+
+

एमसीसीको व्याख्यात्मक घोषणाबारे एमालेको ६ उपमा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १७ गते १९:२८

१७ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी यथास्थितिमै अनुमोदन भएको तर्क गरेका छन् ।

एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा एमालेले व्याख्यात्मक घोषणाको अर्थ नरहेको दावी गरेको छ । एमसीसीले नै प्रतिनिधिसभाबाट गरिएको व्याख्यात्मक घोषणालाई मान्यता नदिएको एमालेले जनाएको छ ।

प्रतिनिधिसभाबाट अनुमोदन गरिएको व्याख्यात्मक घोषणाको अर्थ नरहेको पुष्ट्याइँ गर्न अध्यक्ष ओलीले ६ वटा उपमा प्रस्तुत गरे । १२ बुँदे वक्तव्य र त्यसमाथि उठेको प्रश्नको जवाफ दिने क्रममा एमालेले व्याख्यात्मक घोषणालाई ‘लाज छोप्ने टालोदेखि लाली पाउडर’सम्मको उपमा दियो ।

लाज छोप्ने टालो

एमालेले रोष्ट्रम घेराऊ गरिरहेका बेला अनुमोदन गरिएको एमसीसीको व्याख्यात्मक घोषणालाई ओलीले लाज छोप्ने टालोको संज्ञा दिएको छ । ‘लाज छोप्ने कपडा मात्रै हो । नेपाली जनता झुक्याउने काम मात्रै हो’, मंगलबार आयोजित पत्रकार सम्मेलनमा ओलीले भने ।

लालीपाउडर

एमसीसी यथास्थितिमा अनुमोदन नभएको देखाउन गठबन्धनका नेताहरुले व्याख्यात्मक घोषणाको भ्रम फैलाइएको एमालेको निष्कर्ष छ । वक्तव्यको ५ नम्बर बुँदामा लेखिएको छ, ‘गठबन्धनका नेताहरु त्यस घोषणालाई लालीपाउडर घसीघसी अझै भ्रमको खेती गर्नमा सक्रिय छन् ।’

उपमहासचिव प्रदीपकुमार ज्ञवालीले व्याख्यात्मक घोषणा जनतालाई ढाँट्ने दुष्प्रचार र हाँस्यास्पद कुरा भएको बताए । ‘झण्डै आधा दशकपछि एकतर्फी व्याख्याद्वारा संशोधन हुन्छ भन्नु जनतालाई ढाँट्ने दुष्प्रचार हो र यो हास्यास्पद कुरा हो’, बक्तव्यमा उल्लेख छ ।

गल्ती छोप्ने भ्याक्सिन

एमालेको अर्काे बुझाइ हो, एमसीसीको व्याख्यात्मक घोषणा ‘गल्ती छोप्ने भ्याक्सिन’ हो । हिजो एमसीसी गलत थियो भनेर गठबन्धनका नेताहरुले प्रचार गरेकाले त्यसलाई छोप्न भ्याक्सिन (ब्याख्यात्मक घोषणा) लगाइएको एमालेले जनाएको छ । ‘अझै पनि केही नेताहरु ‘व्याख्यात्मक घोषणा’ आफूले गलत थियो भनिएको एमसीसीलाई दुरुस्त पार्ने भ्याक्सिनको रुपमा प्रचार गर्न खोज्दैछन्’, एमालेको वक्तव्यमा उल्लेख छ ।

शाकाहारीले माछा खाएजस्तो

एमसीसी जस्ताको तस्तै अनुमोदन भएपनि त्यसबारे गठबन्धनका नेताहरुले कूतर्क गरेको एमालेको भनाइ छ । तर शाहाकारी हुँ भन्नेले माछा खान गरेको तर्क जस्तै शैलीमा एमसीसी अनुमोदन भएको पनि वक्तव्यमा उल्लेख छ । ‘प्रतिनिधिसभाको बैठकमा प्रस्तुत ‘व्याख्यात्मक घोषणा’ शाकाहारीले ‘किताबको माछा पो खान हुन्न, खोलाको त भइहाल्छ नि’ भनेजस्तै हो’,  एमालेको वक्तव्यमा छ ।

लत्रिएको जुंगा ठाडो पार्ने हतियार

एमसीसी अनुमोदनमा व्याख्यात्मक घोषणा भनेर गठबन्धनका नेताहरुले आफूलाई जोगाएको एमालेको बुझाइ छ । सत्ता र गठबन्धन जोगाउन एमसीसी अनुमोदनमा भ्रम छर्ने काम गरेको ओलीको वक्तव्यमा छ । तर यो जनतालाई दिग्भम्रित पार्ने अर्कोल चालबाजी मात्रै भएको पनि उल्लेख छ । वक्तव्यमा लेखिएको छ, ‘केही नेताहरुका ‘लत्रिएका जुंगा’लाई ‘ठाडो पार्ने हतियार’का रुपमा संसदीय अभ्यासलाई विकृत पार्दै दुरुपयोग गरिएकोमा दुःखित छौं ।

रंगीबिरंगी हर्कत

एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन भएको पर्सिपल्ट (१७ फागुनमा) आयोजित पत्रकार सम्मेलन गरेर एमसीसीबारे गठबन्धनका दलहरुले रंगीबिरंगी हर्कत देखाएको निष्कर्ष निकालेको छ । ओली नेतृत्वको सरकार ढाल्ने र नयाँ सरकार बनाउने योजना अन्तर्गत एमसीसी प्रयोग गरिएको घटनाक्रमलाई गठबन्धनको रंगीबिरंगी हर्कतको संज्ञा दिइएको छ । गठबन्धनबाट भएको भनिएको ‘रंगीबिरंगी हर्कतलाई’ एमालेले ६ बुँदा प्रस्तुत गरेको छ ।

पहिलो– केपी ओली प्रधानमन्त्रीबाट पदबाट फ्याँकिएपछि अनुमोदन गर्ने ।

दोस्रो– ४/५ महिना पाऊँ, अनि पारित गर्छौ ।

तेस्रो– चुनावपछि पारित गरौंला ।

चौथो– यथास्थितिमा पारित गर्दैनौं ।

पाँचौं– बहिष्कार गरेर सहयोग गर्छौ ।

छैटौं– लाज छोप्ने पातलो र पारदर्शी पर्दा पाऊँ, अनि पारित गर्छौ ।

यी सबै प्रयत्नको निष्कर्ष एउटै भएको भन्दै एमालेले भनेको छ, ‘नेकपा एमालेलाई कमजोर पार्ने र सत्ता टिकाउने ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?