+
+

चौथोपल्ट प्रधानसेनापति म्याराथन जितेका कृष्णको लक्ष्य विश्व च्याम्पियनसिप

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७८ फागुन १७ गते ९:१४

१७ फागुन, काठमाडौं । २०६१ सालमा रामेछापबाट ‘भाग्य’को खोजीमा राजधानी आउँदा कृष्ण बस्नेतका सपना ठूला थिएनन् । पढाइ बीचैमा छाडेर पैसा कमाउन सहर पसेका उनी सेनामा भर्ना भए । माओवादी द्वन्द्व चर्किएको त्यो क्षणमा परिवार र आफन्तको सुझाव नसुने झैं गरेर सेनामा भर्ती भएका उनलाई आफ्नो निर्णयप्रति गर्व छ ।

सेनाको जागिर खाएर परिवार पाल्ने सपना पूरा गर्न राजधानी आएका कृष्ण देशका प्रमुख खेलाडीमध्येमा पर्छन् । ३७ वर्षको उमेरमा उनले शनिबार प्रधानसेनापति म्याराथन चौथोपल्ट जिते । एथलेटिक्सको सबभन्दा कठिन विधा मानिने म्याराथन (४२.१९५ किलोमिटर दौड)मा पछिल्लो एक दशकमा उनको बर्चश्व छ ।

२०६१ सालमा नेपाली सेनाको सिपाही बनेर चार वर्षपछि त्रिभुवन आर्मी क्लबमा आएपछि कृष्णको व्यवसायिक खेल जीवनको सुरुआत भएको हो । २५ वर्षको उमेरदेखि म्याराथनमा आफूलाई प्रतिस्पर्धीको रुपमा उभ्याएका उनले यसबीचमा धेरै उतारचढाव व्यहोरे ।

‘तालिमका बेला लामो दूरीमा राम्रो दौडिएपछि गणकै सल्लाहमा खेलाडी विभागमा पुगेको हुँ । राष्ट्रियस्तरका धावकसँगको प्रतिस्पर्धा र उचित प्रशिक्षणले आफूलाई सुधार्ने अवसर पाएँ,’ सैनिक मुख्यालय भद्रकालीमा अनलाइनखबरसँग कुरा गर्दै कृष्णले भने,’ ‘त्यतिबेला राजेन्द्र (भण्डारी) सरले देश विदेशमा राम्रो प्रदर्शन गरिरहनुभएको थियो । उहाँहरुलाई देखेर पनि अझै राम्रो गर्नुपर्छ हौसला भयो ।’

अन्तर्राष्ट्रियस्तरमा हेर्ने हो भने ३० वर्षको उमेरपछि म्याराथन धावकहरु शतप्रतिशत लयमा आउँछन् । ४२ किलोमिटर पूरा गर्ने क्षमतामा उमेरको परिपक्वताले महत्वपूर्ण भूमिका खेल्ने खेलविज्ञहरु बताउँछन् ।

कृष्णको हकमा पनि त्यस्तै रह्यो । उनले २९ वर्षको उमेरमा २०६९ सालमा आयोजित काठमाडौं म्याराथनको उपाधि जिते । त्यसपछि राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय यात्रा प्रारम्भ भयो । उनी १३औं दक्षिण एसियाली खेलकुदसम्म राष्ट्रिय टोलीको क्याम्पमा थिए । ‘दुईपल्ट एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरें,’ भाग्यमा विश्वास राख्ने कृष्णले भने, ‘दुईपल्ट दक्षिण एसियाली खेलकुद (साग)को बन्द प्रशिक्षणमा परे पनि प्रतियोगिता खेल्ने अवसर जुरेन । सायद मलाई भाग्यले साथ दिएन ।’

काठमाडौं म्याराथन जितेयता कृष्ण २०७३ मा नेपालगञ्ज म्याराथनको दोस्रो संस्करणमा च्याम्पियन बने । त्यसबेलाको टाइमिङ बिगि्रएकोमा उनलाई अहिलेसम्म थकथक लाग्छ । त्यसबाट पुनरागमन गरी उनले अर्को वर्ष प्रधानसेनापति म्याराथनको उपाधि जिते । २०७५ मा लगातार दोस्रोपल्ट जिते । प्रधानसेनापति म्याराथन चारपल्ट जितेर आफ्नै विभागबाट आयोजित प्रतियोगिताको सर्वाधिक सफल धावक बनेका छन् ।

आठौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत उच्च प्रदर्शनसहित स्वर्ण जितेपछि उनी १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि बन्द प्रशिक्षणमा परेका थिए । आमाको निधन भएपछि अन्तिम समयमा प्रतियोगिताबाट नाम फिर्ता लिनुपर्‍यो । ‘१२औं साग (सन् २०१६)मा मिसनमा गएका कारण खेल्न पाइनँ । यसपल्ट आफ्नै देशमा हुन लागेको सागमा स्वर्ण पदकको लक्ष्य राखेको थिएँ, तर आमा वित्नुभयो,’ साग खेल्ने अवसर नपाउनुलाई दुर्भाग्य मानेका कृष्णले थपे, ‘आमाको काजकिरिया गरेर फर्केपछि पनि झण्डै तीन साताको समय त थियो । तर मानसिक रुपमा तयार नभएपछि आफ्नो ठाउँमा अर्को योग्य खेलाडीले अवसर पाओस भन्ने लाग्यो ।’

पहिलो रोजाइका कृष्णले नाम फिर्ता लिएपछि आर्मीकै होमलाल श्रेष्ठले उनको स्थान लिएका थिए । १३औं सागमा एपीएफका किरणसिंह बोगटीले स्वर्ण जिते ।

कृष्णले सन् २०१४ को इन्चोन एसियाली खेलकुद र सन् २०१८ मा जाकार्ता एसियाली खेलकुदमा प्रतिनिधित्व गरे । दुई अन्तर्राष्ट्रिय अनुभवले उनलाई आफ्नो कमजोरीबारे ज्ञान दिलायो । विदेशको म्याराथन रुटबारे जानकारी पाए । प्रदर्शन राम्रो हुन नसके पनि घरेलुस्तरमा प्रतिस्पर्धा गर्न त्यो अनुभव सहयोगी बन्यो । ‘हामीले यहाँ गर्ने तयारीबाट अन्तर्राष्ट्रियस्तरमा गाह्रो हुनेरहेछ । खानेकुरा, हावापानी, निरन्तरता र नियमित एक्सपोजरले धेरै कुरा फरक पार्ने रहेछ भन्ने बुझें,’ उनले थपे ।

नेपालमा म्याराथन धावकहरु सीमित छन् । प्रतियोगिता पनि कमै मात्रामा आयोजना हुने गरेका छन् । नयाँ खेलाडीको उत्पादनमा संघको सक्रियता कम रहेको आरोप लाग्ने गरेको छ । अहिलेका अधिकांश राष्ट्रिय खेलाडी तीनवटा विभागीय टिममा मात्र छन् । लगातारका विजेता कृष्णले भावी पुस्ताका लागि योजनावद्ध कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिन्छन् । २५ वर्षको उमेरदेखि म्याराथन दौडिन थालेका उनी भन्छन्, ‘विद्यालयस्तरदेखि नै लामो दूरीको दौडलाई प्राथमिकता दिनुपर्छ । खानपान, नियमितता र ठाउँ अनुसारको प्रशिक्षणले खेलाडीलाई सानै उमेरदेखि परिपक्व बनाउने रहेछ ।’

लक्ष्य विश्व च्याम्पियनसिप

आगामी मे महिनामा अमेरिकामा विश्व एथलेटिक्स च्याम्पियनसिप आयोजना हुँदैछ । नेपाल एथलेटिक्स संघले राष्ट्रिय टिम तयारीमा प्रधानसेनापति म्याराथनको नतिजालाई पनि आधार मान्ने बताएको छ ।

म्याराथन जितेपछि कृष्णले पनि विश्व च्याम्पियनसिपमा सहभागिताको सपना देख्न थालेका छन् । कृष्णले भनेका छन्, ‘सरहरुले विश्व च्याम्पियनसिपमा नाम पठाउने भन्नुभएको छ । त्यसका लागि अझै राम्रो मिहिनेत गर्नुपर्छ । टाइमिङ सुधार्ने प्रयास गर्नेछु ।’

त्यसबाहेक आसन्न एसियाली खेलकुद र १४औं सागमा नेपालबाट प्रतिनिधित्व गर्ने लक्ष्य छ । एसियाली खेलकुद यही वर्ष चीनमा र १४औं साग अर्को वर्ष पाकिस्तानमा हुने कार्यतालिका छ । उमेर बढ्दै जाँदा फिट रहने र प्रदर्शन सुधार गर्नुपर्ने चुनौतिलाई उनले बिर्सेका छैनन् ।

नेपाली सेनाको जमदार पदमा कार्यरत उनी अर्को वर्ष असोजदेखि पेन्सनमा अवकास हुन पाउँछन् । तर, सक्रिय उमेर छउन्जेल सेना र एथलेटिक्सकै लागि काम गर्ने योजना बनाएका छन् । ‘नेपाली सेनाले मलाई सबैथोक दिएको छ । बाँकी जीवन पनि आफ्नै ठाउँमा रहेर सेनाकै लागि बिताउने हो,’ जीवनप्रति सन्तुष्ट देखिएका उनले थपे, ‘मेरा आवश्यकता ठूला छैनन् । बाँचुन्जेल देशकै लागि काम गर्छु ।’

घरेलु म्याराथनमा कृष्णको उपाधि

छैठौं काठमाडौं म्याराथन-२०६९

२ घण्टा २९ मिनेट ४० सेकेण्ड

दोस्रो नेपालगन्ज म्याराथन-२०७३

२ घण्टा २६ मिनेट ४० सेकेण्ड

तेस्रो प्रधानसेनापति म्याराथन-२०७४

२ घण्टा २२ मिनेट ५२ सेकेण्ड

चौथो प्रधानसेनापति म्याराथन-२०७५

२ घण्टा २० मिनेट ५१ सेकेण्ड

आठौं राष्ट्रिय खेलकुद, लुम्बिनी-२०७६

२ घण्टा १७ मिनेट ३३ सेकेण्ड (व्यक्तिगत उत्कृष्ट)

छैठौं प्रधानसेनापति म्याराथन-२०७७

२ घण्टा २१ मिनेट ५९ सेकेण्ड

सातौं प्रधानसेनापति म्याराथन-२०७८

२ घण्टा १९ मिनेट ५७ सेकेण्ड

तस्वीर : आर्यन धिमाल

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?