+
+
मुगु डायरी–५ :

बर्दीको पहिचान सर्वसाधारणका लागि सहज र सरल !

तिलक पौडेल तिलक पौडेल
२०७८ फागुन १४ गते १३:५४

(चार दशक पहिलेको डायरीबाट)

गमगढीबाट साहजीलाई चामल लिन आएका गाउँलेको साथ लगाई धैन पठाई आफू कार्यालयको काममा दुई/चार दिन सदरमुकाममै भुलें। फर्कंदा त्यही भालु भेटिएको बाटो फर्कने हिम्मत टुटिरहेको थियो ।

सोही अवस्थामा स्याङ्जा पञ्चमूलका वन कार्यालयमा काम गर्ने झवीश्वर ढकाल भेट भए। उनको कार्यालय धैनको पारिपट्टि सोरुकोटको रेञ्जपोष्टमा थियो। उनले नै “सँगै जाऊँ, सुम्ली बसेर भोलिपल्ट म सोरु लागुँला, तपाईं कालैको झोलुङ्गोबाट धैनतिर लाग्नुहोला …” भने मुताविक सहमति भयो।

कालैबाट देख्दा झोलुङ्गो पनि राम्रै देखेकोले उक्त प्रस्ताव स्वीकार्न मलाई प्रेरित गरायो। नभन्दै हामी २/३ बजेतिर हिंडेर ६ बजे सुम्लीमा पुग्यौं। वन कार्यालयका मुखिया भनेपछि गाउँलेले ठूलो आदर गर्दा रहेछन्। सुनेको थिएँ “सिडिओलाई नानोभाउ र अञ्चलाधीशलाई ठूलोभाउ भन्ने गरिन्छ। एकपटक सिडिओसाहेब आफ्नो पिए (निजी सहायक), नायव सुब्वा र सुरक्षाकर्मीका साथ गाउँ भ्रमणमा निस्केछन्।

बीचबाटोमै गाउँमा पुगेर बासको चाँजो मिलाइयो। सुब्वासाहेब गाउँमा कुखुरा खोज्न हिंडे। पर्याप्त संख्यामा कुखुरा देखिए पनि र सिडिओ साहेबलाई हो भने पनि कसैले दिन मानेनन्।

विवशतापूर्वक नपाइएको खबर लिएर सुब्वा फर्केपछि हवल्दारसाहेब निस्के। उनीलाई ससम्मान पह्री (भाले) उपलब्ध गराए – गाउँलेले।” बर्दीको पहिचान सर्वसाधारणका लागि सहज र सरल !

मान्छेले मान्छेकै सहारा खोज्दो रहेछ !

त्यस्तै वन कार्यालयका फरेष्टर गार्डलाई पनि सम्मान गरिने हुँदा उनीहरूका हाकिम “मुखिया”, “रेञ्जर”लाई पनि आदरै गरिंदो रहेछ। त्यसदिन मलाई “हल्ला” चरितार्थ हुन पुग्यो। झवीसँग म “मास्टर” पनि सम्मानित ढङ्गले मुखियाको पाहुना बनें। प्रसङ्गवश अत्तर खाने कुरा चल्यो।

खाएपछि अत्तर लाग्ने नै भयो, अनि अति भोक लागेको महसुस भयो र खानेकुराको खोजी गरियो। “केरा पाकेका छिन् त ! हफल्ला घर …” (माथिल्लो घरमा केरा पाकेका छन् नि !) भने एकजना बालकले र खोजी गर्न पठाइयो। पाँच काइँयामा करिब २०÷२२ कोसा केराको घरी नै ल्याइयो। सबै मिलेर एक घरी केरा सकेको त्यो क्षण अरूलाई सुन्दा-सुनाउँदा रमाइलै हुने लाग्छ।

भोलिपल्ट ५ बजेतिरै उठेर यात्रा अघि बढाइयो। करिब पौने ७ बजेतिर हामी दुईभाइ छुट्टियौं। उनी सोरुतिर लागे भने म झोलुङ्गो/झोअँलो तर्नेतिर लागें। वास्तवमा झोलुङ्गो टाढाबाट हेर्दा/देखिंदा मात्रै तर्न उपयुक्त रहेछ। सबै काठहरू सोहोरिएर बीचमा पुगेका थिए।

झण्डै “भी” आकारमा झोल्लिएको रहेछ। मलाई त्यही झोलुङ्गो तर्नु अनिवार्य थियो। किनभने त्यो नतरेमा पुनः गमगढी फर्केर उही भालु भेटिएको ठाउँ हुँदै जानुपर्थ्यो। त्यसैले बाबियाका लट्ठाहरूमा छड्के हिसाबले टेक्दै झोलुङ्गो तर्न थालें।

चाइनिज सेता जुत्ताका तलुवा खिएर चिप्लिने भैसकेका थिए तापनि विस्तारै माथिका लट्ठा समाई अघि बढें। जति-जति अघि बढ्थें, आफ्नै तौलका कारण तलका लट्ठाहरू झन्-झन् तल हुँदै जान्थे। म पनि बीचमा पुगें, झोलुङ्गो पनि यस्तरी तलमाथि भयो कि मैले कुर्कुच्चा उठाएर पञ्जाले मात्र टेक्नु पर्‍यो र कर्णालीका हल्काले झोलुङ्गोलाई छ्याप्प-छ्याप्प हान्न थाल्यो।

म त्यस्तो सङ्कटको घडीमा आफ्नै वर्ग= मान्छे कतै देखिएला कि भनी नेत्र घुमाउँदो भएँ। अन्तिम परेपछि मान्छेले मान्छेकै सहारा खोज्दो रहेछ !

अन्तिम परेपछि आध्यात्मिक हुँदोरहेछ !

बिहानको ७ बज्दाको सूर्यका राता किरणले डाँडाहरूमा प्रकाश छिरलिरहेको थियो। झवी पनि कोल्टो परिसकेका थिए। मान्छे त परै जाओस्, चराचुरुङ्गीहरूको आवाजसमेत कर्णालीको उर्लंदो भेल र सुसाहटले सुन्न दिइरहेको थिएन। विवशतापूर्वक आँखा चिम्लेर कल्पें “हे ईश्वर ! म त मर्ने नै भएँ तर कर्णालीले बगाएको देख्ने कोही हुने भएनन्।

दसैं खर्चसमेत गरी ८० हजार जति रकम पछाडि झोलामा बोकेको थिएँ। अब धैनमा कोलाहल मच्चिने भयो। झवीलाई भेट्न आउने भए। खासै वास्ता नगरी झवीले पनि झोलुङ्गो तरेर तिलक पारि लागे, म यता आएँ भनी प्रतिक्रिया देलान्। अनि धैनाल शिक्षक साथीहरूले – स्याङ्जाली बेइमान रहेछ !

सबैको तलबभत्ता लिएर राजापुरतिर भागेछ भन्दै दसैंजस्तो महान् चाडमा पनि घर जान नपाइने भयो भनी दुःख प्रकट गर्लान्। उता उनका परिवारहरूमा श्रीमतीले – लोग्ने आउनेछन् दसैंमा, र तपाईंको सके सावाँ पनि नभए ब्याज जसै दिउँला भनी साहुलाई भनेका होलान्, छोराछोरीहरूले – दसैंमा बा लाहुरबाट आउनेछन् र राम्रा लुगा लगाउँला सोचेको होलान्, तर बाउ नजाँदा कति नराम्रो होला ? …”

खैर, यो त भयो अरूहरूको काल्पनिक आशङ्काले मनमा लगाएको डढेलो ! तर वास्तवमा म अब न वारि न पारिको अवस्थामा छु। खसेपछि बाँच्ने सम्भावना नै छैन।

अनि म मरें भने- ‘मेरा पनि घर बुवाआमाले परदेश गएको छोरो दसैंमा घर आउला, हाँसी-खुसी टीका लगाउँला, अ‍ैंचोपैंचो-तिरोतारो गरौंला सोच्नुभएको होला। भाइबैनी दाइले राम्रा-राम्रा लुगा ल्याउनेछ भन्ने आमाका बचनमा शान्त भएकोमा म नजाँदा त्यो घरमा कस्तो होला ?

फेरि अफवाह त “म भागेको भन्ने चल्नेछ” जसको सफाइ कहिले होला ? बुवा मुमाले पनि हैन छोरो यस्तो होला भन्ने त कल्पना पनि गर्न सकिंदैनथ्यो, केले त्यस्तो गर्न हौसियो होला ? भनी आश्चर्यमिश्रित भाव मनमा छल्क्याउँदै छिमेकीहरूका सामु शिर ठाडो पारेर बोल्न पनि नसक्नुहोला।

अनि यो कर्णाली सुकेर सानो हुँदासम्म मेरो लास कहाँ र कहिले भेटिएला, कसरी पहिचानिउँला ? त्यो लास मेरै भन्ने भएपछि त्यो घरपरिवारमा कस्तो हाल होला ?…. बरु आजभोलिमै कतै किनारमा फालिदिए त हल्ला बेतुकको ठहर्दो हो …’ जस्ता कल्पना गरी अघि नै बढ्ने निश्चय गरें। त्यतिबेलासम्ममा जुत्ता पानीको हल्काले रुझिसकेका थिए।

“ईश्वरले जे गर्छ, भलै गर्छ” भन्दै अघि बढ्दा संयोग पार गरें। धन्य ईश्वर भन्दै बालुवा भएको तीरमाथि पुगेपछि त हामफालें। यसरी बाबियाको झोलुङ्गो तरी ईश्वरलाई धन्यवाद दिंदै धैनतिर लागें। अन्तिम परेपछि मान्छे आध्यात्मिक हुँदोरहेछ !

जीवनको पहिलो झुठाभिव्यक्ति !

साढे दश बजेतिर सिद्धिगाढ पुगें। बिहानदेखि पानी पनि खान नपाएकाले शरीर शिथिल थियो। सनातनी अनुरोधमा केही खान नपाइने र रेञ्जरहरूलाई सम्मान गर्ने परिपाटी हिजो चरितार्थ भएकोले वल्तिरै चोकमा बसी इशारामा त्यहाँ गोठहरूमा देखिने मानिसहरूलाई आउन आदेश गर्दो भएँ। नौलो = नयाँ मान्छेले डाकेकोले सबैजसो आए।

“देज्यू को हुनुभयो ? काँ जान्या हौ प ?” (हजुर को हुनुहुन्छ ? कहाँ जान हिंड्नुभएको हो त ?) सोधनी गरे। मैले पनि भरखरै मरेर बाँचेको क्षण सम्झँदै र आफ्नो शैथिल्यतालाई मध्यनजर गरी ढुक्क खान पाइने व्यवस्था मिलाउने “म नयाँ आएको रेञ्जर हुँ, धैनकोटमा मेरा भाइ छन्, तिनीलाई भेटुँ भनेर आएको। अब कति टाढा पर्दछ ? खान वहीं पुगिन्छ कि तपाईंहरूकैमा पाहुना लाग्नुपर्दछ ?” भनी सरासर “सफेद झुट” बोलें, जीवनको पहिलो चोटि।

अनि सबैले मुखामुख गरे। आलाकाँचा काठले अस्थायी गोठ बनाएका तिनीहरूलाई रेञ्जर भन्ने शब्दैले पोल्यो। “दे, अलि चामल मुथि छिन्, स्हाजी-बासी नभएकाले दूध गर प !

खीर लगाइदिऊँ … ” (लौ अब अलिकति चामल मसँग छन्, साजी-बासी नगरेकाले दुध जम्मा गर त खीर पकाइदिउँला …) भनी सल्लाह गरी अन्ततः सफेद झुट बोलेर भोकको तृष्णा खीरले मेटाएँ। शास्त्रमा ‘ज्यान जोखिमका बेला, स्त्रीका मामलामा, विवाहका सन्दर्भमा, गफगाफ गर्दा, गाई र ब्राह्मणको हितका लागि बोलेको झुट क्षम्य हुन्छ रे !’

भाषिकाको समस्या, योग्यता उपरै प्रश्नचिन्ह !

सबै सरहरू बर्खे बिदाबाट फर्किसकेका थिएनन्। म, तिनै साह र स्थानीय दुई जना (सर्पानन्द र देवप्रसाद) साथीहरूले ९ कक्षासम्मको अध्यापन सञ्चालन गरेका थियौं। बिहान प्रार्थना सकिएपछि लाइनमै विद्यार्थीको हाजिरी गर्ने गरिन्थ्यो। एक दिन झब्बरलालजीलाई हाजिर गर्न लगाएर म मास्केवारी तयारीमा लागें।

विद्यालय सञ्चालक समितिका अध्यक्ष सम्पत्ति जैसीकी छोरी खम्मेनी जैसी ३ कक्षामा पढ्थिन्। तराईवासी मधेशी मूलका झब्बरलालजीलाई हिमाली नाउँ थाहा नहुनु स्वाभाविकै हो। त्यसैले खम्मेनीको नाउँ पाठ गर्दा “रवम्मेनी” भनेर गरेछन्।

खम्मेनीले साँझ बावुसँग “आ ! नौला माइटर हामीकन क्या घोकाउन्ना, मेडो नाम् त गाडी स्हक्दैनन्, मेडो नाम त रवम्मेनी गरे …” (ओहो ! नयाँ मास्टरले हामीलाई के पढाउलान् खै ? मेरो नामको उच्चारण त गर्न सक्दैनन्, मेरो नाम त रवम्मेनी हो रे !) भनेर उजुरी गरिछन्।

भोलिपल्ट बिहानै हातमा स्हुल्फा लिएर तमाखु तान्दै सम्पत्ति दाइ आइपुगे र भन्न थाले “ए तिलक ! कइथा माइठर ल्याएउ त ए ! हाम्मी छोट्टिको नाउँ त गाडी स्हक्दैनन् गरे, त्यइथाले क्या घोकाअला धेऊ ? …” (ए तिलक ! कस्ता मास्टर ल्याएऊ त हँ ? हाम्री छोरीको नाम पनि शुद्ध भन्न सक्दैन रे ! त्यस्ताले के पढाउला त खै ?)

मैले “ए दाइ ! भतु उनको क्लास म घोकाउँला देखेनौ। किन भनेपै, मु गढी गया बेला, यो मान्ठ गढीअम्मो एकैन रुँदो छियो, क्या भयो ? कहाँका भयौ ? भनें त, दे क्या गरौंज्यू, मु त हरिगएँ, गाउले स्हाथीस्हाथ आया हुँ र ऐले काउँदो छु भुन्न्या पन था नाइ, स्हाथी पन हुम्ला रह्या, मु थि बाटखर्च पन नाई …।

तुमी थि था छँदै, मेरा दाजू – डिल्लीराम, गिलाँ घोकाउने, ल्याउँला भन्या ठौर हो देखेनौ ? क्यागन्ने धेउ, एऽऽऽइ दया लागेर आयो हेर, भतु बाटाखर्चको जोहो गरला, अँदेइ निकाली दिउँला क्या, नहोला … ?” (ए दाइ ! बरू उसको कक्षा मैले पढाउँला बुझ्नुभएन। किनभनेपछि म गमगढी गएको समयमा यो मान्छे गढीमा एक्लै रुँदै थियो।

मैले ‘के भयो ? घर कहाँ हो ? भनेर सोधेको ‘के गरौँ हजुर ! म त हराएँ, गाउँले साथीको साथ लागेर आएको हुँ। ऐले कहाँ छु भन्ने पनि थाहा छैन, साथी पनि हुम्लामा काम गर्ने उतै छन्, मसँग बाटाखर्च पनि छैन …। तपाईंलाई थाहै छ, गिलाहाँमा पढाउने मेरा दाजुलाई यही खाली ठाउँमा ल्याउँला सोचिएको थियो। के गर्नु हेर्नुहोस् यसै दया लागेर आयो, बरू बाटाखर्चको मेसो मिलाएपछि अवकाश दिउँला ! हुँदैन ?) भनेर कन्भिन्स गर्ने चेष्टा गरें।

“दे क्या भनौं त तुमी भन्या गली-गली गरेर ल्याया म्याथ-साइन्सका माइठर हेर, तुम्मो मुन भगाउन पुनि भयान, जसैगरी राम्मो गरी घोकाउन लगाऊ हेर, मु क्या भनुँ त ! बेली छोरीले कुडा गरी र आया हुँ …, (लौ के भनौँ त नि !

तपाईं भनेको विशेष अनुरोध गरी आएका म्याथ-साइन्सका मास्टर भयौ, तिम्रो मन दुखाउन पनि भएन। जसरी भए पनि राम्रो गरी पढाउन लगाउनु, मैले के भनौं त नि ! हिजो छोरीले कुरा गरी र आएको हुँ …) भनी बिदा भएथे। भाषिकाको समस्या, योग्यता उपरै प्रश्नचिन्ह !

क्रमागत:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?