+
+

इन्जिनियरका चोटपटक !

मदन सुवेदी मदन सुवेदी
२०७८ फागुन २३ गते १०:४९

औद्योगिक क्रान्ति खासगरी वाष्प इन्जिनको आविष्कारदेखि सुरु भएको यन्त्र तथा विद्युत, इन्टरनेट हुँदै आजको कृत्रिम बौद्धिकताको युगसम्म आइपुगेको छ। यो यात्रामा आधुनिक विज्ञानका सहस्र उपलब्धिहरू मान्छेको उच्चतम प्रयोग र सेवामा लगाउन चाहिने व्यावहारिक ज्ञान, अध्ययन, विधि तथा प्रयोगहरू आधुनिक इन्जिनियरिङका आधार बनेका छन्। इन्जिनियरिङ (अभियन्त्रण) क्षेत्र सभ्यताको विज्ञान हो।

आज संसारका महाशक्तिहरूको तागतको मापन इन्जिनियरिङ क्षेत्रका जनशक्ति उत्पादनको माग र गुणस्तर हेरेर हिसाब गर्ने गरिन्छ। मानव जनशक्तिको भोकमा रहेका विकसित राष्ट्रहरू इन्जिनियरिङ जनशक्तिको तानातानलाई कसरी राष्ट्रिय सुरक्षा रणनीतिसँग जोडेर लगेका छन् भन्ने थाहा पाउन विश्वविख्यात लेखक पराग खन्नाको गत वर्ष प्रकाशित महत्वपूर्ण पुस्तक ‘मुभः द फोर्सेस् अपरुटिङ अस’ले धेरै मद्दत गर्दछ।

सारमा भन्नुपर्दा विकास, समृद्धि, उन्नति, वृद्धि जस्ता समाजमा ठूलो उद्वेलन पैदा गर्ने जार्गनहरूको मूल अस्थिपञ्जर इन्जिनियरिङ सेवा क्षेत्र नै हो भन्नेमा आधुनिक समाजले विमति राख्दैन।

यता नेपालमा औपचारिक रूपमा इन्जिनियरिङ शिक्षाको सुरुवात भएको सात दशक हाराहारी पुगेको भएतापनि नेपालमा निर्माण र अभियन्त्रण क्षेत्रको इतिहास हजारौं वर्ष पुरानो छ। प्रसिद्ध चिनियाँ यात्री हु यान शाङ्गको यात्रा वृत्तान्तमा उल्लेख भएका लिच्छविकालीन भव्य दरबारहरूदेखि धरहरा, काक्रे विहार, विविध दरबार क्षेत्रहरू हुँदै सिंहदरबारको निर्माण तथा तोप र मेसिनगनको निर्माणसम्म यहाँकै जनशक्तिले गरेको प्रामाणिक विगत पनि हामीसँग नै छ। आजको समयसम्म आइपुग्दा विविध विश्वविद्यालयका आङ्गिक तथा सम्बन्धन प्राप्त ५० हाराहारी शैक्षिक संस्थाबाट वार्षिक ४५०० भन्दा धेरै इन्जिनियरहरू नेपालको आर्थिक प्रणालीमा आउने परिस्थिति बनिसकेको छ।

उत्पादित इन्जिनियरहरूको ठूलो संख्या सोझै विकसित मुलुकमा उच्च आयको खोजीमा जाने अवस्था आजको मुख्य विडम्बनाको रूपमा रहेको छ। नेपालका विद्यालयबाट हरेक वर्ष आफ्नो १२ कक्षा पूरा गरेर निस्किने प्रथम दर्जाका विद्यार्थीको रोजाइ रहने गरेको इन्जिनियरिङ क्षेत्र नेपालका खास प्रतिभाहरूको केन्द्रीकरण हो। नेपालका खास प्रतिभाहरू सोझै विकसित मुलुक पलायन हुन बाध्य हुनु भनेको हाम्रो राष्ट्रको ठूलो लगानी र सम्भावनामा डरलाग्दो क्षति हो।

अर्कोतर्फ नेपालमा आर्थिक विकासमा भएको लामो समयदेखिको सुस्तता/विविध संरचनागत अवरोध (स्ट्याग्नेस)ले सिर्जना गरेको संकटले जनशक्तिको खपतलाई असाध्यै साँघुरो बनाएको छ। ठूलो स्तरमा हुने आयोजनाहरूको परामर्श सेवा तथा निर्माणको काम द्विपक्षीय/बहुपक्षीय दाता/लगानीकर्ताका शर्तको नाममा विदेशी जनशक्तिले ओगट्ने, नेपाली इन्जिनियरले सहभागी हुनको अलावा सहयोगीको रूपमा ज्ञान हस्तान्तरणको अवसर समेत नपाउनु अर्को ठूलो विडम्बनाको रूपमा रहेको छ।

नेपालको प्रशासन, राज्य संयन्त्रमा इन्जिनियरहरूप्रतिको दृष्टिकोण तथा पूर्वाग्रह अर्को हीनताबोधको कारण बनेको छ। स्थायी राज्ययन्त्रमा इन्जिनियरलाई तल्लो श्रेणीको व्यवहार हुने गरेको तथा वृत्तिविकासमा समेत पछाडि पारिएको थाहा पाउन प्रशस्त उदाहरण उपलब्ध छन्। जस्तो ‘इन्जिनियरिङ सेवाबाट नेपाल सरकारको सचिव बन्न नसक्ने’, ‘राज्य पुनर्संरचना पश्चात् बनेका स्थानीय सरकारहरूमा इन्जिनियरको अवस्था’ तथा ‘पछिल्लो समय खुलेका सरकारी पदपूर्ति विज्ञापनहरूमा इन्जिनियरलाई तुलनात्मक रूपमा अन्य क्षेत्रको तुलनामा तल्लो तहमा राखिनु’ नै यो सन्दर्भ बुझ्न पर्याप्त छन्।

चर्चित कवि प्रोल्लास सिन्धुलीयको कविता ‘गाउँको वृद्धालय’ले वर्णन गरेजस्तो देशलाई वृद्धालयमा रुपान्तरण हुन लागेको त्रासदीबाट जोगाएर आफ्ना रहरलाग्दा नौजवानले देशमै श्रम, ज्ञान र सीप खर्चने अधिकार सुनिश्चित गर्न पनि इन्जिनियरले देशमै काम गर्न पाउनुपर्दछ

व्यक्तिगत वा समूहगत रूपमा उद्यमशीलता तथा नवप्रवर्तनमा लाग्नुका आफ्नै दु:खहरू छन्। छनोट प्रक्रियामा हुने अपारदर्शी चलखेलदेखि मापदण्डमा हुने गरेका अवैज्ञानिक प्रयोगले स्वतन्त्र र खुल्ला प्रतिस्पर्धामार्फत असल काम गर्ने फर्मले काम पाउन जटिल बन्दै गएको छ।

इन्जिनियरले स्वतन्त्र रूपमा काम गर्न पाउने अधिकारको दायरा साँच्चै संकुचित छ। नेपालका इन्जिनियरले धेरै ठाउँमा त आफ्नो घरको नक्सा बनाउने काम समेत एकाधिकार फर्मलाई दिनुपर्नेसम्मको दुरवस्था छ।

यो आलेख मूलत: निराशाको रङ्ग भरेर नकारात्मक भावको कोलाज निर्माण गर्ने ध्येयका साथ तयार पारिएको होइन। समस्या समाधानको सही विधि पत्ता लगाउन अत्यावश्यक प्रारम्भिक समस्या कथन पश्चात् अब लागौं सभावित समाधानतिर।

आजको समयमा तीव्रगतिमा विकास गरिरहेका अर्थतन्त्रहरू चीन, जापान, कोरिया, सिङ्गापुर लगायत पश्चिमी राष्ट्रका सरकारहरू इन्जिनियरले भरिएका छन्। यसको शिक्षा हुन्छ देशको नीति निर्माण र कार्यान्वयनमा इन्जिनियरहरूको महत्वको बोध। नेपालको पनि नेतृत्वदायी क्षेत्रमा इन्जिनियरहरूको प्रभावकारी उपस्थिति हाम्रो टड्कारो आवश्यकता हो।

तीव्र गतिमा विकासको सँघारमा रहेको नेपालले आफ्ना उत्कृष्ट जनशक्तिलाई नेपालमै उपयुक्त अवसर सिर्जना गर्दै अनुसन्धान र विकासको वातावरण तयार गर्नुपर्दछ। सबै प्रकारका आयोजनाहरूमा नेपाली इन्जिनियरको प्रभावकारी सहभागिता तथा नयाँ जटिल परियोजनामा अनिवार्य ज्ञान/प्रविधि हस्तान्तरणको व्यवस्था गर्नुपर्दछ। नेपालका इन्जिनियरले विश्वस्तरीय संरचना निर्माणको उदाहरण तयार पार्ने अवसर तयार गर्नुपर्दछ।

चर्चित कवि प्रोल्लास सिन्धुलीयको कविता ‘गाउँको वृद्धालय’ले वर्णन गरेजस्तो देशलाई वृद्धालयमा रुपान्तरण हुन लागेको त्रासदीबाट जोगाएर आफ्ना रहरलाग्दा नौजवानले देशमै श्रम, ज्ञान र सीप खर्चने अधिकार सुनिश्चित गर्न पनि इन्जिनियरले देशमै काम गर्न पाउनुपर्दछ।

सरकारका विज्ञापन, नियुक्ति, वृत्तिविकास कार्यक्रममा आधुनिक प्राविधिक जनशक्तिको केन्द्रीय भूमिका पक्का गर्दै असमानताहरूको अन्त्य गर्नुपर्दछ। असन्तुलित रहेका व्यवस्थाहरूलाई अद्यावधिक ऐन तथा प्रबन्धले प्रतिस्थापन गर्नुपर्दछ। खुल्ला र पारदर्शी प्रक्रियालाई अनिवार्य संस्थागत गर्दै दक्ष प्राविधिकले सार्वजनिक कामहरू पाउने आधारको सुनिश्चितता गर्नुपर्दछ। निजी क्षेत्रमा हुने कामहरूमा आवश्यक मापदण्डको निर्माण तथा आवश्यक कानुनमार्फत व्यवस्थित गर्नुपर्छ।

समाजका अग्रणी जनशक्ति इन्जिनियरहरूको अनिवार्य बीमाको व्यवस्था गर्नुपर्दछ। विविध स्तरका प्रयोगशाला, अध्ययन/अन्वेषण/अनुसन्धान केन्द्र तथा स्तरीय जर्नलको संस्कृति विकास गर्नुपर्दछ। राष्ट्रले प्रगतिको राजमार्गमा अघि बढ्नको लागि मूल चालक शक्तिको रूपमा रहेका जनशक्ति (क्रिम म्यानपावर) इन्जिनियरले आत्मसम्मान, अवसर तथा आफ्नो ज्ञानको प्रभावकारी प्रयोग, विकास गर्दै आफू र राष्ट्र दुवैलाई उचाइमा पुर्‍याउने अवसर निर्माणतर्फ व्यवस्थित ढंगले पहल गर्नु आजको वास्तविक आवश्यकता हो। इन्जिनियरका चोटपटकमा मुलुकको दु:खलाई निरन्तरता नदिऔं।

(लेखक सिभिल इन्जिनियर हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?