
१७ फागुन, काठमाडौं । विवेकशील साझा पार्टीका सुदूरपश्चिम संयोजक गोपाल हमालले राजीनामा दिएका छन् ।
हमालले स्थानीय तहको अघिल्लो निर्वाचनमा धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेवार बनेको र अबको निर्वाचन पनि स्वतन्त्र रुपमै उम्मेवार बन्ने उल्लेख गर्दै राजीनामा दिएको बताएका छन् ।
२०७४ साल साउन २८ गतेदेखि विवेकशील साझा पार्टीको उनी सुदूरपश्चिम इन्चार्जको जिम्मेवारीमा थिए ।
विवेकशील साझा पार्टीमा राजीनामा दिने रहर चलेको छ । संयोजक मिलन पाण्डेको समूहले पनि पार्टी छोडेको घोषणा गरिसकेका छन् ।
त्यस्तै गत कातिक २८ गते विवेकशील गण्डकी प्रदेशका १३ जनाले पार्टीबाट राजीनामा दिएका थिए । भने सचिवालय सदस्य महेश भण्डारीले साउन १७ गते राजीनामा दिए ।
त्यस्तै नेतृ रन्जु दर्शनाले गत पुस ८ गते पार्टी त्यागेको घोषणा गरिन् । यसअघि २०७७ असार २८ गते डा. सूर्यराज आचार्य र मुमाराम खनालले राजीनामा दिएका थिए ।
प्रतिक्रिया 4