+
+
ब्लग :

पुरुष भगवान हुन् र ?

चोट लाग्दा पुरुषलाई पनि दुख्छ, आँखाबाट आँसु बग्छ । पुरुष पनि भावुक हुन्छन् । उनीहरूको पनि भावना हुन्छ । उनीहरू पनि सोच्न सक्छन् । बुझ्न सक्छन् । जान्न सक्छन् । खै ! पुरुषमा त मैले छुट्टै फरक केही देखिनँ त ? पुरुष र महिलामा भएको भिन्नता लिङ्गको आधारमा एउटा मात्र हो । सत्य स्वीकारौं ।

सन्जु पौडेल सन्जु पौडेल
२०७८ फागुन १२ गते १३:२९

इतिहासदेखि वर्तमानसम्म समाजको रथ अगाडि बढाउन महिला र पुरुषको सहभागिता रहँदै आएको छ । महिला र पुरुषलाई एकै रथका दुई पाङ्ग्रा पनि भन्ने गरिन्छ । समानताको जति उदाहरण दिए पनि विभेद भने हट्न सकेको छैन । पुरुषद्वारा महिला पीडित बनेका धेरै घटना छन् भने कतिपय महिलाद्वारा पुरुष पनि पीडित छन् ।

महिला पीडित भएको अवस्थामा बोल्नका लागि मान्छे अघि सर्छन् । समस्या समाधान पनि गर्छन् । पुरुष पीडित भएका समाचार सुन्न, पढ्न र हेर्न मिल्ने गरी लगभग एकदम कम प्रतिशतमा भेटिन्छन् ।

यसकारण एउटा प्रश्न उब्जन्छ– के त्यसोभए पुरुषहरू पीडित हुँदैनन् त ? के पुरुषहरूलाई चोट लाग्दा दुख्दैन ? अहो ! जिम्मेवारीको भारीले थिचेको समयमा उनीहरू थाक्दैनन् ? मलाई भन्नु न, के उनीहरू साँच्चै रुँदैनन् हो ?

‘तँ त पुरुष होस् । तैंले रुनुहुँदैन । आफ्ना कमि–कमजोरीलाई देखाउनुहुँदैन ।’ यस्ता पुराना कथनले कतै आफ्ना समस्या सुनाउन नसकेर कति दाइहरूले आत्महत्या गरे कि ? जति ठूलो पीडालाई पनि आफूभित्र भष्म गर्न सक्नुपर्ने त्यत्रो साहस होला ?

उमेर बढेसँगै विभिन्न जिम्मेवारी थपिंदै जान्छन् । समस्याले बृहत् आकार लिंदै जान्छन् । तिमी नरुनु, आफ्नो समस्या कसैलाई नभन्नु भनिएको हुन्छ । किनभने यो पुरुषप्रधान समाज हो । जुन दिन तिमीले महिलाले झैं आँसु बगाउन सुरु गर्छौ, पीडा र समस्याहरू भन्न थाल्छौ, त्यही दिनदेखि ढल्नेछ, तिम्रो पुरुषप्रधान समाजको महल । थाहा छ मलाई तिमी यसकारण पनि यसो गर्ने छैनौ ।

हाम्रो र तिम्रो अस्तित्वमा उपस्थिति छ । हामी सहकार्य गरौं । मानवता जीवित राखौं । वर्षौ वर्ष बाँचौं । तर, महिलालाई बाहिर कमजोर भनेर पुरुष भित्रबाट आफैं सकिंदैछन् । तिमी नाटक गर्न बन्द गरिदेऊ । पुरुष भएकै कारण नाटक गर्छौ र एउटै जीवनमा हजारौं पटक मरेर बाँच्छौ ।

बाबुआमाले सानैदेखि छोराछोरीलाई हुर्काउँदै गर्दा छोराछोरीका इच्छा र आवश्यकताहरू पूरा गरिदिन्छन् । जुन बाबुआमाको कर्तव्य पनि हो । तर, तिमीलाई अलि बढी मायाले बेरिन्छ । अलिकति चोट लाग्दा पनि ठूलो उपचार गरिन्छ । तिम्रा अभाव र आवश्यकतालाई जसरी पनि परिपूर्ति गरिन्छ । जसले अभावलाई देखेन, दुःखलाई भोगेन, त्यो मान्छे कसरी बलियो हुन सक्छ ?

छोरीहरू बचपनदेखि जीवनकालभर असह्य पीडा सहेर बाँच्नु परेको छ । जसले जीवनकालभर चरम अभाव र आवश्यकताहरू हरपल फेस गर्दै अगाडि बढ्नु परेको छ । समाजले उनीहरूलाई कमजोर उपमा दिएको छ ।

महिलालाई बाहिर कमजोर भनेर पुरुष भित्रैबाट आफैं सकिंदैछन् । तिमी नाटक गर्न बन्द गरिदेऊ । पुरुष भएकै कारण नाटक गर्छौ र एउटै जीवनमा हजारौं पटक मरेर बाँच्छौ ।

महिला आँसु बगाउँदिनन्, पिउँछिन् । उनले पिएको आँसुले उनीभित्र महासागर बनेको छ । एकदिन महासागरमा तुफान आउनेछ । त्यसपछि दुनियाँ यसैमा विलीन हुनेछ ।

पुरुषमा अब विस्तारै एकखालको डरले जरा गाड्न सुरु गरिसकेको छ । त्यो डर महिलाको होइन, समाजको हो । एउटा पुरुषले महिलालाई पिट्दा सामान्य सोच्ने यो समाजले अलिकति नजर बदल्न जरूरी छ । एउटा महिलाले पुरुषलाई पिट्दा पनि सामान्य सोच्ने नजर बनाउनुपर्छ । होइन भने समाजको विकास भएको छ, उन्नति, प्रगति भएको छ भनेर कसरी पहिचान गर्ने ? अब परम्परागत सोचको पिंजडाबाट बाहिर निस्कने आँट गर्नुपर्छ ।

समाचार सम्प्रेषणमा पनि कतै न कतै त्रुटि भएकै हो । समाजले पनि कहिल्यै मलाई यो सुनाएन । आज फेरि मेरो मनमा अन्योलको मुस्लो बलेको छ । मलाई एकदमै हतारमा प्रश्न सोध्न मन लागिरहेको छ– के पुरुषमाथि कहिल्यै भेदभाव भएन ? किन सधैं भगवानका कुनै अवगुण नै थिएनन् जसरी पुरुषलाई प्रस्तुत गरिन्छ ?

बुढेसकालको लाठी भनेर छोरालाई ठूलो बनाइन्छ । आवश्यकता र अभाव परिपूर्ति गरिन्छ । कति प्रतिशत बाबुआमा होलान्, जो मेरो बुढेसकालको लाठी मजबुत बन्दै गएको छ कि नाईं भनेर जाँच गर्छन् ? राम्रो मलजल पाएन भने त कुनै लाठी बुढेसकालमा साथमासम्म हुँदैनन् । कुनै लाठीमा हात राख्ने बित्तिकै भाँचिन्छन् ।

प्रश्न सोध्दै गर्दा छोटो दार्शनिक कुरा गरिहालौं । छोराछोरीलाई कमजोर नबनाऊँ । उनीहरूलाई आवश्यकता र अभावसँग खेल्न दिऊँ । यो खेल हो । यसमा यिनी मान्छेलाई मजबुत बनाउने जीवनका दुई हतियार हुन् भनौं । अलिकति सम्झाऊँ, मान्छन् । बोर गरेपछि हो नमान्ने । अब फेरि विषयतिर नै लागौं ।

बाबुआमा आफू बन्न नसकेको अर्थात् पूरा गर्न नसकेको सपना प्रायःजसो आफ्नो सन्तानबाट पूरा गर्ने हरसम्भव प्रयास गर्छन् । तपाईंमा अलिकति कमन्सेन्स छ कि नाईं ? जुन कुरा तपाईंले नै गर्न सक्नुभएन उक्त कुरा तपाईंको सन्तानले कसरी गर्न सक्छ ?

तपार्इंले जुन सपना पूरा गर्न सक्नुभएन, त्यो तपाईंको कमजोरी हो । त्यो तपाईंको सपना थियो । तपाईंको छोराको र तपाईंको सपना एउटै नहुन सक्छ । तपाईंको र तपाईंको छोराको भावना एउटै नहुन सक्छ । ऊ जे चाहन्छ, सपना देख्छ, त्यही बन्न दिनुस् । त्यही गर्न दिनुस् ।

विदेशिएका पुरुषलाई सोध्नुस्, देशप्रतिको प्रेम, जिम्मेवारीको बोध र जीवनको लक्ष्य । यिनीहरू लगभग स्पष्ट हुन्छन् । किनभने देश टाढा हुन्छ, प्रिय लाग्छ । विदेशमा काम गरेर पैसा कमाउनको लागि गएको हुन्छ, यसले जिम्मेवारीको बोध गराउँछ ।

अनि उनीहरू सोच्न र योजना बनाउन सुरु गर्छन् कि भविष्यमा के गर्ने भनेर । नढाँटी भनौं भने यो लेख लेख्न प्रेरणाको काम उनीहरूले गरेका हुन्, जो आवश्यकता र अभाव परिपूर्ति गर्न विदेशिएका छन् ।

पुरुषप्रधान समाज भनेर पुरुषको हामीले मनोवैज्ञानिक रूपमा मन र मस्तिष्कमा भयङ्कर ठूलो राक्षसको तस्वीर बनाएका छौं । अब यसो नगरौं । यी र यस्तै नाराहरू रटेर झन् हामी कमजोर हुँदै गएका हौं ।

चोट लाग्दा पुरुषलाई पनि दुख्छ, आँखाबाट आँसु बग्छ । पुरुष पनि भावुक हुन्छन् । उनीहरूको पनि भावना हुन्छ । उनीहरू पनि सोच्न सक्छन् । बुझ्न सक्छन् । जान्न सक्छन् । खै ! पुरुषमा त मैले छुट्टै फरक केही देखिनँ त ? पुरुष र महिलामा भएको भिन्नता लिङ्गको आधारमा एउटा मात्र हो । सत्य स्वीकारौं ।

(लेखक मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा कानुन विषयमा अध्ययनरत छिन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?