+
+

निर्णयको प्रक्रियामा सहभागी नगराइएको भन्दै कांग्रेस केन्द्रीय सदस्यको असन्तुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २४ गते १३:०९
फाइल तस्वीर

२४ फागुन, काठमाडौं। पार्टीको महत्वपूर्ण विषयको निर्णय प्रक्रियामा सहभागी नगराएको भन्दै नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यले असन्तुष्टि जनाएका छन् ।

स्थानीय निर्वाचन लक्षित प्रचार अभियानको निर्णय गर्दा आफूहरुको धारणा समेत नसुनिएको केन्द्रीय सदस्य नैनसिंह महरले बताए । ‘केन्द्रीय समितिको बैठक नै नबोलाएर अथवा केन्द्रीय सदस्यलाई आगामी अभियान र रणनीति तय गर्दा समावेश नगरी अभियानको स्वामित्व र प्रभावकारिता कसरी हुन्छ ?’ उनले प्रश्न गरेका छन् ।

केन्द्रीय समिति, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षसमेतको बैठकबाट यस्ता अभियानको रणनीति तय गर्नुपर्ने नेता महरले बताए । मंगलबार कांग्रेसको चुनाव प्रचार अभियानको तयारीका लागि बसेको बैठकमा महरले भने, ‘विधानभन्दा बाहिर गएर पदाधिकारी र कार्यसम्पादन समिति बैठकको हवाला दिएर निर्णय गर्न पाईंदैन ।’

कांग्रेसको ३ फागुनको कार्य सम्पादन समितिको बैठकले २९ फागुनदेखि एक महिनासम्म चुनाव प्रचार अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

तर महत्वपूर्ण निर्णय गर्दा केन्द्रीय सदस्यहरुको विचार नसुनिएको महरको गुनासो थियो । ‘निर्णय निर्माण गर्ने संस्था भनेको केन्द्रीय समिति हो । केन्द्रीय समितिको गरिमा, अधिकार र कर्तव्य र यसको ओझ घटाउने काम गर्नुहुदैन ।’

महरको भनाइमा अन्य केही केन्द्रीय सदस्यहरुले पनि समर्थन जनाएका छन् । प्रचार अभियानका लागि तय गरिएको नारामा समेत संशोधनको माग गरिएको छ ।

अभियानको नारा ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ राखिएको छ । चुनाव अभियानको तयारीलाई अन्तिम रुप दिन कांग्रेस शीर्ष नेतासहितको बैठक केन्द्रीय कार्यालय सानेपामा जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?