+
+

स्वच्छ ऊर्जा : जलवायु परिवर्तन, आर्थिक समृद्धि र आधुनिकीकरणको छोटो बाटो

भुवन अवस्थी भुवन अवस्थी
२०७८ फागुन २५ गते ९:३३

हिमालय पर्वत श्रृंखलाको लम्बाइ सरदर २४०० किमी रहेको छ। पूर्वमा नाम्चे बर्वादेखि पश्चिममा नागा पर्वतसम्म यसको फैलावट रहेको छ। भौगर्भिक समयानुसार करिब १५० मिलियन वर्ष अगाडि अफ्रिका महादेशमा समाहित गोण्डवाना ल्याण्डबाट भारतीय उपमहादेश टेक्टोनिक एक्टीभिटीको कारणले सुरुवाती ८० मिलियन वर्ष ४० मि.मि. प्रति वर्षको गतिमा उत्तर पूर्व सर्दै गयो भने आखिरका ३० मिलियन वर्षमा १५० मि.मि. प्रति वर्षको गतिमा चलायमान भयो।

करिब ५० मिलियन वर्ष अगाडि सो भारतीय उपमहादेश तिब्बत (युरेशिया) सँग ठोकिन पुग्यो र हिमालय पर्वतमालाको जन्म भयो। अहिले पनि करिब ५ से.मि. प्रति वर्षको औसत गतिमा भारतीय उपमहाद्वीप युरेशियासँग टकराव दिइरहेको छ।

उता युरेशिया भने करिब २ से.मि. प्रति वर्षको गतिमा उत्तरतर्फ धकेलिइरहेको छ। भौगर्भिक अध्ययन अनुसार हिमालयको उचाइ क्रमिक रूपले बढिरहेको र साथसाथै हिमालयको क्षय पनि भइरहेको छ। हिमालयको उचाइ बढ्ने प्रक्रियाको गतिलाई ‘अपलिफ्ट रेट’ भनिन्छ। यसको औसत दर ०.४–४ मि.मि. प्रति वर्ष रहेको छ भने क्षय हुने प्रक्रियाको गतिलाई ‘इरोजन रेट’ भनिन्छ। यसको औसत दर ०.१–३ मि.मि. प्रति वर्ष रहेको छ।

तर भौगर्भिक दृष्टिले हिमालय एकनाशले सबै भागमा अपलिफ्ट र इरोजन हुने सम्भावना रहँदैन। हालको बढ्दो क्रमको जलवायु परिवर्तनले कुनै ठाउँमा इरोजन रेट बढेको पनि देखाएको छ। त्यसैले अपलिफ्ट र इरोजन रेटको औसत मात्रा हिमालयमा देखाउन अप्ठेरो अनि अस्वाभाविक मानिन्छ।

हिमालयलाई भौगर्भिक तवरले पाँच भागमा विभाजन गरिएको छ। पहिलो र सबैभन्दा उत्तरमा ‘तिब्बतियन टेथिस जोन’ छ। जहाँ पत्रे चट्टानहरू जस्तै, चुन ढुङ्गा, सेल, स्यान्ड स्टोन पाइन्छन्। यो जोन (क्षेत्र) लाई अलग्याउने ‘थ्रस्ट जोन’ हरू रहेका छन्। यसले हिमालयलाई टेक्टोनिक तवरले वर्गीकृत गरेका छन्।

पहिलो तिब्बतियन टेथिस जोनलाई ‘साउथ तिब्बतियन डिट्याचमेन्ट सिस्टम’ले दोस्रो ‘हाईयर हिमालय जोन’ सँग छुट्याएको छ। हायर हिमालयमा प्रायः परावर्तित चट्टानहरू पाइन्छन्। जस्तै- नाइस, सिस्ट र ग्रेनाइट। यस भागलाई ‘मेन सेन्ट्रल थ्रस्ट जोन’ ले तेस्रो ‘लेसर हिमालय’ सँग छुट्याउँछ। यस लेसर हिमालय जोनमा मेटासेडिमेन्ट्री चट्टान पाइन्छन्। जस्तै- मार्बल, फिलाइट, सिस्ट र क्वार्जाईट। लेसर हिमालयलाई ‘मेन बाउन्ड्री थ्रस्ट जोन’ ले चौथो ‘शिवालिक’ सँग छु्ट्याउँछ। शिवालिकमा कंग्लोमेरेट, सेन्डस्टोन र मडस्टोन जस्ता चट्टान पाइन्छन्। ‘मेन फ्रन्टल थ्रस्ट जोन’ ले शिवालिकलाई तराईको गिट्टी बालुवा पाइने फाँटसँग छुट्याउँछ।

नेपालको भौगर्भिक धरातल निकै उथलपुथल रहेको छ तर साथ-साथै सम्भावनाले भरिपूर्ण रहेको छ। पूर्वदेखि पश्चिमसम्म ८६६ वटा नाम दिइएका हिमालहरू छन् जसमध्ये २८ वटा हिमश्रृंखला र १८ वटा उप-हिमश्रृंखला रहेका छन्। तीमध्ये ८ हजार मिटर भन्दा माथिका ८ वटा हिमाल रहेका छन्। नेपालका हिमालहरूबाट १०० भन्दा बढी नदीहरू १६० कि.मी. भन्दा लामा तथा १००० भन्दा बढी नदी ११ कि.मी. भन्दा लामा बग्ने गरेका छन्। यी नदीहरूमध्ये सप्तकोशी, सप्तगडण्की र सप्तकर्णाली प्रमुख नदी हुन्।

प्रचुर मात्रामा जलविद्युत् सम्भावना बोकेका यी नदीहरूमा १ मेगावाट भन्दा ठूला १०७ वटा जलविद्युत सञ्चालनमा रहेका छन्। यसबाट १९२०.२७९ मेगावाट उत्पादन भइरहेको छ र ३६ वटा जलविद्युत् अध्ययनको प्रक्रियामा रहेका छन्, जसबाट ९२३० मेगावाट उत्पादन गर्न सकिनेछ।

अहिले विश्वभर स्वच्छ ऊर्जाको प्रयोग बढिरहेको छ। नेपाल जलविद्युत, सौर्य र वायु ऊर्जाको प्रचुरता भएको भाग्यमानी देश मानिन्छ। तुरुन्तै विद्युतीय ऊर्जाका कलकारखाना खोल्नका लागि अध्ययन गर्न जरुरी छ। अबको युग स्वच्छ ऊर्जामा जाने पक्कापक्की भइसकेको छ

खानीको प्रचुरता जस्तै- युरेनियम, सुन, काइनाईट, गार्नेट, सिसा तथा निर्माण सामग्री जस्तै- गिट्टी, बालुवा, चुनढुङ्गा, मार्बल, फलाम, तामा र पेट्रोलियम पदार्थ आदि भएको देश, जलविद्युतको असामान्य क्षमता भएको देशमा वर्तमान स्थिति जलवायु परिवर्तनको रहेको छ। यसको मुख्य कारण उच्च तापमान वृद्धि, प्रदूषण र वनजंगलको फडानी हुन्।

हिमालहरू अनपेक्षित ढंगले पग्लिनु, अनावृष्टि र अतिवृष्टि हुनु जसका कारण कृषिप्रधान देशमा उत्पादन अनुकूलता घट्नु विभिन्न बालीजन्य रोग निम्तिनु र प्राकृतिक तथा मानव सिर्जित विपद् जस्तै- बाढी, पहिरो, आगलागी र महामारीका घटना वर्षैपिच्छे बढ्नु जलवायु परिवर्तनले नेपालमा गरेका प्रत्यक्ष असरहरू हुन्।

एक अध्ययनका अनुसार खुम्बु हिमनदीमा एभरेष्ट आधार शिविर नजिक वार्षिक १.४ मिटरसम्म हिउँ पग्लिने गरेको छ र यस हिमनदीमा विभिन्न हिमतालहरू वर्षेनि बढ्दै गइरहेका छन्। परिमाणतः ती हिमताल फुटेर हुनसक्ने जोखिम र हिम पहिरोको जोखिम जलवायु परिवर्तनले हो भनी नकार्न सकिंदैन। वार्षिक ३० मिटर प्रति वर्षसम्म हिमनदीहरू खुम्चिरहेका छन्। असामान्य तापमा वृद्धि ०.०६ डिग्री सेन्टीग्रेट रहेको छ, जसले हिमालय क्षेत्रलाई बढी प्रभावित गरिरहेका छन्।

अनेक राजनीतिक कालखण्डमा प्रवेश गरेर नेपाल अहिलेको लोकतान्त्रिक पद्धतिमा पुगेको छ। यस उपलब्धिलाई संस्थागत गर्न र स्वाभिमानी बन्न जलवायु परिवर्तनले चुनौती र अवसर दिएको छ। चुनौती पार लगाउँदै अवसर खोज्ने पद्धति अपनाउन जरुरी छ।

अहिले विश्वभर स्वच्छ ऊर्जाको प्रयोग बढिरहेको छ। नेपाल जलविद्युत, सौर्य र वायु ऊर्जाको प्रचुरता भएको भाग्यमानी देश मानिन्छ। तुरुन्तै विद्युतीय ऊर्जाका कलकारखाना खोल्नका लागि अध्ययन गर्न जरुरी छ। अबको युग स्वच्छ ऊर्जामा जाने पक्कापक्की भइसकेको छ। विद्युतीय सवारी साधन निर्माण गर्न र उपयोग बढाउनतर्फ नेपाल सरकारको ध्यान केन्द्रित हुनुपर्ने देखिन्छ।

हामीले उचित स्रोतसाधन जुटाएर कलकारखाना स्थापित गर्न सके नेपालमा बेरोजगारीको समस्या हल गर्न टेवा पुग्ने, देश आत्मनिर्भरतातर्फ अगाडि बढ्ने र स्वच्छ ऊर्जाको प्रयोगले कार्बन नेगेटिभ देशको रूपमा उदय भई संसारसामु उदाहरण बन्न सकिनेछ। कुनै समयमा नेपाल बाहिरी संसारभन्दा ५० वर्ष पछि परे झैं लाग्थ्यो। अति कम विकसित देश मानिएको नेपाल यस युगमा सही कदम चाले आर्थिक क्रान्ति ल्याउन सक्ने देश हुनेछ।

नेपाल सौर्य किरणको तवरले ३.६ देखि ६.२ किलोवाट आवर प्रति मिटर प्रति दिन सौर्य ऊर्जा पाउने गर्छ। त्यसैले सौर्य क्षमताका दृष्टिले पनि सम्भावना प्रबल रहेको देश नेपाल हो। आवश्यक अध्ययन गरी विद्युतीय र सौर्य ऊर्जालाई स्थायीकरण गर्दै देशलाई जलवायु परिवर्तनको चपेटाबाट बचाउन मद्दत पुग्नेमा जो–कोही विश्वासरत छन्।

नेपालको इतिहासमा पहिलोपटक काठमाडौं र ढोरसिङ जोड्ने रोपवे सन् १९२२ मा सुरु भएको थियो। पछि कुल ४२ किमि लम्बाइसहित सन् १९६४ मा हेटौंडासम्म विस्तार भएको थियो। सन् १९७५ मा चिनियाँ सरकारको सहयोगमा काठमाडौं उपत्यकामा विद्युतीय ट्रलीबसहरू सञ्चालनमा आएका थिए। ट्रलीबसहरू सन् २००१ सम्म काठमाडौं र भक्तपुरबीचको १३ किलोमिटरको बाटो सफलतापूर्वक सञ्चालन गरिएको थियो। पछि व्यवस्थापन समस्याका कारण बन्द भएको थियो।

पछि सन् २००३ मा आंशिक रूपमा फेरि खोलियो तर सन् २००८ मा फेरि बन्द भयो। त्यसैगरी सन् १९९५ मा स्थानीय रूपमा सफा टेम्पो भनेर चिनिने बिजुली तीन-पाङ्ग्रे गाडीहरू, पहिलो पटक युएसएआईडीको सहयोगमा सञ्चालनमा ल्याइएका थिए। आज, ७०० भन्दा बढी सफा टेम्पो सार्वजनिक रूपमा २८ विभिन्न रुटमा सार्वजनिक यातायातको माध्यमको रूपमा सञ्चालन छन्। सफा टेम्पो बाहेक, पछिल्ला वर्षहरूमा धेरै तीन पाङ्ग्रे रिक्साहरू पनि चलिरहेका छन्। नेपालका सडकहरू, विशेषगरी तराईका भूभागमा अवस्थित सहरहरूमा यी रिक्साहरू सञ्चालनमा रहेका छन्। यीमध्ये केही ई-रिक्सा नेपालमा एसेम्बल गरिन्छ भने अरु भारत वा चीनबाट आयात गरिन्छ।

नेपालको १५औं पञ्चवर्षीय योजनामा पेट्रोलियम आयात घटाउने, चार्जिङ स्टेशनहरू स्थापना गर्ने र बिजुलीको पहुँच र उपयोग बढाउन अध्ययन गरिने कुरा लेखिएका छन्। वातावरणमैत्री सवारी साधन तथा यातायात नीतिले सन् २०२० सम्ममा विद्युतीय सवारी साधनको हिस्सा २० प्रतिशतमा पुर्‍याउने, यातायात क्षेत्रबाट हुने वायु प्रदूषण कम गर्ने जस्ता लक्ष्य राखेको थियो। नेपालको राष्ट्रिय रूपमा निर्धारित योगदानहरूमा सन् २०२० सम्ममा २० प्रतिशत ईभी (विद्युतीय सवारी साधन) वृद्धि हुने उल्लेख गरेको छ भने वातावरणमैत्री सवारी साधन तथा यातायात नीतिले सन् २०२० सम्ममा २० प्रतिशत ईभीको लक्ष्य राखे पनि पूरा भएको देखिंदैन।

नेपालमा विकासको ढोका विद्युतीय सवारी साधन र उपकरणका कलकारखानाले खोल्न सक्छ। जलविद्युतमा भइरहेको विकास र ऊर्जा खपत बढाउनका साथै पेट्रोलियम पदार्थले निम्त्याएको व्यापार घाटालाई न्यूनीकरण गर्न पनि कलकारखानाले महत्वपूर्ण योगदान गर्नेछ। भौगर्भिक दृष्टिले खाइलाग्दो यो देशलाई विकासको नयाँ उचाइमा पुर्‍याउन विद्युतीय, सौर्य र वायु जस्ता स्वच्छ ऊर्जा सम्बन्धित नीतिहरूलाई गहन अध्ययन गरी खुकुलो र आकर्षक बनाउँदै विदेशी लगानी भित्र्याउनु र स्वदेशी लगानी प्रबर्धन गर्न जरुरी छ।

(लेखक इन्जिनियरिङ भूगर्भविद् हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?