
१९ फागुन, काठमाडौं। त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले ‘समान कामको समान ज्याला’को माग गर्दै आंगिक क्याम्पसहरुमा तालाबन्दी गरेका छन् ।
त्रिविका ६२ वटा आंगिक क्याम्पसमध्ये बिहीबारसम्म ६० वटामा तालाबन्दी गरिसकेका छन् । आंशिक प्राध्यापकहरुले समान कामको समान ज्याला माग गर्दै गत माघ २३ गतेदेखि त्रिविको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए ।
आंशिक प्राध्यापकहरुले त्रिविले १७ वर्षदेखि देशभरका २ हजार दुई सय आंशिक प्राध्यापकलाई अन्याय, विभेद, बौद्धिक श्रम शोषण गरिरहेको आरोप लगाएका छन् । चार हजार ५०० सेवा निवृत्त प्राध्यापकहरुको कक्षाभारसहित त्रिभुवन विश्वविद्यालयको करिब ६५ प्रतिशत कक्षाभार १७ वर्षदेखि आंशिक प्राध्यापकहरुले धान्दै आइरहेको उनीहरुको भनाइ छ ।
श्रम ऐन २०७४ को धारा ७ ले समान कामको समान ज्याला अधिकार र संविधानको धारा ३४ ले श्रम गरे बापत उचित ज्याला पाउने अधिकार सुनिश्चत गरेपनि त्रिविले भने बौद्धिक श्रम शोषण गरिरहेको आंशिक प्राध्यापकको भनाइ छ ।
त्रिवि नेतृत्वले वार्ता, संवादबाट भागेर समस्या समाधान गर्ने भन्दा पनि सीमित व्यक्तिहरुको स्वार्थपूर्तिका लागि आंशिक प्राध्यापकहरुबीच फुट ल्याउन प्रयास गर्ने आंशिक प्राध्यापकलाई झुक्याउनको लागि पटके योजना रणनीति बनाउने, वक्तत्वबाजी गरेर भ्रम सिर्जना गरेको आंशिक प्राध्यापकले बताएका छन् ।
समान कामको समान ज्यालाको माग सम्बोधन नभएसम्म तालाबन्दी नखोल्ने उनीहरुको अडान छ ।
प्रतिक्रिया 4