+
+

नारायणगढ-मुग्लिन खण्डका ३ पुल अझै सुरु भएनन्

सुवास पण्डित सुवास पण्डित
२०७८ फागुन १९ गते १६:२१

१९, फागुन, चितवन । नारायणगढ मुग्लिन सडक फराकिलो भएको झण्डै चार वर्ष भइसक्दा पनि पुलहरु निर्माण भने अझै सकिएको छैन । सडक फराकिलो तर पुल जीर्ण र साँघुरो हुँदा दुर्घटनाको जोखिम अझै छ ।

३६ किलोमिटर लामो नारायणगढ मुग्लिन सडकखण्डमा १९ वटा पुल बनाउनुपर्नेमा चारवट बनिसकेका छन् भने १२ वटा निर्माणको अन्तिम चरणमा छन् । तीनवटाको भने निर्माण नै सुरु भएको छैन ।

२०७६ चैतमा ३३ महिनाभित्र १५ पुल निर्माण सक्ने गरी अनक कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो । मंसिर २०७९ मा सकिने ठेक्का अवधि सकिन करिब आठ महिना बाँकी छँदा तीनवटा पुलको कामै सुरु भएको छैन ।

नारायणगढ– मुग्लिन सडक आयोजना कार्यालयले १५ पुललाई दुई प्याकेजमा विभाजन गरी ठेक्का लगाएको थियो । प्याकेज–१ मा मुग्लिन नजिकका खहरे, किसिञ्जी, तुइन, काली, टोपे, न्याम्सी र रिद्धीखोलाका गरी सात पुल छन् । प्याकेज–२ मा जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान गरी आठ पुल छन् ।

प्याकेज-१ को कुल ठेक्का रकम ६७ करोड ९९ लाख रुपैयाँमध्ये पुलका लागि ५८ करोड ४० लाख रुपैयाँ र बाँकी विजुलीका खम्बा सार्ने, बाटो फराकिलो बनाउने, नदी नियन्त्रणका लागि छुट्ट्याइएको छ ।

प्याकेज–१ अन्तर्गत मुग्लिन नजिकका केही पुलहरु कठिन भूगोल भएका कारण बनाउन समय लाग्ने देखिएको छ । कतिपय ठाउँमा डाइभर्सन बनाउने ठाउँसमेत छैन । मुग्लिनबाट नारायणगढतर्फ आउँदाको पहिलो खहरे पुल, दुई नम्बर किसिन्जी पुल, तीन नम्बरको तुइनखोला पुल सबैभन्दा कठिन ठाउँमा छन् ।

प्याकेज– २ को कुल ठेक्का रकम ५९ करोड पाँच लाख रुपैयाँमध्ये पुलका लागि ४९ करोड ६० लाख रुपैयाँ र बाँकी अरु कामका लागि तोकिएका छन् ।

यो सडक खण्डमा बन्ने पुलहरु २५ देखि ७५ मिटरसम्म लामा छन् । चौडाइ भने सडकसँग मिल्ने गरी ७ मिटरदेखि ११ मिटरसम्मको हुनेछन् । त्यसबाहेक दुवैपट्टी डेढ मिटर फुटपाथका लागि र २५ सेन्टिमिटर रेलिङका लागि छुट्याइएको छ ।

हालका पुलहरू छ मिटर हाराहारी फराकिला छन् । पुल साँघुरो भएका कारण दुर्घटना नहोस् भनेर पुलको दुवै तर्फ ‘रम्बल स्ट्रीप’ राखिएको छ ।

यी पुल विश्व बैंकबाट पछि ऋण प्रवाह हुने गरी नेपाल सरकारको आफ्नै स्रोतबाट निर्माण थालेको हो । विश्व बैंककै ऋणमा नारायणगढ मुग्लिन सडकखण्ड विस्तार गरिएको थियो ।

रकमको अभाव

निर्माणाधीन अवस्थामा रहेका पुलका लागि बजेट अभाव भएको आयोजनाका लेखा अधिकृत धर्मभक्त बस्यालले जानकारी दिए । ‘चालु वर्षमा १५ पुलका लागि १५ करोड रकम विनियोजन भएको छ, त्यतिले पुगेको छैन, सबै प्रकारका खर्च त्यही पैसाबाट गर्न भनिएको छ’ लेखा अधिृकत बस्यालले भने, ‘ठेकेदारले समयमा नै रकम नपाउँदा कामसमेत प्रभावित बनेको छ ।’

आयोजनाका इन्जिनियर कृष्ण आचार्यले निर्माण अन्तिम चरणमा रहेका पुल पनि नजिकै रहेका घरटहरा भत्काउन मुआब्जा वितरण गर्न बजेट अभाव भएको बताए । ‘आठवटा पुल लगभग तयार भएका छन्, एउटा पुलको आज ढलान भइरहेको छ, पुलको बार लगाउन खासै समय लाग्दैन’ इन्जिनियर आचार्यले भने, ‘मुआब्जा नटुंगिदा समस्या भएको छ ।’

मुआब्जाका लागि करिब एक करोड दस लाख रूपैयाँ चाहिने अनुमान गरी अर्थ मन्त्रालयमा पत्र पठाइएको आचार्यले बताए ।

जुगेडी पुल बनाउन नेताको अवरोध !

प्याकेज–२ अन्तर्गत जुगेडी खोलामा पुल बनाउन एकीकृत समाजवादीका केन्द्रीय सचिव केशवलाल श्रेष्ठले अवरोध गरेको कतिपय स्थानीय वासिन्दाको आरोप छ ।

अहिले भइरहेको पुलबाट उत्तरतर्फ बन्ने नयाँ पुलले आफूहरूको जग्गा जमिन र उद्योग खतरामा पर्ने भन्दै श्रेष्ठले पुल निर्माणको काममा अवरोध गरेका उनीहरुको दावी छ ।

सडक आयोजनाका इन्जिनियर आचार्यले पनि जुगेडी पुलमा केही विवाद रहेको बताए । ‘हामीले उहाँहरुसँग बसेर विवाद मिलाउन खोजिरहेका छौं, तर अझै कुरा मिलेको छैन’ उनले भने, ‘सडकले लिखित प्रतिवद्धता गर्नपर्छ भन्ने उहाँहरुको माग छ ।’

उनले केही दिनभित्र नै देखिएको समस्या समाधान गरेर अगाडि बढ्न सकिने बताए । पुल निर्माण हुने भरतपुर महानगरपालिका वडा नं. २९ का वडाध्यक्ष मानबहादुर मगरले कुनै पनि वहानामा पुलको काम रोकिन नहुने बताए ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?