+
+

पालुङटारमा लिगलिगे साइकल दौड हुने

विकास मरहट्टा विकास मरहट्टा
२०७८ फागुन २३ गते २०:३७

२३ फागुन, गोरखा । पालुङटार नगरपालिकामा ४ चैतमा दोस्रो लिगलिगे साइकल दौड प्रतियोगिता हुने भएको छ ।

लिगलिग भिलेज स्पोर्टसका अनुसार पालुङटार नगरपालिकाको लिगलिगकोटबाट सुरु भएर सिरानचोक गाउँपालिका, लमजुङको राइनास नगरपालिकाको क्षेत्र समेटिने गरी साइकल दौड गर्न लागिएको हो ।

साइकल दौड लिगलिगकोटबाट सुरु भई आँपपीपल, हर्मी भञ्ज्याङ, कोयापानी, पालुङटारको रिपगाउँ, पाथिभरा, भण्डारथोक हुदै चेपे नदी तरेर लमजुङको गरमवेशी पुग्नेछ । त्यहाँबाट चेपेघाट पार गर्दै पालुङटारको हवाइ ग्राउण्ड, ताल पोखरी, ठाँटीपोखरी, बाह्रपिर्के, बडडाँडा हुँदै पुनः लिगलिगकोटमा आएर दौड सम्पन्न हुने लिगलिग भिलेज स्पोर्टसका अध्यक्ष सञ्जीव रानाले बताए । साइकल दौडको दुरी ५३ किलोमिटर रहने छ ।

प्रतियोगितामा करिव एक सय जना सहभागी हुने आयोजकको अनुमान छ । ‘प्रतियोगितामा सहभागी हुन चाहनेले ३० फागुनभित्र अनलाइनमार्फत नाम दर्ता गर्न सक्नुहुन्छ’ रानाले भने । प्रतियोगितामा भाग लिन सहभागीले दुई हजार रुपैयाँ तिर्नुपर्नेछ । तर पालुङटार नगरपालिकाका सहभागीले भने रकम तिर्नुपर्ने छैन ।

साइकल दौडमाा महिला र पुरुषतर्फ छुट्टाछुट्टै पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा पहिलो हुनेदेखि दशौंसम्मका महिला र पुरुषले क्रमशः २५ हजार, २० हजार, १५ हजार, १० हजार, ५ हजार, २ हजार ५ सय, २ हजार र बाँकी तीन जनाले जनही १ हजार ५ सय पाउनेछन् ।

त्यस्तै गण्डकी प्रदेशबाट सहभागी महिला र पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश ५ हजार, ३ हजार र २ हजार ५ सय नगद पुरस्कार पाउने छन् । पालुङटार नगरपालिकाका सहभागीमध्ये पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २ हजार ५ सय, २ हजार र १ हजार नगद पुरस्कार पाउने छन् ।

ऐतिहासिक क्षेत्र लिगलिगकोटको इतिहास, मौलिक संस्कृति जर्गेना गर्दै वातावरणमैत्री साइकल संस्कारको विकास र विस्तार गर्ने उद्देश्यले साइकल दौड आयोजना गरिएको अध्यक्ष रानाले बताए । लिगलिगकोटलाई खेल पर्यटनको हबको रुपमा विकास गर्ने उनको भनाइ छ ।

प्रतियोगिता सञ्चालन गर्न करिव २० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । हालसम्म पालुङटार नगरपालिकाले पाँच लाख र सिरानचोक गाउँपालिकाले डेढ लाख रुपैयाँ दिएका छन् ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?