+
+
Shares

कोरोनापछि विस्तारै लयमा फर्किंदै दोहोरीसाँझ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १९ गते १२:१९

१९ फागुन, काठमाडौं । कोरोना महामारीका कारण थिलोथिलो बनेका दोहोरीसाँझ (रेस्टुरेन्ट)हरु विस्तारै लयमा फर्किंदैछन् । कोरोनाको तेस्रो लहरपछि खुलेका दोहोरीसाँझ यतिबेला विस्तारै पुरानै लयमा फर्किदै गएका हुन् ।

कोरोना महामारीमा सबैभन्दा पहिले बन्द हुने र पछि खुल्ने क्षेत्रमध्येमा रात्रिकालीन व्यवसाय अन्तर्गत दोहोरीसाँझ थियो । तेस्रो लहरको कोरोना संक्रमण कम हुँदै गएसँगै खुलेका दोहोरी साँझहरु विस्तारै लयमा फर्किंदै गएको व्यवसायीहरु बताउँछन् ।

अहिले दोहोरीसाँझको माहोल पहिलेकै अवस्थामा नफर्किएपनि सामान्य बन्दै गएको काठमाडौंको मित्रनगरमा रहेको शान्ति दोहोरीसाँझका सञ्चालक अञ्चल शाहीले बताए । ‘पहिलेकै जस्तो त नभनौं । तर मानिसहरु राम्रै संख्यामा आउनुहुन्छ । अहिले त्यति धेरै असर परिरहेको छैन,’ उनले अनलाइनखबरसँग भने ।

कोरोनाका कारण दोहोरीसाँझ बन्द हुँदा त्यसमा आवद्ध सयौं कलाकारहरु बेरोजगार भएका थिए । उनीहरुले लामो समय फुर्सदमा बिताउनुपरेको थियो । अब भने उनीहरु पहिलेझैं ब्यस्त बन्दै गएका छन् । दरबारमार्गमा रहेको ‘दरबार दोहोरी’मा गाउँदै आएकी गायिका मीरा गिरी कोरोनापछि दोहोरीसाँझको माहोल र आफूहरुको दैनिकी विस्तारै लयमा फर्किंदै गएको बताउँछिन् ।

‘दोहोरीसाँझमा कोरोनाअघिकै जस्तो चहलपहल त फर्किसकेको छैन, तर विस्तारै–विस्तारै माहोल बन्दैछ,’ उनी भन्छिन् । १० वर्षदेखि दोहोरीसाँझमा गाउँदै आएकी गिरी कोरोना महामारीमा जस्तो गाह्रो समय कहिल्यै नआएको बताउँछिन् ।

पटकपटक दोहोरी बन्द हुने र खुल्ने गर्दा धेरै अन्योलता कायम रहेपनि अब भने कोरोनाका कारण त्यस्तो अवस्था नआउनेमा उनको विश्वास छ । कोरोनाले बचत गनुपर्छ, अन्य काम पनि सिक्नुपर्छ जस्ता धेरै कुराहरु सिकाएको समेत उनले बताइन् ।

दोहोरीसाँझ व्यवसायीहरुको छाता संस्था नेपाल राष्ट्रिय लोकदोहोरी व्यवसायी संघका अध्यक्ष विनोद श्रेष्ठले दोहोरीसाँझको माहोल विस्तारै लयमा फर्किंदै गरेको बताए । ‘दोहोरी साँझमा मानिसहरुको चहलपहल पहिलेकै जस्तो चाहिं छैन । ३० प्रतिशतजति कम छ । तैपनि यसलाई राम्रै मान्नुपर्छ,’ उनले भने । काठमाडौंको ठमेलस्थित नगरकोट दोहोरीसाँझका सञ्चालक समेत रहेका श्रेष्ठ आफ्नो दोहोरीसाँझमा पनि मानिसहरुको चहलपहल पहिलेकोको तुलनामा ७० प्रतिशतजति मात्रै रहेको बताउँछन् ।

सरकारले अझैसम्म पनि दोहोरीसाँझलाई सहज रुपमा काम गर्ने वातावरण भने नबनाइदिएको व्यवसायीहरुको गुनासो छ ।  अहिले राति १२ बजेसम्मका लागि दोहोरीसाँझ खोल्ने सरकारको अनुमति छ । दोहोरीसाँझ खोल्ने समयसीमा सहज बनाइदिनुपर्ने उनी बताउँछन् ।

श्रेष्ठका अनुसार देशभर १४५ दोहोरीसाँझ सञ्चालनमा छन् । उपत्यकामा रहेका दोहोरीसाँझको संख्या ११० हाराहारीमा छ । देशभरका दोहोरीसाँझमा १० हजारभन्दा बढीले प्रत्येक रोजगारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?