+

स्पोर्टस् अवार्डमा पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

२०७८ फागुन  २२ गते १५:२४ २०७८ फागुन २२ गते १५:२४
स्पोर्टस् अवार्डमा पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

२२ फागुन, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने १८औं पल्सर स्पोर्ट्स अवार्डको लागि पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भएको छ ।

एनएसएफले सोमबार एक कार्यक्रमका बीच मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो । जसमा एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी एन्जिला तुम्बापो सुब्बा, टेबल टेनिसकी एलिना महर्जन, क्रिकेटका कुशल भुर्तेल र ब्याडमिन्टनका प्रिन्स दाहाल रहेका छन् ।

कोरोना महामारीका कारण गत वर्ष खेलकुद गतिविधि उल्लेख्य मात्रामा हुन सकेन । त्यसैले यस पटक विगत संस्करणभन्दा अलि भिन्न रूपमा हुन लागेको अवार्ड समारोह दशक अवार्डको रुपमा हुँदैछ ।

तर पिपल्स च्वाइज अवार्ड भने विगतकै वर्षजस्तो हुने एनएसजेएफले जनाएको छ । ‘पिपल्स च्वाइस विधा भने यथावत् ढंगले नै हुनेछ । अवार्डको सुरुवाती केही संस्करणपछि नेपाली खेलाडीलाई फरक ढंगले सम्मान गर्नका लागि हामीले यो विधा राखेका हौं’ एनएसजेएफले विज्ञप्तिमा भनेको छ ।

समर्थक, खेल पत्रकार र राष्ट्रिय प्रशिक्षकको मतका आधारमा पिपल्स च्वाइस विधाका विजेताको चयन हुनेछन् । गत वर्षजस्तै भोटिङका लागि यस वर्ष पनि एनएसजेएफले ई–सेवासँग सम्झौता गरिसकेको छ ।

पिपल्स च्वाइस विधामा इसेवाबाट आएका मतको मतभार ५० प्रतिशत रहनेछ भने सामाजिक सञ्जाल फेसबुक लाइकको मतभार २५ प्रतिशत हुनेछ । यस्तै राष्ट्रिय प्रशिक्षक र खेलपत्रकारको मतभार समान १२ दशमलब ५ प्रतिशत हुनेछ ।

यस वर्ष पिपल्स च्वाइज विधासंगै सर्वोत्कृष्ट दशक पुरुष खेलाडी, सर्वोत्कृष्ट दशक महिला खेलाडी, सर्वोत्कृष्ट दशक प्रशिक्षक, पारा एथलेट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड प्रदान गरिनेछ । दशक अवार्ड भएकोले यस पटक युवा विधा हटाइएको छ ।

अवार्ड कार्यक्रम आगामी ८ चैतमा प्रज्ञा भवन कमलादीमा हुनेछ ।

दशक खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस गरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई जनही५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।

पिपल्स च्वाइस विधाको मनोनयमा परेका ५ खेलाडी र उनीहरुको विशेषता हेर्नुहोस्

१. सन्तोषी श्रेष्ठ– एथलेटिक्स

– मध्यम दुरीको दौडमा अब्बल

– १३ औं सागदेखि पछिल्लो २०७८ को प्रधान सेनापति हाफ म्याराथनसम्म भाग लिएको ९ वटै प्रतियोगिता स्वर्ण

– हाफ म्याराथनमा पहिलो स्वर्ण (नेपालगञ्ज हाफ म्याराथन २०७८), १ घण्टा १८ मिनेट ४८ सेकेन्डमा पूरा ।

– १३औं सागमा १० हजार मिटरकी स्वर्णधारी उनी गोल्डेन स्प्रिन्ट मिटका उत्कृष्ट खेलाडी (फागुन २०७७) ।

– गणेशमान सिंह स्मृति १० के रोड रेस (२०७७) मा च्याम्पियन । ३७ मिनेट ५३:४४ सेकेन्डको कीर्तिमान भंग ।

२. एञ्जिला तुम्बापो सुब्बा– फुटबल

– राष्ट्रिय महिला फुटबल टिमकी पहिलो रोजाइकी गोलकिपर ।

– २०७७ साल फागुनमा सम्पन्न राष्ट्रिय महिला लिग विजेता एपीएफ क्लबकी सदस्य ।

– राष्ट्रिय लिगको १२ खेलमा जम्मा १ गोलमात्र बेहोरेको ।

– पाकिस्तानी राष्ट्रिय लिग च्याम्पियनसिपमा मासा युनाइटेडको कप्तान ।

३. एलिना मर्हजन– टेबलटेनिस

– नेपाली टेबलटेनिसमा दोस्रो वरियतासम्म पुगेकी खेलाडी ।

– सागमा लगातार दुई पदक (१२ र १३ औं दक्षिण एसियाली खेलकुदको महिला टिम इभेन्टमा कांस्य पदक जित्न सफल)।

– खेलाडीमात्र नभई प्रशिक्षकमा सक्रिय (स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीबाट टेबलटेनिसको नयाँ प्रतिभा उत्पादनमा सक्रिय) ।

– सामाजिक कार्यमा पनि क्रियाशील (१३ औं सागबाट प्राप्त पुरस्कारको आधा रकम कोरोना प्रभावित परिवारलाई खाद्यान्नलगायत सहयोग) ।

– टेबलटेनिस परिवारमा हुर्केकी खेलाडी (दाइ राकेश महर्जन, बहिनी इरिका महर्जन, भाउजु नविता श्रेष्ठ सबै राष्ट्रिय खेलाडी) ।

४. कुशल भुर्तेल– क्रिकेट

– डेब्युमै अब्बल प्रर्दशन ।

– नेपाली क्रिकेटले आशा गरेका प्रतिभावान खेलाडी ।

– ११ वटा ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा एक शतक, पाँच अर्धशतकसहित कुल ४ सय ९८ रन बनाउन सफल ।

– ६ एकदिवसीय अन्तर्राष्ट्रियमा एक अर्धशतकसहित एक सय ४४ रन ।

– घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबका भरपर्दा ओपनर ।

– आईसीसी टी–२० वरीयतामा ३१ औं स्थानमा । नेपाली खेलाडीको अहिलेसम्मकै उत्कृष्ट वरियता ।

५. प्रिन्स दाहाल– ब्याडमिन्टन

– विश्व ब्याडमिन्टन जुनियर वरियताका नम्बर वान ।

– घरेलु ब्याडमिन्टनमा पनि दबदबा (सिन्धुपाल्चोकमा तोप–२१ राष्ट्रिय ब्याडमिन्टनको सिनियरतर्फ रत्नजित तामाङलाई हराउन सफल) ।

– पुष्पलाल स्मृति र्‍याङ्किङ राष्ट्रिय ब्याडमिन्टनमा सिनियरतर्फ लगातार दुई उपाधि ।

– साइनो कप राष्ट्रिय ब्याडमिन्टनमा च्याम्पियन ।

– इन्डिया इन्टरनेसनल च्यालेन्जमा सिनियरतर्फ सहभागिता ।

– वरियतामा सातौं, तेस्रो हुँदै नम्बर एक । २०२४ ओलम्पिक प्रोजेक्टका लागि छनोट नेपाली खेलाडी ।

खेलकुद पल्सर स्पोर्टस् अवार्ड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय