
२६ फागुन, पोखरा । व्यावसायिक गाईपालनमा नश्ल सुधार गर्ने उद्देश्यले अमेरिकाबाट ल्याइएका साँढे यतिबेला पोखरामा क्वारेन्टिनमा छन् । ती साँढेलाई पोखरा महानगरपालिका–१५, भेडीफारमस्थित फार्ममा क्वारेन्टिनमा राखिएको छ ।
अमेरिकाबाट फागुन १३ गते सातवटा साँढे हवाइजहाजमार्फत नेपाल ल्याइएका थिए । एउटा काठमाडौंमै राखेर बाँकी साँढेलाई फागुन १५ गते पोखरा ल्याइएको राष्ट्रिय पशु प्रजनन् कार्यालय, पोखराका वरिष्ठ पशु विकास अधिकृत खगेन्द्रराज सापकोटाले अनलाइनखबरलाई जानकारी दिए ।
पोखराको क्वारेन्टिनमा रहेका ती साँढे स्वस्थ छन् । प्रजनन कार्यालय, कास्कीका अनुसार पोखरा ल्याइएका साँढेको रगतदेखि अन्य आवश्यक विभिन्न स्वास्थ्य परीक्षण गरिसकिएको छ ।
‘अहिलेसम्म अमेरिकी साँढेमा कुनै स्वास्थ्य समस्या देखिएको छैन । विस्तारै पोखराको हावापानीमा बानी पर्दैछन्,’ वरिष्ठ पशु विकास अधिकृत सापकोटाले भने, ‘अब पनि ५/६ दिनसम्म कुनै स्वास्थ्य समस्या देखिएन भने फिल्डमा लैजान्छौं ।’
अमेरिकादेखि ल्याइएका ती साँढेलाई २१ दिन क्वारेन्टिनमा राख्नुपर्ने सापकोटाले जानकारी दिए । नेपालमा ल्याएकै दिनदेखि क्वारेन्टिन समय गणना गरिएकाले दुई हप्ता हुन लागिसकेको उनले सुनाए । उनले भने, ‘पोखरा ल्याएकै नौ दिन हुन लागिसक्यो । अब केही दिनमा साँढेको क्वारेन्टिन अवधि पुग्छ ।’
नेपाल लाइभस्टक सेक्टर इनोभेसन (एनएलएसई) आयोजनाले ती साँढेहरु खरीद गरेको हो । अमेरिकादेखि नेपालमा नेपाल ल्याइएका साँढेमध्ये पोखरामा २ वटा होलिस्टन र ४ वटा जर्सी जातका छन् । एउटा जर्सी साँढे भने काठमाडौंमै राखिएको छ ।
मेट ग्रुप नामक कम्पनीले ठेक्कामार्फत नेपाल ल्याएका ती साँढे भने राष्ट्रिय प्रजनन् विकास कार्यालय, कास्कीलाई हस्तान्तरण गरिएको छैन । साँढेको क्वारेन्टिन अवधि पूरा भएपछि मात्रै एनएसईले कार्यालयलाई हस्तान्तरण गर्ने सापकोटाले सुनाए ।
क्वारेन्टिन अवधि पूरा गरेपछि ती साँढेहरू वीर्य उत्पादनका लागि योग्य हुनेछन् । प्रजनन कार्यालयले ती साँढेलाई पोखरामै राखी वीर्य उत्पादन गर्ने र देशैभरि पठाउने योजना बनाएको छ । ‘व्यावसायिक गाईपालन गरिरहेका व्यवसायीको व्यवसाय बढाउन र नश्ल सुधार गर्न साँढे नेपाल ल्याइएका हुन् । पोखरामै वीर्य उत्पादन गरेर देशैभरि पठाउने योजना छ,’ सापकोटाले भने ।
फागुन ११ गते अमेरिकाको सिकागोबाट प्रस्थान गरेका साँढेहरू कतारको दोहा, भारतको नयाँ दिल्ली हुँदै १३ गते नेपाल आइपुगेका हुन् । सिकागोबाट नयाँ दिल्लीसम्म कतार एअरवेजमा यात्रा गरेका साँढेहरू दिल्लीबाट काठमाडौंसम्म नेपाल एअरलाइन्समा आएका थिए । त्यहाँबाट दुईवटा ट्रकमा पोखरा ल्याइएका हुन् ।
प्रतिक्रिया 4