+
+

आन्दोलनमा लाग्दा हटाइएका २३३ शिक्षकको पुनर्वहाली हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १६ गते २०:२९

१६ फागुन, काठमाडौं । सरकारले आन्दोलनमा लागेका कारण हटाइएका २३३ शिक्षकलाई पुनर्वहाली गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आन्दोलनमा लागेका कारण सेवाबाट हटाइएका ५८६ शिक्षक तथा कर्मचारीहरुको व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

यो निर्णयअनुसार २३३ शिक्षकको पुर्नवहाली हुनेछ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । १८ जना शिक्षकले नियुक्ति पाउने छन् भने ४१ जना शिक्षकले सेवा सुविधा र २८४ जनाले एकमुष्ट आर्थिक सहायता पाउने छन् ।

तत्कालिन पुनरावेदन अदालतका पूर्व मुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा गठित कार्यदलले २६ मंसिर २०७३ सालमा दिएको प्रतिवेदनका आधारमा यो निर्णय भएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सोमबारको मन्त्रिपरिषद्को निर्णयअनुसार ६० वर्षको उमेर हद नकटेका २३३ जना शिक्षकलाई स्वीकृत दरबन्दीको रिक्त स्थानमा पुनर्बहाली गरिनेछ । उनीहरुले विद्यालयमा हाजिर भएको मितिदेखि तलब भत्ता लगायतका सुविधा पाउनेछन् । सेवाबाट हटाइएको मितिदेखि पुनर्बहाली भई हाजिर नहुन्जेलको अवधिको तलब, भत्ता, विदा, पोशाक, चाडपर्व खर्च लगायतका सुविधा पाउने छैनन् ।

पुनर्बहालीका लागि सिफारिस गरिएका शिक्षकमध्ये उमेर हद पूरा गरेकाहरुको हकमा ६० वर्ष उमेर पुगेको मितिसम्मलाई आधार मानी तिनको विस्थापित भएको अवधिमा ननाघ्ने गरी न्यूनतम निवृत्तिभरणका लागि बढीमा सात वर्ष अवधि जोडिने छ । यसरी अवधिको थप गर्दा निवृत्तिभरण नपाउने अवस्था भएमा उपदान दिन एकमुष्ट पाँच वर्ष अवधि थप गरिनेछ ।

मन्त्रालयका अनुसार शिक्षकबाट विस्थापित भएपछि सार्वजनिक लाभको पद धारण गरेकाहरुलाई पुनर्वहाली गरिने छैन । पहिलो पटक लाभको पद धारण गरेको मितिसम्मलाई आधार मानी विस्थापित भएको अवधि ननाघ्ने गरी बढीमा सात वर्ष अवधि जोडिनेछ ।

यस्तै स्थायी नियुक्ति पत्र लिएका, तर हाजिर भई कामकाज गर्न नपाएका १८ जना शिक्षकलाई रिक्त दरबन्दीमा नियुक्ति गरी काममा लगाउनेछ । उनीहरुको विद्यालयमा हाजिर भएको मितिदेखिको सेवा अवधि गणना हुनेछ ।

४१ जना शिक्षकको हकमा उमेर हदबाट अनिवार्य अवकाश भएको मितिसम्मलाई आधार मानी न्यूनतम निवृत्तिभरण प्रयोजनका लागि बढीमा पाँच वर्ष अवधि जोडिनेछ । यसरी थप गर्दा पनि निवृत्तिभरण नपाउने अवस्था भएमा उपदान दिने प्रयोजनका लागि एकमुष्ट पाँच वर्ष अवधि थप गर्ने सरकारको निर्णय छ । अवधि थप गर्दा निवृत्तिभत्तरण पाउने व्यक्तिले यस अघि उपदान लिइसकेका भए सो रकम फिर्ता गरेपछि मात्र निवृत्तिभरण पाउने छन् ।

२८४ जना अस्थायी शिक्षकहरुलाई भने सञ्चित बिरामी विदाको अलावा एकमुष्ट आर्थिक सहायता दिइने मन्त्रालयले जनाएको छ । जस अनुसार तीन वर्षभन्दा कम सेवा अवधिका शिक्षकले वर्ष अनुसार एक लाख, एक लाख २५ हजार र एक लाख ५० हजार पाउनेछन् ।

तीन वर्षदेखि पाँच वर्ष भन्दा कम सेवा अवधि भएका शिक्षकले वर्ष अनुसार १ लाख ७५ हजार, २ लाख र २ लाख ५० हजार तथा ५ वर्षदेखि १० वर्षभन्दा कम सेवा अवधिका शिक्षकलाई २ लाख ५० हजार, २ लाख ७५ हजार र ३ लाख दिने मन्त्रालयले जनाएको छ ।

त्यस्तै १० वर्षदेखि १५ वर्षभन्दा कम सेवा अवधि भएकालाई ३ लाख ५० हजार, ४ लाख र ४ लाख ५० हजार तथा १५ वर्ष र सो भन्दा सेवा अवधि भएका शिक्षकलाई बढी ५ लाख, ६ लाख र ७ लाख दिइने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?