+
+

१५ वर्षअघि २०६ सिट जितेको मायावतीको पार्टी एक सिटमा खुम्चियो

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २७ गते १९:५४

२७ फागुन, काठमाडौं । सन् २००७ को विधानसभा चुनावमा बहुजन समाज पार्टी (बसपा) ले उत्तर प्रदेशमा २०६ सिट जित्यो । मायावती एकाएक सत्तामा पुगिन् ।

तर १५ वर्षपछि बसपा एक सिटमा खुम्चिएको छ । बसपाले पाएको भेट प्रतिशतमा पनि ठूलो गिरावट आएको छ । २०१७ मा बसपाले २२ प्रतिशत भोट पाएको थियो, यसपटक १२.८ प्रतिशतमा झरेको छ ।

हालै सम्पन्न (सन् २०२२) उत्तर प्रदेश विधानसभा चुनावमा बसपाले एउटा मात्रै सिट जितेको छ । रसडा विधानसभा क्षेत्रबाट चुनाव जित्ने बसपाका एक मात्र उम्मेदवार हुन्–उमाशंकर सिंह ।

चुनावमा व्यहारेको हारबारे पार्टीले समीक्षा गर्ने उनी बताउँछन् । २०१७ मा पनि बसपाले कम सिट जितेको थियो । तर भोटमा हिस्सा समाजवादी पार्टीको भन्दा १.९ प्रतिशत बढी थियो । तर २०१७ को तुलनामा यसपटक बसपाको भोट झण्डै आधाले घटेको छ ।

उमाशंकर सिंहले भने लगातार तेस्रो पटक चुनाव जितेका हुन् । यसअघि उनले २०१२ र २०१७ मा पनि चुनाव जितेका थिए । उमाशंकर सिंहले सुहेलदेव भारतीय समाज पार्टीका महेन्द्रलाई ६५८३ मतले हराएका हुन् ।

रसडामा उमाशंकर सिंहले ‘रबिनहुड’को छवि बनाएको बताइन्छ । उमाशंकर सिंहले ठेकदारको काम पनि गर्छन् । उत्तर प्रदेशमा बसपाको सरकार नभए पनि आफ्नो विधानसभा क्षेत्रमा उनले राम्रो काम गर्दै आइरहेका छन् ।

गत नोभेम्बरमा मायावतीले उमाशंकर सिंहलाई विधायक दलको नेता बनाएकी थिइन् । उमाशंकर सिंह मूलतः बलियाका हुन् । पहिलो कार्यकालमा उनलाई तत्कालीन राज्यपाल राम नाइकले ‘रिप्रेजेन्टेसन अफ द पिपुल एक्ट’ उल्लंघन गरेको भन्दै अयोग्य घोषित गरेका थिए ।

विधायक भएर पनि सडक निर्माणको टेन्डर लिएको उनीमाथि आरोप लागेको थियो । उनले राज्यपालको यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा चुनौती दिएका थिए । फैसला उनको पक्षमा आएको थियो ।

मायावतीले के भनिन् ?

मायावतीको पराजयलाई भारतमा दलित राजनीति धार कमजोर हुनसक्ने रुपमा विश्लेषण गरिएको छ । पञ्जाबमा बसपाले शिरोमणि अकाली दलसँग गठबन्धन गरेको थियो । बसपाले पञ्जाबमा एक सीट जितेको छ र क”ल खसेको मतमा उसले पाएको मत १.७ प्रतिशत मात्र छ । जबकी भारतका सबै राज्यको तुलनामा पञ्जाबमा दलितको भोट सबैभन्दा बढी छ ।

यूपी चुनावमा नराम्ररी पराजय बेहोरेपछि बसपाकी सुप्रीमो मायावतीले शुक्रबार एक वक्तव्य जारी गर्दै भनेकी छन्, ‘उत्तर प्रदेश विधानसभा चुनावमा अपेक्षाविपरीत नतिजा आएको छ, यसबाट पार्टीका मानिसहरू विचलित हुनु हुँदैन । सही कारण बुझेर, पाठ सिकेर पार्टीलाई अगाडि बढाउनुपर्छ र सत्तामा आउनु पर्छ ।’

उनले अघि भनेकी छन्, ‘सम्पूर्ण राज्यबाट प्राप्त प्रतिक्रिया अनुसार जातिवादी मिडियाले निरन्तर षडयन्त्र गर्नुका साथै प्रायोजित सर्वेक्षणले नकारात्मक प्रचार गरी भाजपा विरोधी हिन्दू समाज बाहेक मुस्लिम समाजलाई पनि भ्रमित बनायो । बसपा बीजेपीको बी टीम हो भनेर प्रचार गरियो । सञ्चारमाध्यमले हामी चुनाव लडेका छैनौं भनेर प्रचार गरे ।’

बीबीसी हिन्दीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?