+
+

युक्रेन र राष्ट्रियता

अमूक देशको घृणा आफ्नो देशको मायाभन्दा बढी हुनुहुँदैन । नजिकैको छिमेकीलाई चिढ्याएर टाढाका पाहुना रिझाउन खोज्दा के हुन्छ ? आफ्नो भौगोलिक क्षेत्रको राजनीति बुझ्न नसक्दा के हुन्छ ?

डा. विनोद ढकाल डा. विनोद ढकाल
२०७८ फागुन २१ गते १७:५४

यो हप्ता संसारमा एउटा विषयले तूफानै ल्याइदियो । युक्रेनका राष्ट्रपतिको कारुणिक अनुहार हामीले सञ्चारमाध्यममा बारम्बार देख्न/सुन्न पायौं ।

युक्रेनका राष्ट्रपतिको साहस र अठोटले संसारभरका मानिसको मन जितेको छ । उनको निन्याउरो अनुहार हेरेर हर कोही दुःखी छन् । उनको सहयोग याचनामा हर कोही नमिठोपना महसुस गर्छन् । उनको चिन्ता आफ्नो देशका हरेक नागरिकप्रति छ । आफ्नो देशप्रति छ । आफ्नो देशको इतिहासप्रति छ । आफ्नो इतिहासप्रति छ ।

तर के उनले देखेको भोगेको राष्ट्रियता, राष्ट्र प्रेम, जनताप्रतिको अभिभावकत्व साँच्चै त्यस्तो महत्वपूर्ण छ, जति हामी सोचिरहेका छौं । के उनी सफल नेता हुन् त ?

यसो भनिरहँदा अहिलेसम्मकै उत्कृष्ट फुटबलका डिफेन्डरमध्येका एक डिफेन्डर फाबियो क्यानाभारोको एक भनाइ सम्झना आउँछ । उनी भन्थे, ‘इफ आइ ह्याव टू मेक अ ट्याकल देन आइ ह्याभ अलरेडि मेड यान इरर ।’

अर्थात् समस्या आउनु भन्दा आउनु पूर्व नै समाधान खोजिनु बुद्धिमानी हो । यस मामलामा युक्रेनका राष्ट्रपतिको सुझबुझपना नदेखिएको मान्नुपर्छ ।

डा. विनोद ढकाल

हामीलाई थाहै छ– युक्रेनको भौगोलिक अवस्थिति रूस जस्तो शक्ति राष्ट्रको छेउमा छ । उसको भाषा, भूगोल र सभ्यता रूससँग मिल्छ । ऊ सोभियत संघको अंग थियो । कतिपयको भनाइ छ, रूस देशको जरोकिलो युक्रेनसँग जोडिएको छ । सबै कुरा रूससँग मिल्छ अनि रूसलाई नै चिढ्याउने मनोवृत्ति भयो भने के हुन्छ भन्ने परिणाम हो, यो ।

ठूलो माछाले सानो माछालाई सधैं खान्छ नै । हामीलाई जति नराम्रो लागे पनि यो कटु यथार्थ हो । फेरि भ्लादिमिर पुटिन जस्तो महत्वाकांक्षी राष्ट्रपति भएको शक्ति राष्ट्रसँग जोरी खोज्नु कत्तिको बुद्धिमानी हुन्छ ?

रूसलाई चिढ्याएर युक्रेन नेटोमा गाभिन इच्छुक हुन्छ । रूसलाई एक प्रकारले धम्की दिन्छ । यूरोपियन यूनियनमा समावेश हुन चाहन्छ । रूसको क्रिमिया प्रान्तलाई चाहिने पर्याप्त पानी पनि दिंदैन । यी कुराहरूमा रूस सधैं रुष्ट छ ।

युक्रेनका राष्ट्रपतिले बुझ्नुपर्ने कुरा थियो । सबैले आफ्नै स्वार्थ हेर्ने हो । संसारमा कुनै कुरा स्वार्थरहित र निःशुल्क छैन । सबै कुराको मूल्य कुनै न कुनै तरिकाले तिर्नुपर्छ नै ।

जब वास्तविक समस्या आयो तब युक्रेनलाई सहयोग गर्ने कोही भएनन् । कतिपय शक्ति राष्ट्रहरूले युक्रेनलाई प्रयोग गरेर रूसमा खेल्न सकिन्छ कि भनेर युक्रेनलाई उक्साइरहेका थिए । यो आज आएर छर्लङ्ग भएको छ । यस्तो सामान्य चाल युक्रेनले नबुझ्नु उनीहरूकै लागि दुर्भाग्य भयो ।

लोकरिझ्याइँवादी नारा लगाएर जनतालाई तताउन सजिलो छ । राम्रो नेताले तत्कालको समयसँग जोरी खोजेर देश र समाजको बृहत्तर हितको बारे सोच्नुपर्छ । त्यसै अनुसारको कार्य गर्नुपर्छ । हो, देश चाहिन्छ तर कति हदसम्म त ?

अमूक देशको घृणा आफ्नो देशको मायाभन्दा बढी हुनुहुँदैन । कि सर्वशक्तिमान राज्य हुनु पर्‍यो । अमेरिका, रूस र चीनका लगि यो भावनाले फाइदा पुर्‍याउन सक्ला ।

उनीहरूलाई खासै मतलब पनि छैन । तर साना र कम शक्तिशाली देशहरूका लागि यस्तो भावनाले तत्कालका लागि फाइदा होला तर कालान्तरमा फाइदा हुने देखिंदैन । युक्रेनमा रूस विरोधी भावनालाई मलजल हालेर राष्ट्रपति बन्न सजिलै होला । तर त्यसलाई पार लगाउन मुश्किल छ भन्ने कुरा अहिले पुष्टि हुँदैन ।

हो, युक्रेनका राष्ट्रपतिमा राष्ट्रका लागि ज्यानै दिने समर्पण छ । त्यो समर्पण आफ्ना सैनिक र नागरिकमा पाउनका लागि हरेक शासकहरू मर्न तयार छन् । तर के उनको समर्पण युद्धको विष भन्दा महान् छ त ?

नजिकैको छिमेकीलाई चिढ्याएर टाढाका पाहुना रिझाउन खोज्दा के हुन्छ ? आफ्नो भौगोलिक क्षेत्रको राजनीति बुझ्न नसक्दा के हुन्छ ? आफ्नो स्वाभिमान र स्वतन्त्रताको सुझबुझपूर्ण उपयोग गर्न नसक्दा के हुन्छ ? हामीले देखिरहेका छौं ।

नेपालले यस विषयबाट के शिक्षा लिन सक्छ त ? नेपालमा पनि भारतपरस्त भनेर गाली गर्ने धेरै छौं । भारत आफैं पनि गनगने राजनीति गर्ने भएकाले हामीलाई मन नपर्नु स्वाभाविक पनि हो तर हामीले बुझ्नुपर्छ हाम्रो भाषा, कला, संस्कृति र पहिचानमा भारतसँग केही समानता छ ।

हो, ऊ शक्तिशाली भएकाले हामीमा हावी छ । संयुक्त परिवारमा, छिमेकमा दाइ सधैं घरमूली या टाठोबाठो हुन्छ भन्ने छैन । कतिपय परिवारमा दाइभन्दा भाइ घरमूली भएर परिवार चलाएको हामीले देखेकै छौं । यहाँ पनि नेपाल उमेरले जेठो भए पनि अहिलेको मानचित्रमा भारत यो क्षेत्रमा घरमूली जस्तो बनेको छ ।

ऊ कहिलेकाहीं आफ्नो दायित्वबाट भड्किएको पनि छ । उसले बुझ्नुपर्छ । बुझ्दै पनि छ । बुझेर पनि आफ्नो दायित्व निभाउन नसकेको आभास हुन्छ तर कुनै दिन ऊ दम्भबाट बाहिर निस्कनुपर्छ ।

हामीले विशाल छिमेकीहरूसँग सन्तुलित र विवेकपूर्ण व्यवहार गर्नुपर्छ । संसारबाट सिक्नुपर्छ । भौगोलिक अवस्थितिको संवेदनशीलता बुझ्नुपर्छ । हात्तीलाई डराएर धम्काएर नियन्त्रणमा लिन सकिन्न । हात्तीलाई कन्याएर बसाउन सकिन्छ ।

(लेखक धुलिखेल अस्पतालमा कार्यरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?