+
+

देव गुरुङ भन्छन्- पार्टी एकतामा शंका नगरे हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २० गते १७:४१

२० फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको शुक्रबारको बैठक सकिएको छ ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दा नेता देव गुरुङले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले पार्टी एकताको विकल्प नरहेको बताएको जानकारी दिए । शुक्रबारको बैठकमा नेताद्वय प्रचण्ड र श्रेष्ठ मात्रै बोलेका थिए ।

‘मतभेदहरूमाथि छलफल र व्यवस्थापन गरिनुपर्छ । पार्टी एकताको विकल्प छैन । यही कुरा प्रचण्ड कमरेड र नारायणकाजी श्रेष्ठ कमरेडले राख्नुभयो’ नेता गुरुङले पत्रकारहरूसँग भने, ‘नेताद्वयको भनाइले फरम मत भए छलफल हुन्छ । एकतामा शंका नगरे हुन्छ भन्ने संदेश दिएको छ ।’

दुवै नेताले पार्टी कमिटीलाई दरिलो बनाएर आगामी स्थानीय तहको चुनावमा केन्द्रीत हुनुपर्ने धारणा राखेको उनले बताए ।

नेता नारायणकाजी श्रेष्ठले आफूलाई अध्यक्ष प्रचण्डले पार्टी छोड् भनेको भनी टिप्पणी गरेका थिए । तर, प्रचण्डले आफ्नो मनसाय त्यस्तो नरहेको बताएको नेता गुरुङले जानकारी दिए । ‘पत्रकारले सोधेपछि मैले इरिटेड हुँदा त्यो बोले । त्यसबारे समीक्षा गरौं’ नारायाणकाजीबारे आफैंले दिएको अभिव्यक्तिबारे प्रचण्डले दिएको प्रष्टीकरण उध्दृत गर्दै नेता गुरुङले भने ।

एमसीसीबारे फरक मत

अधयक्ष प्रचण्डले केन्द्रीय समितिको बैठकमा अमेरिकी सहयोग सम्बन्धी परियोजना एमसीसी अनुमोदनलाई स्वीकार गरेर चुनाव केन्द्रित हुने प्रस्ताव गरेका थिए । तर, नेता नारायणकाजी सहितका नेताहरूले फरक मत राखेका छन् ।

सुरुमा प्रचण्डले एमसीसी संशोधन पनि नहुने र जस्ताको तस्तै पारित पनि हुन नदिनका लागि बीचको बाटो रोज्नु परेको बताए । ‘एमसीसी सम्झौता गर्दा नै ध्यान दिनुपर्ने थियो । सम्झौता भएपछि पनि पार्टीले संशोधनको अडान राख्दै आएको थियो । तर, जस्ताको तस्तै पारित गर्ने प्रयास भएपछि बीचको बाटो संशोधन पनि नहुने र जस्ताको तस्तै पनि नजाने बाटो रोजिएको हो’ प्रचण्डको प्रष्टीकरण थियो ।

तर, नारायणकाजी श्रेण्ठले महाधिवेशनले नै जस्ताको तस्तै एमसीसी पास नगर्ने भनी गरेको घोषणा बिपरित नेतृत्वको पार्टीभित्र बृहत छलफल नै नगरी एमसीसी अनुमोदनका लागि हतारो गरेको टिप्पणी गरे ।

उनले भनेका छन्, ‘एमसीसी राष्ट्रहित प्रतिकुल छ । पार्टी महाधिवेशनको एउटा म्यान्डेड हुँदा हुँदै नेतृत्वल पास गर्न हतारो गर्‍यो । यसबारे समीक्षा हुनुपर्छ ।’ नेता श्रेष्ठले यति भनेर आफ्नो फरक मत दर्ज गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?