+
+

भिजिट भिसामा पूर्वस्वीकृति लिनेसम्मको व्यवस्था गर्न सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १८ गते २१:५४

१८ फागुन, काठमाडौं । भिजिट भिसाका कारण सिर्जित समस्या समाधानको उपाय सिफारिस गर्न गठित कार्यदलले भिजिट भिसामा जाने व्यवस्थाबारे विशेष मापदण्ड तथा कार्यविधि बनाउन सुझाव दिएको छ । समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई मंगलबार बुझाएको प्रतिवेदनमा भिजिट भिसामा लैजाने एजेन्सी रसंगठित संस्थालाई सम्बन्धित व्यक्तिहरुप्रति जिम्मेवार बनाउने गरी पूर्वस्वीकृति लिनेसम्मको व्यवस्था गर्न सिफारिस गरिएको छ ।

मुख्यरुपमा यूएई र मलेसियामा काम पाइने आस देखाएर भिजिट भिसामा लगेर अलपत्र पार्ने क्रम बढेको निष्कर्ष निकाल्दै समितिले नयाँ मापदण्डले अप्ठेरोमा परेमा  अध्यागमन विभागबाट पूर्वस्वीकृति लिनसक्ने व्यवस्था गर्न सुझाव दिएको छ ।

विभिन्न संस्थाहरुले लैजाने व्यक्तिहरुबारे ‘स्पोन्सर लेटर’को वैधानिकता र कार्यक्रमहरुबारे सम्बन्धित देशका नेपाली दूतावासहरुसँग अध्यागमनले छलफल गर्नुपर्ने प्रतिवेदनले औंल्याएको छ । ‘भिजिट भिसा लिएर विभिन्न कार्यक्रममा लैजानेले जिम्मेवारी लिनुपर्ने र सम्बन्धित दूतावासबाट सो कार्यक्रमको आधिकारिकता पुष्टि गर्नुपर्ने सुझाव दिएका छौं,’ समितिका एक सदस्यले भने ।

मलेसिया र खाडीमा भिजिट भिसामा जाने महिलाहरुबारे थप संवेदनशील बन्नपपर्ने भन्दै समितिले त्यसका लागि महिलाहरुलाई पनि असहज नहुने र मानव तस्करी पनि निरुत्साहित हुने गरी नेपाली दूतावासहरुबाट पर्याप्त जानकारी लिनुपर्नेसहितका सुझावहरू दिएको छ ।

भिजिट भिसमा पठाउनेले फर्काउने सुनिश्चितता गर्नुपर्ने गरी व्यवस्था गर्न पनि भनिएको छ । त्यसैगरी श्रम स्वीकृतिलाइृ सरल बनाउनेतर्फ पनि ध्यान दिन सुझाव दिइएको छ । धेरैपटक विदेश यात्रा गरेका, सम्बन्धित देशका भाषा र अंग्रेजी जानेका, २ वर्षवा सोभन्दा बढी विदेश बसेकालाई रुपमा जान दिने व्यवस्था गर्नुपर्ने होटल बुकिङ र हवाई टिकटसमेत दुईतर्फी हुनुपर्ने सहितका व्यवस्था अनिवार्य गर्नुपर्ने प्रतिवेदनले सुझाव दिएको छ ।

बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा कार्यदलका संयोजक फणिन्द्रमणि पोखरेलले मन्त्री खाँणलाई प्रतिवेदन बुझाएका हुन् । ११ माघमा गठित कार्यदलले भ्रमण गर्न योग्य व्यक्तिको पहिचान गर्ने आधार र भ्रमण गर्न आवश्यक हुने को आधार के हो ? कसरी छुट्टयाउने भन्ने बारेमा पनि सिफारिस गरेको गृह मन्त्रालयका प्रवक्तासमेत रहेका कार्यदलका संयोजक पोखरेलले बताए ।

यो प्रतिवेदन कार्यविधि बनाएपछि कार्यान्वयनमा आउने उनले बताए । कार्यविधि बनाउन अध्यागमन विभाग, वैदेशिक रोजगार विभाग र सम्वद्ध निकायका प्रतिनिधिहरू सम्मिलित समिति बनाउने उनले जानकारी दिए ।

प्रतिवेदनमा भिजिट भिसासम्बन्धी मौजुदा मापदण्ड तथा कार्यविधिलाई परिमार्जन गरी लागू गर्ने, श्रम स्वीकृति प्रक्रियामा रहेका जटिलता सुधार गरी अधिकतम सरलीकृत, पारदर्शी र छिटो बनाउने, भिजिट भिसामा पठाउँदा सहजीकरण गर्ने व्यक्ति/संस्थाहरूलाई कानुनी दायरामा ल्याई जिम्मेवार बनाउन सुझाव दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?