
२५ फागुन, काठमाडौं । इन्जिनियरहरुको संस्था नेपाल इन्जिनियर्स एशोसिएसनमा बागी उम्मेदवारी दिने उम्मेदवारलाई नेपाली कांग्रेस निकट इन्जिनियरहरुको संस्था (सिडेन) ले कारबाही गरेको छ।
संस्थाको आधिकारिक उम्मेदवारलाई समर्थन नगरी बागी उम्मेदवारी दिने १३ जनालाई संस्थाको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको सिडेनले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
अध्यक्षमा उम्मेदवारी दिएका दिलीपकुमार झासहित उनले नेतृत्व गरेको प्यानलका अन्यलाई हटाइएको हो । झाको प्यानलबाट उपाध्यक्षमा ऋषि कोइराला, महासचिवमा कृष्णसिंह बस्नेत, उपमहासचिवमा सुधिर गुरागाईंले उम्मेदवारी दिएका छन् ।
त्यस्तै संस्थाको हित विपरीत कार्य गरेको भन्दै ढुण्डीराज दाहाल, पराग कायस्थ, बज्रमानसिंह थापा, नविन तिवारी, जीवन कुमार श्रेष्ठ, प्रवेश कुमार आचार्य, रत्नेश्वरलाल कर्ण, भगतमान सिंह प्रधान र टेकराज बोहरालाई पनि कारबाही गरेको सिडेनले जनाएको छ ।
शुक्रबार हुने नेपाल इन्जिनियर्स एशोसिएनको ३३ औं केन्द्रीय कार्यकारिणी समितिमा कांग्रेसका दुई प्यानलले उम्मेवारी दिएका छन् । डा. हरिबहादुर दर्लामीको प्यानललाई कांग्रेसले समर्थन गरेको छ ।
झा नेतृत्वको प्यानललाई सिडेनका पूर्वअध्यक्षहरु डा.जीवराज पोख्रेल, ध्रुवराज थापा, चेतप्रसाद भट्टराई, किशोर शाक्य, हरिओम श्रीवास्तव र हरेराम श्रेष्ठ साथ दिएका छन् ।
प्रतिक्रिया 4