+
+

निर्माता, वितरक र प्रदर्शकको मुहारमा खुसी फर्काएको ‘म यस्तो गीत गाउँछु २’

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १८ गते ११:२३

१८ फागुन, काठमाडौं । मंगलबार महाशिवरात्रीको बिदाको फाइदा उठाउँदै चलचित्र ‘म यस्तो गीत गाउँछु २’ले आक्रामक व्यापार गरेपछि वितरकहरुको मुहारमा खुसी फर्कियो ।

यो चलचित्रमा वितरक करण क्रेजी र एफडी कम्पनीको पनि ठूलै लगानी रहेकाले मंगलबारको व्यापार उनीहरुका लागि विशेष थियो । मंगलबारको व्यापारपछि दंग देखिएका वितरक करण क्रेजीले अब चलचित्रलाई कसैले रोक्न नसक्ने प्रतिक्रिया दिए ।

मंगलबार काठमाडौंको अष्टनारायण, वान सिनेमाज्, कीर्तिपुरको कीर्तिपुर सिनेप्लेक्स, भक्तपुरको क्यूएफएक्स, ललितपुरको गुण सिनेमा हलमा अनलाइनखबरको क्यामेरा पुग्दा हल सञ्चालकहरु दंग देखिएका थिए ।

गुण हलका सञ्चालक भन्दै थिए, ‘नायिका पूजा शर्माको पोई प¥यो कालेमा पनि दर्शकको भीड लागेको थियो । अहिले फेरि चलचित्रले बम्पर व्यापार गरेको छ ।’

गुण हललाई भत्काएर मल्टिप्लेक्स बनाउने तयारीमा यसका सञ्चालक छन् । तर चलचित्र ‘म यस्तो गीत गाउँछु २’को व्यापारले सोच्न बाध्य बनाएको उनले बताए ।

कीर्तिपुर सिनेप्लेक्सका सञ्चालक तथा वितरक नरेन्द्र महर्जनको खुसी भिन्न थियो । केही महिनाअघि मात्र सञ्चालनमा आएको हलमा दर्शक उर्लिएपछि उनी खुसी हुने नै भए । त्यसमाथि काठमाडौैं बाहिर आफ्नैै कम्पनी एफडीले वितरण गरेका कारण पनि उनी सुरक्षित भएकोमा ढुक्क देखिए । अभिनेत्री पूजा शर्माले वितरकको लगानी सुरक्षित भएपछि ढुक्क भएको बताइन् । उनले भनिन्, ‘मलाई आफूले कति कमाउँछु भन्दा पनि वितरकको लगानी सुरक्षित भयो कि भएन भन्नेमा बढी चिन्ता लाग्छ । अब म ढुक्क छु ।’

नरेन्द्रले आफूले चलचित्र हेरेपछि चल्छ भनेर विश्वास गरेको बताउँदै राम्रो चलचित्रलाई दर्शकले सधैं माया गर्ने बताए ।

अष्टनारायण हलमा शनिबारको भन्दा मंगलबारको व्यापार बढी छ । यस्तो अवस्था देशभर नै रहेको वितरकहरुको भनाइ छ । कोरोना महामारीको तेस्रो लहरका कारण थप मारमा परेका निर्माता, वितरक र प्रदर्शकका लागि ‘म यस्तो गीत गाउँछु २’ ‘सञ्जीवनी बुटी’ बनेर आएको छ । हलमा देखिएको दर्शकको भीड लामो समयसम्म देखिने वितरकहरुको दाबी छ ।

सुदर्शन थापाको निर्देशनमा बनेको यो चलचित्रमा पूजा शर्मा, पल शाह, हरिहर शर्मा, दिनेश डीसी लगायतको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?