+
+

फिल्म ‘चिसो एस्ट्रे’ले गर्ला भूपिको कवितालाई न्याय ?

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २२ गते १८:०२

२२ फागुन, काठमाडौं । भूपि शेरचनको कविता ‘चिसो एस्ट्रे’बाट प्रभावित सोही शीर्षकको फिल्म चैत ४ गतेबाट देशव्यापी प्रदर्शन हुँदैछ । दिन्स पाल्पालीले निर्देशन गरेको यो फिल्मका कलाकारले आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग अन्तक्रिया गरे ।

निर्देशक पाल्पालीले भूपिको दृष्टिकोणलाई सापटी लिएर फिल्म निर्माण गरेको बताए । ‘हामीले फिल्मलाई काव्यात्मक न्याय दिने प्रयास गरेका छौं । उक्त कविताबाट प्रभावित फिल्मलाई दर्शकले रुचाउने विश्वास लिएका छौं,’ उनले भने ।

निर्देशक पाल्पालीले अगाडि भने, ‘म भूपिका कविताको ठूलो फ्यान हुँ । उहाँका सबै कविता कण्ठै छन् । सो कवितामा फिल्म बनाउन सकिए दर्शकसँग जोडिन सकिन्छ भन्ने मलाई पहिल्यैदेखि लागेको थियो ।’

‘चिसो एस्ट्रे’मा मित्रताको कथा रहेको उनले बताए । ‘साथीबीचको एकता र दर्शन यसमा छ । फिल्म हेर्दा तपाईंले ताजा दृष्टिकोण पाउनुहुनेछ,’ उनले भने ।

अभिनेता दिव्यदेवले ‘चिसो एस्टे«’ फिल्मलाई ‘लक्की चार्म’ भएको बताए । ‘म एमच्योर्ड एक्टर थिएँ । यसले मलाई मच्योर्ड बनायो । रुदानेको अफर पनि यही फिल्मपछि पाएको हुँ,’ उनले भने, ‘सकेसम्म अभिनयमा जटिलता नभई सहजता दिने प्रयास गरेको छु ।’

रंगमञ्चको पृष्ठभूमिबाट आएका कलाकारमा अभिनयलाई जटिलताबाट सरलतातर्फ अघि बढ्न समय लागेको भन्दै उनले यसबाट मुक्त हुन आफूले प्रयास गरेको बताए । ‘अभिनयलाई सहज तुल्याउन म व्यक्तिगत रुपमा सचेत छु,’ उनले थपे ।

अभिनेता निकुन श्रेष्ठले फिल्मले आफ्नो व्यक्तिगत जीवनमा पनि परिवर्तन आएको बताए । ‘ग्लोब्लाइजेसनको कारण हामी कुनै न कुनै रुपमा चेन्ज भएका छौं,’ उनले भने, ‘मैले रोनी पात्रको भूमिका निर्वाह गरेको छु जुन निकै सशक्त पात्र समेत हो ।’

अभिनेत्री सृष्टि श्रेष्ठले आफूले चरित्र निर्वाह गरेको शालीनता नामक पात्रबाट धेरै कुरा सिकेको बताइन् । सेतो पुतली अभियन्ता मिलन राईको अभियानबाट आफ्नो पात्र प्रभावित भएको भन्दै सृष्टिले सकारात्मक कुरालाई ध्यान दिनुपर्ने सन्देश फिल्मले दिने बताइन् ।

ज्याकी नामक पात्रको चरित्रमा देखिएका अभिनेता नवीन लम्सालले सन् २०१३ देखि नै प्रोजेक्ट सुरु भएको र रिलिज आउँदा उत्साहित भएको सुनाए । काल्पनिक भूपि गल्लीमा ज्याकी पात्र बस्ने र आफ्नो पात्रमा दर्शकले रमाइलो महसुस गर्ने उनले बताए ।

निर्माता महेशबाबु तिमल्सिनाले नेपालमा साहित्यमाथि बनेका गतिला फिल्म नपाएकै कारण आफूले चिसो एस्ट्रेमा लगानी गरेको अनुभव सुनाए । ‘हामीले सात वर्ष पटक–पटक स्क्रिप्ट पुनर्लेखन गर्दै फिल्म बनायौं,’ उनले भने, ‘नेपालमा साहित्यमाथि खोजेकोजस्तो फिल्म नपाएपछि हामीले फिल्म बनाउने जमर्को गरेको हुँ ।’

फिल्ममा रविन तामाङ र सुशीलराज पाण्डेको समेत मुख्य भूमिका छ । रिलिजअघि फिल्मलाई क्यूएफएक्स सिभिल मलस्थित सेन्ट्रल सिनेमामा प्रिमियर समेत गरिने भएको छ ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?