुपाखेती, पुष्प खड्कालगायत पुगेका थिए । यस्तै निर्माता छवि ओझा, निर्देशक दीपेन्द्र के खनाल, गायक यम बराल, संगीतकार अर्जुन पोखरेल, गायिका मलिका कार्कीलगायत पनि चलचित्रको प्रिमियरमा पुगेका थिए ।

चलचित्रको प्रिमियरमा पाएको प्रतिक्रियाले आफू उत्साहित भएको निर्देशक सुदर्शन थापाले बताए । उनले आफूहरुले दर्शकमाझ एउटा उत्कृष्ट प्रेमकथा पस्किएको भन्दै अब यसलाई कसरी अगाडि बढाउने भन्ने जिम्मेवारी दर्शकमा भएको बताए । अभिनेत्री पूजा शर्माले पनि चलचित्र रिलिजको समयमा विभिन्न खालका समस्या उत्पन्न भएपनि दर्शकले माया गर्नेमा विश्वास व्यक्त गरिन् ।

अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र सौरभ लामाको छायांकन रहेको चलचित्रको टिकट बुकिङ पनि खुल्ला भइसकेको छ । चलचित्रको प्रिमियरमा अभिनेता पल शाह भने उपस्थित थिएनन् ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?