+
+

आईएसएलमा अनन्तले खोलेको ढोका

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ फागुन २२ गते १४:५७

२२ फागुन, काठमाडौं । राष्ट्रिय फुटबल टोलीका स्टार डिफेण्डर अनन्त तामाङले इण्डियन सुपर लिग (आईएसएल)को यो सिजन इस्ट बंगालको टोलीबाट खेलेर इतिहास रचे ।

२४ वर्षीय अनन्तले इष्ट बंगालका लागि सिजनको अन्तिम खेलमा डेब्यू गरे र पूरा समय खेले । उक्त खेलमा बंगाल टिम भारतीय कप्तान सुनील क्षेत्री रहेको क्लब बैंगलुरुसँग १–० ले पराजित रह्यो ।

‘पहिलो पटक खेल्दा राम्रै अनुभव रह्यो । छोटो समयका लागि आएको थिएँ । टिमबाट राम्रो प्रतिक्रिया पाएँ । टिमबाट पनि राम्रो साथ पाए,’ अनन्तले अनलाइनखबरसँग भने, ‘१० दिन प्रशिक्षण गर्न पाएँ । यो अवधिमा टिमले जुन रेस्पोन्स दियो त्यो राम्रो रह्यो । टिमको वातावरण राम्रो थियो ।’

राष्ट्रिय टोलीकै रोहित चन्दले इण्डोनेसियाको लिगा वान र कप्तान तथा गोलरक्षक किरण चेम्जोङले भारतकै आई लिगमा व्यवसायिक फुटबल खेलिरहेका छन् । विदेशी लिग खेल्ने अनन्त वर्तमान राष्ट्रिय टोलीका तेस्रा खेलाडी हुन् ।

आईएसएलमा पहिलो खेल भएकाले अनन्तका लागि यो अनुभव लिने अवसर रह्यो । अनन्तकै गल्तीमा बैंगलुरुका कप्तान सुनील क्षेत्रीले २४औं मिनेटमा गोल गरेका थिए । खेलपछि बंगालका प्रशिक्षक मारियो रिभेराले अनन्तको प्रदर्शनप्रति सन्तुष्टि व्यक्त गरे ।

यो सिजन लिगको अन्तिम दुई खेल बाँकी रहँदा अनन्त इष्ट बंगालमा आवद्ध भएका थिए । नियमित डिफेण्डर टोमिसलाभ एमचेला अष्ट्रेलिया फर्केपछि प्रशिक्षक मारियो रिभेराले अनन्तलाई अनुबन्ध गरेका थिए । तर उनले अघिल्लो खेल पनि खेल्न पाएनन् र एक खेल खेलेपछि नै सिजन सकियो । ‘नेपाली खेलाडीको लागि पनि आईएसएल प्रवेशको ढोका खुलेको जस्तो लाग्छ,’ अनन्तले भने ।

रोहित चन्द, अनिल गुरुङ, किरण चेम्जोङ, विमल घर्तीमगर, अभिषेक रिजाल र प्रकाश बुढाथोकीलगायतले भारतकै आई लिग खेलिसकेका छन् । किरणले मिनेर्भा पञ्जाबबाट खेल्दै लिग उपाधि समेत जिते । करिव एक दशकको इतिहास बन्न लागेको आईएसएलमा भने यसअघि कुनै नेपाली खेलाडीले खेलेका थिएनन् ।

अनन्त दक्षिण एसियाबाटै आईएसएल खेल्ने तेस्रो खेलाडी हुन् । यसअघि बंगलादेशमा मोमुनुल इस्लामले २०१४ मा एट्लेटिको डी कोलकताबाट खेलेका थिए । भुटानका चेञ्चो ग्याल्तसेनले भने अहिले केराला ब्लास्टर्सबाट खेलिरहेका छन् । चेञ्चोले यसअघि बेंगलुरुबाट खेलेका थिए ।

विश्वकै चर्चित खेलाडीले समेत खेलिसकेका आईएसएलमा विशेष गरी ब्राजिल, स्पेन, अर्जेन्टिना, इंग्ल्याण्ड, नाइजेरिया, सेनेगल, नेदरल्याण्ड्सबाट धेरै खेलाडीहरु छन् । आईएसएलमा एक टिमले ६ जनासम्म विदेशी खेलाडी राख्न पाउनेछन् । जसमा एक खेलाडी एसिया कोटाका हुनेछन् । त्यसमा पनि अधिकांश टिमले अष्ट्रेलियाका खेलाडी राख्दै आएका छन् ।

नेपाली खेलाडीले राम्रा एजेन्ट पाएमा आईएसएलको यात्रा तय गर्न सक्छन् भन्ने अनन्तले प्रमाणित गरेका छन् । थ्रीस्टारबाट सुरुवाती केही खेल खेलेपछि चोटका कारण धेरै खेल गुमाएका अनन्तले आईएसएलको अवसर आउँदा क्लब बाधक बनेन ।

यस सिजन खराब प्रदर्शन गरेको इस्ट बंगाल २० मध्ये १ जितसहित ११ अंक जोडेर लिगको अन्तिममा रह्यो । अनन्तका अनुसार बंगालमा अहिलेकै प्रशिक्षक निरन्तर रहेमा उनले अर्को सिजन पनि खेल्न पाउने सम्भावना प्रवल छ । ‘उहाँ नै रहनुभयो भने अर्को सिजन पनि खेल्न पाउँछु होला । तर अर्को प्रशिक्षक आए भने गाह्रो हुन्छ’ उनले भने । अनन्त मंगलबार नेपाल फर्कँदैछन् ।

एनएसएलमा राम्रो गर्ने आशा

त्यसपछि आगामी चैत अन्तिमदेखि हुने आईएसएल शैलीको नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणका लागि तयारी सुरु गर्ने उनले बताए । चोटका कारण वैशाख–जेठमा भएको पहिलो संस्करणको एनएसएल गुमाएका अनन्त यस पटक भने खेल्नका लागि उत्साहित छन् । अनन्तलाई यस पटक एफसी चितवनले मार्की प्लेयरमा अनुबन्ध गरेको छ ।

‘अब नेपाल आएपछि एनएसलको तयारीमा लाग्नुपर्छ । चोटले गर्दा गत संस्करण खेल्न पाइनँ । यसपल्ट राम्रो गर्ने प्रयासमा हुनेछु,’ उनले थपे, ‘टिमलाई लिएर एउटा जिम्मेवारी पनि छ । अझै अघि बढ्नु छ । राम्रो नतिजाका लागि कडा मिहिनेत गर्नुपर्छ ।’

पहिलो संस्करणको एनएसएलमा चितवन जितविहीन रहँदै ७ टिममध्ये पूछारमा रहेको थियो । यसपटक राम्रो नतिजा ल्याउने लक्ष्यसहित चितवनले अनन्तलाई अनुबन्ध गरेको हो ।

चितवनले यसपल्ट अघिल्लो संस्करणको उपविजेता धनगढीका प्रशिक्षक फुजा तोपेलाई भित्र्याएको छ । फुजाको प्रशिक्षणमा ए डिभिजन लिगको यो सिजन मनाङ मस्र्याङ्दी पाँचौं भएको थियो ।

अनन्तले फुजा राम्रो प्रशिक्षक रहेको र उनीसँग खेल्दा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘उहाँ राम्रो प्रशिक्षक हुनुहुन्छ । फरक ठाउँमा आफूलाई प्रमाणित पनि गरिसक्नुभएको छ,’ अनन्तले भने, ‘उहाँको प्रशिक्षणमा खेल्दा धेरै नै सहयोग पुग्छ ।’

उमेर समूहको राष्ट्रिय टिममा साफ च्याम्पियनसिप उपाधि जितेका झापाका अनन्तले सुदूरपश्चिम टिमबाट राष्ट्रिय लिग खेल्दै घरेलु फुटबलमा सिनियर करिअरको सुरुवात गरेका थिए । त्यसपछि उनले थ्रीस्टार क्लबबाट घरेलु फुटबल खेल्दै आएका छन् । अनन्तले स्पेनको मार्बेला युनाइटेडमा पनि प्रशिक्षण गरेका थिए ।

अनन्त सम्मिलित नेपाली यू–१९ टिमले सन् २०१५ मा घरेलु भूमिमा भएको साफ यू–१९ च्याम्पियनसिप जितेको थियो । फाइनलमा कार्यवाहक कप्तानको रुपमा उनले भारतविरुद्ध निर्णायक पेनाल्टी प्रहार गर्दै गोल गरेका थिए ।

सन् २०१६ को बंगबन्धु गोल्डकप, त्यही वर्ष भएको १२ औं दक्षिण एसियाली खेलकुद र सोलिडारिटी कपमा उनी टोलीका महत्वपूर्ण सदस्य थिए । सन् २०१९ मा घरेलु भूमिमा भएको १३औं दक्षिण एसियाली खेलकुदको स्वर्ण जित्दा पनि अनन्तको भूमिका निर्णायक थियो ।

२०७७ चैतमा नेपालले थ्री नेसन्स कपको उपाधि जित्दा पनि अनन्त टिममा सामेल थिए । गएको असोजमा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बन्दा पनि अनन्तले सबै खेल खेलेका थिए ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?