
१७ फागुन, काठमाडौं । पाँचौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा बलिउड निर्देशक राजकुमार हिरानी र फ्रान्सेली निर्देशक एरिक भ्यालीलाई पनि निम्तो दिइएको छ ।
फेस्टिभलबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निफका अध्यक्ष केपी पाठकले जुरीको रुपमा हिरानी, भ्याली र अर्का भारतीय निर्देशक विशाल भारद्वाजलाई निम्तो दिइएको बताए । निफ आगामी चैत १७ देखि २१ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ ।
पत्रकार सम्मेलनमा अध्यक्ष पाठकले भने, ‘हामीले उहाँहरुलाई निम्तो दिएका छौं । निधो आउन बाँकी छ, तर उहाँहरु सकारात्मक हुनुहुन्छ ।’ थ्री इडियट्स फेम्ड निर्देशक हिरानीसँग आफूहरु सम्पर्कमा रहेको र उनलाई नेपाल ल्याउन प्रयासरत रहेको पाठकले अनलाइनखबरलाई जानकारी दिए ।

अन्य विदेशी पाहुनालाई पनि ल्याउनेबारे आफूहरु प्रयासरत रहेको उनले जनाए । पाँच दिने फेस्टिभलमा ३८ देशका ८९ फिल्मबीच प्रतिस्पर्धा हुनेछ । यसपटक महिला हिंसा, मानवअधिकार र मानवीय संवेदनाका फिल्महरुलाई प्रदर्शन गरिने जनाइएको छ ।
यसपटक भौतिक र अनलाइन दुवै (हाइब्रिड) माध्यममार्फत् निफ हुन लागेको हो । देशी तथा विदेशी फिचर, डकुमेन्ट्रीसहितका लामा–छोटा फिल्मले सात विधामा प्रतिस्पर्धा गर्नेछन् भने १४ वटा पुरस्कार दिइने भएको छ ।
फेस्टिभलमा चारवटा रुसी फिल्मले पनि भाग लिंदैछन् । यतिबेला रुसले युक्रेनमाथि आक्रमण गरिरहँदा निफले भने यस विषयमा कुनै धारणा नदिने बताएको छ । यसअघि विश्वका विभिन्न स्थानमा हुने आक्रमण र फिल्ममेकर पक्राउबारे निफले विरोध गर्दै आएको थियो ।
प्रतिक्रिया 4