
२७ फागुन, काठमाडौं । मुलुक भित्रने भन्दा बाहिरिने रकम बढी हुँदा मुलुकको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको सात महिनामा २४७ अर्ब घाटामा पुगेको छ । यो वर्ष उच्च आयात, निर्यातको हिस्सा कम, विप्रेषण आप्रवाहमा कमी तथा पर्यटक आगमन सुस्ताएसँगै मुलुक भित्र भित्रने रकम कमी आएको छ । जसले गर्दा शोधनान्तर स्थिति निरन्तर घाटामा देखिन्छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ को यसै अवधिमा सोधनान्तर स्थिति ९७ अर्ब ३६ करोड रुपैयाँ बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८१ कारेड ७६ लाख बचतमा रहेकोमा यस वर्ष २ अर्ब ८ करोड डलरले घाटामा देखिएको छ ।
चालु खाता ४१३ अर्ब ८६ करोड रुपैयाँले घाटामा रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्ष यसै अवधिमा चालु खाता १०४ अर्ब ३९ करोड रुपैयाँ घाटामा रहेको थियो । यसअवधिमा पूँजिगत ट्रान्सफरमा १९.४ प्रतिशत घटेर ६ अर्ब ३१ कारेड रुपैयाँ कायम भएको छ । तर, खुद वैदेशिक लगानीमा भने ८०.६ प्रतिशतको उत्साहजनक प्राप्ति देखिएको छ । यो १६ अर्ब २९ करोड रुपैयाँ हो । अघिल्लो आवको यसै अवधिमा वैदेशिक लगानी ९ अर्ब २ करोड रुपैयाँ मात्र रहेको थियो ।
प्रतिक्रिया 4