+
+

स्थानीय तहको आकर्षक प्रोत्साहन भत्ताका कारण राजीनामा दिने शिक्षक बढे

पछिल्लो सात महिनामा मात्रै एक हजार १३९ शिक्षकले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १७ गते १६:२१

१७ फागुन, काठमाडौं । सात महिनामा एक हजार १३९ शिक्षकहरूले राजीनामा दिएका छन् । राष्ट्रिय किताबखाना (शिक्षक) कार्यालयकाअनुसार चालू आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म निवृत्तिभरण पत्र लिने तीन हजार ५० जना मध्ये एक हजार १३९ शिक्षकहरूले राजीनामा दिएका हुन् ।

यो अवधिमा एक हजार ६९७ जनाले अनिवार्य अवकास लिएका छन् भने मृत्यु हुने शिक्षकको संख्या २१४ जना रहेका छन् ।

अघिल्लो वर्षको तुलनामा राजीनामा दिने शिक्षकको संख्या बढ्नुको मुख्य कारण स्थानीय तहहरूले पुराना तथा छोड्न चाहने शिक्षकहरूलाई दिने आकर्षक प्रोत्साहन भत्ता देखिएको महानिर्देशक खकुरेल बताउँछन् । उनी भन्छन् ‘पालिकाहरूले पुराना शिक्षकहरू जो चाहिँ पेन्सन भइसकेको छ अथवा हुने अवस्थामा पुगेकाहरू छोड्न चाहनेलाई आकर्षक प्रस्ताव दिएको छ । एक लाखदेखि पाँच लाखसम्म सेवा सुविधा सहितको प्रस्ताव गरेको छ । राजीनामा दिनुको मुख्य कारण यो देखिएको छ ।’

दरबन्दी मिलान हुँदा अर्को स्थानीय तह वा जिल्लामा खट्न नचाहनेहरूले पनि राजीनामा दिने गरेका छन् । मंसिर र पुसमा राजीनामा दैनिक २५ देखि ३० जना शिक्षकहरूले राजीनामा दिएका थिए । राजीनामा दिनको लागि शिक्षकहरूलाई स्पष्ट कारण खुलाउन नपर्ने भएकोले यही कारण हो भन्न नसकिए पनि यीनै कारणहरू देखिएको महानिर्देशक खकुरेलले बताए ।

माघ यता राजीनामा दिने शिक्षकको संख्या कम भए पनि नियमित आइरहेको कार्यलयले जनाएको छ । मंसिर र पुसमा राजीनामा दिने शिक्षकको संख्या बढ्नुको कारण भने राजनीतिक दलसम्बन्धी ऐन र शिक्षा ऐन पालना गर्न गराउन निर्वाचन आयोगको निर्देशन र सर्वोच्च अदालतको आदेश कारण विभिन्न पार्टीको कार्यसमितिमा रहेका शिक्षकहरूले राजीनामा दिएको पाइएको महानिर्देशक रामराज खकुरेलले बताउँछन् ।

राष्ट्रिय किताबखाना (शिक्षक) कार्यलयको अनुसार अघिल्लो आर्थिक वर्षभर जम्मा तीन हजार ३६१ जनाले निवृत्तिभरण पत्र लिएका थिए । त्यसमध्ये ७९७ जना शिक्षकले राजीनामा दिएका थिए भने अनिवार्य अवकास हुने दुई हजार ३५६ जनाले र मृत्यु हुने २०७ जना शिक्षक गरेर तीन हजार ६० जनाले निवृत्तिभरण पत्र लिएका थिए ।

चालू आर्थिक वर्षमा अनिवार्य अवकाश लिनेको संख्या करिब २७ सय रहेकामा साउनदेखि माघ मसान्तसम्ममात्रै एक हजार ६९७ जनाले अनिवार्य अनिवार्य अवकास अन्तर्गतको निवृत्तिभरण पत्र बुझिसकेका छन् ।

शिक्षक सेवा आयोगले आगामी चैतसम्म अनिवार्य अवकास हुने शिक्षकको संख्या र रिक्त रहेको १७ हजार ४७ शिक्षक पदका लागि परीक्षा लिने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?