२२ फागुन, काठमाडौं । २ माघ २०७२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पबाट क्षतिग्रस्त भएको काठमाडौंको ‘रानीपोखरी’ शिलान्यास गरिरहँदा भक्तपुरको ऐतिहासिक ‘रानीपोखरी’ सेनाको काँडेतारभित्र थियो ।
काठमाडौंको रानीपोखरीभन्दा करिब ४० वर्ष पुरानो भएपनि सर्वसाधारणको पहुँचमा नभएकाले धेरैलाई भक्तपुरको रानीपोखरीबारे अत्तोपत्तो थिएन ।
सैन्य गस्ती हुने इलाकाभित्र रहेको रानीपोखरी पुनर्निर्माणबारे सरकारको मात्रै होइन, भक्तपुर नगरपालिकालाई पनि चासो थिएन । भक्तपुरकै बुढापाकाबाहेक धेरैलाई रानीपोखरी कस्तो छ भन्ने जानकारी थिएन । तर ३७ वर्ष नेपाली सेनाको नियन्त्रित क्षेत्रभित्र रहेको रानीपोखरी पुनर्निर्माण सकेर गत मंगलबारदेखि सर्वसाधारणका लागि खुला भइसकेको छ ।
दुई वर्ष नौ महिनामा पुनर्निर्माण सकिएको रानीपोखरी तत्कालीन राजा जगज्र्याेति मल्लले शहरी सुन्दरता र पानी सञ्चयका लागि बनाएको शिलालेखमा उल्लेख छ । पोखरीको छेवैमा रहेको शिलालेखमा पोखरी बनाउनुको कारण र त्यसको महत्वबारे समेत वर्णन गरिएको छ ।
यति महत्वपूर्ण पोखरी लामो समयसम्म सेनाको सुरक्षा घेराभित्र रह्यो । माओवादी सशस्त्र युद्ध लगायतका कारण धेरैले प्रश्न पनि उठाएनन् । २०६२/६३ को जनआन्दोलनसँगै गणतन्त्र घोषणापछि भक्तपुरमा यसबारे चर्चा त भयो, तर सेनासँग हक माग्न जाने आँट कसैले गरेनन् ।
२०७४ को स्थानीय तहको चुनावबाट जनप्रतिनिधि आएपछि भक्तपुर नगरपालिकाले त्यो आँट गर्यो । स्थानीयको जागरणका कारण नेपाली सेनाले पनि आफूले नियन्त्रणमा राखेको सो रानीपोखरी क्षेत्र छाड्न सहमत भयो ।
कसरी हट्यो सेनाको काँडेतार ?
भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरुका अनुसार रानीपोखरी सेनाबाट फिर्ता ल्याउन निकै मिहिनेत गर्नुपरेको थियो । पोखरीको भोगाधिकार लिनका लागि सेनाको स्वीकृति लिन नगरपालिकाले पटक–पटक छलफल र दबाबमूलक कामहरु गर्नुपरेको थियो ।
स्थानीयका अनुसार वि.सं. २०४० सम्म यो रानीपोखरी सर्वसाधारणका लागि खुला थियो । २०३४ सालमा स्थापना भएको सैनिक महाविद्यालयले सुरक्षाको कारण देखाउँदै ५० को दशकबाट रानीपोखरीलाई तारबार गर्यो । सेनाको नियन्त्रणमा रहँदा रानीपोखरीको जग्गाको संरक्षण त भयो, तर पोखरीको अस्तित्व लगभग मेटियो । ऐतिहासिक पोखरी र वरपरका क्षेत्र झाडीले ढाकिएर रह्यो ।

रानीपोखरी वर्षमा जम्मा २ दिन प्रजापतिहरुको देवाली पूजाका लागि मात्रै खुल्थ्यो । बीचका २/३ वर्षमा त देवाली पूजामा पनि अवरोध भएको भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति सुनाउँछन् । प्रजापतिका अनुसार उनकै पुस्ताका लागि समेत रानीपोखरी नौलो विषय थियो । त्यसपछि कुल पूजाको अवसरमा आफूले देखेको पोखरी सर्वसाधारणका लागि खुला गर्ने अठोट लिएको उनी बताउँछन् ।
‘रानीपोखरी सर्वसाधारणका लागि पहिले पनि खुला थियो भन्ने मलाई थाहा थियो, पुरुषोत्तम लोचन श्रेष्ठजी (इतिहासविद्) ले त त्यो पोखरीमा पौडी खेलेकै सुनाउनुभयो,’ मेयर प्रजापति भन्छन्, ‘त्यसपछि हामीले रानीपोखरी, सिद्धपोखरीको छेउमा रहेको खेल मैदान लगायत क्षेत्र खाली गर्न २०७४ देखि नै पहल सुरु गरेका थियौं ।’
नगरपालिकाले सम्पदा सरसफाइ अभियानका क्रममा रानीपोखरीका लागि सेनासँग अनुमति माग्यो । पटक–पटक पत्राचार गर्दा पनि सैनिक महाविद्यालयले कुनै प्रतिक्रिया दिएन ।
त्यसपछि पोखरी खुला गर्न स्थानीयले दबाब दिए । महाविद्यालयका सैनिक अधिकारीहरुले ‘माथि कुरा गर्नुपर्ने’ भनेपछि नगरपालिकाको टोली २०७५ सालमा रक्षा मन्त्रालय पुग्यो ।
मन्त्रालयका अधिकारीहरुले पोखरी खुला गर्न आफूहरु सकारात्मक रहेको बताए । तर ‘जंगी अड्डासँग पनि छलफल गर्नुस्’ भन्ने जवाफ दिएपछि नगरपालिकाको टोली जंगी अड्डामा पनि पुग्यो । १८ चैत २०७५ मेयर प्रजापतिससँग भएको भेटमा तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापा रानीपोखरी, सिद्धपोखरी उत्तरतर्फको खेल मैदान नगरवासीको लागि प्रयोग गर्न दिन सकारात्मक देखिए । नगरपालिकाले लिखित सहमति नै खोजेपछि सैनिक महाविद्यालयले १ जेठ २०७६ मा नगरपालिकालाई पत्र लेख्दै रानीपोखरीको क्षेत्रफल यकिन गर्न नापनक्सा तयार पारी पुनर्निर्माण र जीर्णाेद्दार गर्न आग्रह गर्दै पत्र लेख्यो ।
नेपाली सेनाले पठाएको पत्रमा रानीपोखरी पुनर्निर्माण सम्बन्धमा मुख्य ७ बुँदा
१. रानीपोखरी एवं सोसँगै रहेको ऐतिहासिक पाटी नेपाली सेनाकै स्वामित्वमा रहने गरी भक्तपुर नगरपालिकाको तर्फबाट पोखरीको अध्ययन अनुसन्धान गरी मौलिक रुपमै पुनर्निर्माण र जीर्णाेद्दार गर्ने ।
२. रानीपोखरी के कति क्षेत्रफलमा फैलिएको छ, सोको यकिन गर्न नगरपालिका र नेपाली सेनाबीच समन्वय गरी प्राविधिकहरुबाट नाप नक्सा गर्ने ।
३. उक्त पोखरीमा प्राप्त प्रमाणहरुको आधारमा प्राचीन र मौलिक शैलीमा जीर्णाेद्दार गर्न भक्तपुर नगरपालिकाका आर्किटेक्ट इन्जिनियरहरुबाट नक्सा डिजाइन लागत इस्टिमेट समेत गरी प्राप्त प्रमाणहरुको आधारमा भक्तपुर नगरपालिकाबाट मौलिक स्वरुपमै जीर्णाेद्दार सम्पन्न गर्ने ।
४. रानीपोखरी जीर्णाेद्दारको क्रममा त्यहाँ भेटिएका पूरातात्विक वस्तुहरु र पाटीको पुनर्निर्माण गरी संरक्षण गर्ने ।
५. स्थानीयले देवाली लगायत साँस्कृतिक पर्वहरुमा सार्वजनिक रुपमा प्रयोग गर्दै आएकोमा उक्त पर्वको समयमा सार्वजनिक प्रयोजनको लागि खुला राख्ने ।
६. नगरपालिकाले पोखरीको आवश्यक व्यवस्थापनको जिम्मा लिने र त्यहाँ सीसीटीभीको प्रयोग पनि नगरपालिकाले नै गर्ने ।
७. कलात्मक तरिकाले आकर्षक बाउन्ड्री वाल लगाउने र जीर्णाेद्दार गरी बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म पोखरी खुला गर्ने ।
८. रानीपोखरी इलाकामा आउनेहरुको सवारी व्यवस्थापनको लागि नगरपालिकाले सल्लाघारीको खाली ठाउँमा पार्किङ स्थल बनाउने ।
९. रानीपाखरीको मुख्य बाटोको एक दिशाबाट मात्रै प्रवेश दिने र त्यहीँबाट निस्कने द्वार बनाउने ।
सेनाबाट पत्रपछि नगरपालिकाले पोखरी क्षेत्रको नापनक्सा तयार पार्यो । त्यसमा नापी विभाग र नेपाली सेनाको प्राविधिक समूहले पनि सघायो ।
इतिहासविद् डा. पुरुषोत्तम लोचन श्रेष्ठको संयोजकत्वमा बनेको समितिले पोखरीमा रहेका सबै वस्तुहरुलाई लिपिबद्ध गर्न थाल्यो भने उपभोक्ता समितिले १५ असारदेखि पोखरीको सतह पुनर्निर्माणको काम थाल्यो । २७ मंसिर २०७७ गते श्रेष्ठ नेतृत्वको समितिले सुझाव र पुराना फोटोहरु समेत राखेर प्रतिवेदन बुझायो ।
त्यही प्रतिवेदनको आधारमा जे वस्तु जहाँ छ, त्यो त्यही राखेर पुरानै शैलीमा रानीपोखरी पुनर्निर्माण सुरु भयो । छोटो अवधिमै परम्परागत शैली, शिल्प र प्रविधि प्रयोग गरेर पोखरीको पुनर्निर्माण सकियो ।
पोखरी पुनर्निर्माण गर्न ४ करोड ४१ लाख १९ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । तर ८८४ जनाले जनश्रमदान गरेपछि २ करोड ५४ लाख ८३ हजार रुपैयाँमा नै पोखरी पुनर्निर्माण भयो । नगरपालिका र जनताको निरन्तरको प्रयास र सेनाको उदारताले सर्वसाधारणको पोखरी खुल्न सकेको मेयर प्रजापति बताउँछन् ।
पोखरीको इतिहास
भक्तपुरको रानीपोखरी नेपाल संवत ७५० (वि.सं. १६८७) मा तत्कालीन भक्तपुरका जगज्योति मल्लले बनाउन लगाएका हुन् । जबकी काठमाडौंको रानीपोखरी नेपाल संवत् ७९० अर्थात् १७२७ मा मात्रै प्रताप मल्लले बनाएका हुन् ।
भक्तपुर भेगका बृहत् खुला स्थानमा वा भनां गढ रुपको राजधानी शहरको पश्चिम पट्टिका गढ पर्खाल र ढोकाबाहिरका नाकामा पहिले नै तीनवटा ठूला पोखरीहरु, भाज्या पुखू सोह्रौ शताब्दीको पूर्वाद्र्धमा बनिसकेको इतिहासविद् पुरुषोत्तम लोचन श्रेष्ठ बताउँछन् । नःपुखूको सीधा ठीक पश्चिममा तःपुखू र लगभग तः पुखूको सिधा पश्चिममा उस्तै दूरीमा रानीपोखरी बनाइएको उनी बताउँछन् ।
रानीपोखरीको मध्यभागमा सुनको बासुकी नाग थियो । जुन नाग मध्यकालमै काठमाडौंका राजाले आक्रमण गरी हनुमानढोका लगेको भन्ने इतिहास रहेको नगर प्रमुख प्रजापति बताउँछन् । अहिले झण्डै एक लाख खर्चमा तामाको पाताले मोरिएको बासुकी नाग बनाइएको छ ।

वि.सं. २०२१ सालमा नापी भएका बेला पोखरी र वरपरको चौरलाई सानो टुँडिखेलको नामले चिन्ने गरिएको प्रजापति सुनाउँछन् । १५ रोपनी ५ आना २ पैसामा फैलिएको पोखरीसँगै रहेको ह्वाङह्वाङ पाटीले पनि अहिले पुनर्जीवन पाएको छ ।
अभिलेखमा ह्वाङह्वाङ पाटीको उद्घाटन गर्ने बेलामा तत्कालीन राजा जगज्योति मल्लले मालश्रीधुन बजाएको भन्ने उल्लेख छ । त्यसैले मंगलबार रानीपोखरी उद्घाटन गर्ने बेला पनि मालश्री धुनसहित उद्घाटन गरिएको उनी सुनाउँछन् ।
ह्वाङह्वाङ पाटीको वास्तविक नाम ‘सिंहफले’ हो । तर, खुला र अव्यवस्थित भएर ह्वाङह्वाङ भएकोले यसलाई यही नामले चिनिन गएको जानकारहरु बताउँछन् । वि.सं. २०५६/५७ सालतिर वर्षात्का कारण यो पाटी भत्किएर भग्नावशेषमा सीमित भएको थियो ।
त्यसको कसैसँग फोटो छ कि भन्दा कसैबाट पनि फोटो नपाएपछि आर्किटेक्चर र इतिहासविद्हरुले अध्ययन गरी पाटीको स्वरुप तयार पारेको प्रजापति बताउँछन् । मेयर प्रजापति यो पोखरी सेनाबाट फिर्ता लिनु नै मूल चुनौतीका रुपमा रहेको र त्यसलाई चिरेर अघि बढ्न निकै सकस भएको सम्झन्छन् ।
भक्तपुरमा रानीपोखरी सेनाबाट फर्काउने पहल भइरहँदा काठमाडौंमा पुनर्निर्माण भइरहेको रानीखारीसमेत सेनालाई जिम्मा दिने योजना सुनेपछि आफूहरु त्रसित उनको सम्झनामा ताजै छ । ‘काठमाडौंले त्यसो गरेमा हामीहरुको प्रयास निरर्थक हुने देखेपछि काठमाडौं र ललितपुरका प्रमुख, उपप्रमुखसँग भेटेर स्थानीय तहको स्वामत्विलाई असर पर्ने काम नगर्न सुझाव दिएका थियौं,’ उनी भन्छन् ।
त्यही छलफलबाट नै भक्तपुरका पुराना पोखरी निर्माण गरेका दक्ष कालिगढलाई काठमाडौंको रानीपोखरी पुनर्निर्माणका लागि खटाउने तय भएको थियो । त्यसले अस्तित्व मेटिने अवस्थामा पुगिसकेको काठमाडौंको रानीपोखरी मात्रै जोगाएन, सेनाको कब्जामा रहेको भक्तपुरको रानीपोखरीलाई मृत्युशय्या बाट जगायो ।
‘यस्ता प्रयासहरुले उपत्यकाको सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पूरातात्विक र समाजिक पक्षलाई जीवन्त राख्न महत्वपूर्ण भूमिक खेल्छ,’ उनी भन्छन् ।
हेर्नुहोस् भक्तपुर रानीपोखरीको थप तस्वीरहरु
तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर
 
 
 
 
 
 

                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4