+
+

आर्मी बन्यो गणेशमान सिंह फेन्सिङको च्याम्पियन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २३ गते १९:०९
च्याम्पियन बनेको त्रिभुवन आर्मी क्लब । तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर ।

२३ फागुन, काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब प्रथम वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।

आर्मी ६ स्वर्ण, २ रजत र ६ कास्य पदक जित्दै टिम च्यामिपयन बनेको हो । यस्तै अर्को विभागीय टोली एपीएफ ३ स्वर्ण, ५ रजत र ८ कास्य पदकसहित दोस्रो र बागमती प्रदेश ३ स्वर्ण, ५ रजत र ३ कास्यसहित तेस्रो भएको छ ।

वीर गणेशमान सिंह स्पोर्टस् कमिटी र नेपाल फेन्सिङ संघको संयुक्त आयोजनामा भएको प्रतियोगिताको अन्तिम दिन सोमबार पुरुषको टिम फ्वाइलतर्फ आर्मीले बागमतीलाई ४५–२९ ले पराजित गर्दै स्वर्ण जित्यो । गण्डकी र एपीएफले कास्य पदक प्राप्त गरे ।

यस्तै टिम महिला सावरमा पनि आर्मीले स्वर्ण पदक हात पार्‍यो । फाइनलमा आर्मीले एपीएफलाई ४५–३६ अंकले पराजित गर्दै स्वर्ण जितेको हो । बागमती र गण्डकीले कास्य पदक हात पारे ।

महिला फ्वाईलतर्फ एपीएफकी मन्दिरा थापाले स्वर्ण हात पारिन् । थापाले फाइनलमा चीर प्रतिद्वन्द्वी सेनाकी रमा सिंहलाई १५–१२ को झिनो अन्तरले पराजित गरिन् । सेनाकी मनिषा राई र बागमतीकी अञ्जु तामाङ तेस्रो स्थानमा रहे ।

यसैगरी महिला टिम फ्वाईलतर्फ एपीएफले बागमती प्रदेशलाई पराजित गर्दै स्वर्ण जित्यो । एपीएफले बागमतीलाई ४५–३६ अंकले परातिज गरेको हो । आर्मी र प्रदेश १ ले कास्य पदक पाए ।

पुरुष इपी टिमतर्फ आर्मीले एपीएफलाई ४५–४० अंकले पराजित गर्दै स्वर्ण हात पार्‍यो । तेस्रो स्थानमा गण्डकी प्रदेश र प्रदेश १ रहे ।

पुरुष सावरतर्फ एपीएफले बागमतीलाई ४५–३६ अंकले पछि पार्दै स्वर्ण जितेको हो । आर्मी र प्रदेश १ ले कास्य पदक प्राप्त गरे ।

प्रतियोगितामा व्यक्तिगत स्पर्धातर्फ दुई स्वर्ण प्राप्त गर्ने बागमती प्रदेशका खेलाडी ओमकार सिंहलाई नेपाल फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठले ब्यक्तिगत १० हजार रुपैयाँ पाए ।

यस्तै प्रतियोगितामा अनुशासित खेलाडी बनेका एपीएफका शेरसिंह ऐरिलाई भारतबाट प्रतियोगिता सफल पार्न आएका निर्णायकहरु सन्तोष पाण्डे र विशाल रावले खेल सामाग्री प्रदान गर्दै सम्मान गरे । प्रतियोगितामा गण्डकी प्रदेशबाट सबैभन्दा कम उमेरकी खेलाडी (११ वर्ष) प्रतीक्षा रानाले पनि सहभागिता जनाएकी थिइन् । उनले सिनियर प्रतिस्पर्धामा दुई खेल जित्न पनि सफल भएकी थिइन् ।

तीन दिन सञ्चालन भएको प्रतियोगितामा प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब, एपीएफ गरी ६ टिमको सहभागिता रहेको थियो । १२ स्वर्ण पदकका लागि ११४ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

विजयी खेलाडीहरुलाई पूर्व उपप्रधानमन्त्री एवं गणेशमान फाउण्डेशनका अध्यक्ष प्रकाश मान सिंह, महिला नेतृ सिर्जना सिंह, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला, सदस्य सुवास श्रेष्ठ, नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राजबैद्य, नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट, नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठ, भारोत्तोलन संघका अध्यक्ष रामबोस श्रेष्ठ, नेपाल बास्केटबल संघका कार्यबाहक अध्यक्ष भीमसिंह गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?