+
+
व्यङ्ग्य :

सेलिब्रिटी लेखक

प्रकाश तिवारी प्रकाश तिवारी
२०७८ फागुन २८ गते १०:००

गन्यमान्य साहित्यकारले भरिएको अतिथि-दीर्घा । अतिथि-दीर्घाको पछाडि ‘सेलिब्रिटी लेखक विचार गोष्ठी’ अंकित ब्यानर । श्रोतागणले खचाखच भरिएको हल । जेठ महिनाको समय थियो । बिजुली बत्ती छिनछिनमा आउँथ्यो-जान्थ्यो । कोही गर्मीले निदाइरहेका थिए त कोही हाते पङ्खा हम्किरहेका । सेलिब्रिटी लेखक आइनसकेकाले कार्यक्रम सञ्चालन हुनसकिरहेको थिएन ।

यस्तैमा कसैले ‘सेलिब्रिटी ! सेलिब्रिटी !’ उच्चारण गरेको आवाज सुनियो । पछिल्लो लहरमा बस्नेले अघिल्तिर हेरे । अघिल्लो पङ्तिमा हुनेले पछाडि मुन्टो फर्काए । दायाँ टाउकाहरू बायाँतिर मोडिए । बायाँतिरका अनुहारहरू दायाँतिर घुमे । सबैजना सेलिब्रिटीको खोजीमा थिए ।

कार्यक्रम उद्घोषण गर्ने जिम्मा पाएका चतुर्मानले माइक उठाए । ‘आदरणीय महानुभावहरू ! तपाईंहरू सही अनुमान लगाउँदै हुनुहुन्छ । अबको केहीबेरमा हाम्रो कार्यक्रममा एकजना ठूला सेलिब्रिटी आउँदै हुनुहुन्छ । उहाँ को हुनुहुन्छ भन्नेबारे यहाँहरूले अन्दाज गरिसक्नुभएको हुनुपर्छ !’

चतुर्मानले यति के भनेका थिए, श्रोतागण स्वतस्फूर्त रूपमा बोल्नथाले –

‘मेरो विचारमा राजेश हमाल हुनसक्छन् । किनकि उनी प्रायः यस्ता कार्यक्रममा आमन्त्रित गरिन्छन् । उनलाई महानायक भनेको पनि सुनिन्छ ।’ एकजनाले भन्यो ।

‘मिलेन ।’

‘मह जोडी होलान् । उनीहरू बहुचर्चित हास्य अभिनेता हुन् । हरिवंशले चिना हराएको मानिस नामक पुस्तक पनि लेखेका छन्’, दोस्रोले थप्यो ।

‘गलत ।’

‘विजयकुमार पाण्डे । मेरो बुझाइमा विजयकुमार एक जमानाका नामी टेलिभिजन कार्यक्रम प्रस्तोता हुन् । खुसी नामक उनको पुस्तकले मदन पुरस्कार पाएको थियो’, तेस्रो चाहिंले भन्यो ।

यसप्रकार सहभागीले सेलिब्रिटीको नाम अन्दाज गर्ने र उद्घोषकले ‘त्यो हैन’ भन्ने क्रम लामै चल्यो । तथापि कसैको अनुमान सही निक्लेन ।

‘उसोभए चतुर्मानजी आफैं भन्नुहोस् उहाँ को हुनुहुन्छ ?’ हलले सर्वसम्मतिका साथ प्रश्न राख्यो । चतुर्मान मुसुक्क हाँस्दै बोल्न लागे-

‘उहाँ हुनुहुन्छ, उहाँ हुनुहुन्छ …!’

बिजुली बत्ती फेरि गयो । चतुर्मान अधकल्चो भनाइका साथ आसनमा फर्किए ।

त्यस दिन काठमाडौं महानगरको तापक्रम ३३ डिग्री सेल्सियस थियो । गर्मीका कारण हाते पङ्खा हम्किने र निदाउने क्रम पुनः सुरु भयो । पाँच मिनेटजतिमा हलमा बत्ती बल्यो । बत्ती आएको खुसियालीमा जोडदार ताली घन्कियो । चतुर्मानले अधुरो सन्देश पूरा गर्न माइक उठाए ।

‘उहाँ हुनुहुन्छ- मिसेज राधा ! हामीलाई भर्खरै मात्र होनहार सेलिब्रिटी मिसेज राधाले फोन गर्नुभएको थियो । राधाजी यतिखेर दशौं हजार ˆयानको घेराबन्दीमा हुनुहुन्छ । उहाँसँग सेल्फी खिचाउन सयौं ˆयानहरू तँछाडमछाड गरिरहेका छन् । सेल्फी लिन नपाए भोक हड्ताल गर्छौं भनी धम्की दिने पनि छन् भन्ने सुनिन्छ । त्यसको असर हाम्रो कार्यक्रममा पर्‍यो । फोटो सेसन सम्पन्न हुनासाथ मिसेज राधा यस कार्यक्रममा उपस्थित हुनुहुनेछ । केहीबेर धैर्यधारण गर्न सम्पूर्ण महानुभावमा अनुरोध गर्दछु’, उनले भने ।

एक बजेका लागि निर्धारित कार्यक्रम तीन बज्दा पनि सुरु भएको थिएन । उद्घाटनको रिबन काट्ने जिम्मेवारी पाएकी मिसेज राधाको अनुपस्थितिले सहभागीहरूमा निराशा छाउँदै थियो । चतुर्मानले सहभागीहरूलाई अल्मल्याउने जुक्ति निकाले । उनले मिसेज राधा उपस्थित नभएसम्मका लागि ‘सेलिब्रिटी लेखक’ शीर्षकमा प्रश्न-उत्तर आयोजन गर्ने उद्घोषण गरे । उठेका प्रश्नको जवाफ दिने जिम्मेवारी गन्यमान्य लेखक रमेश जंगलीलाई दिइयो ।

‘यो ब्लू पिक्चर हो कि कविता’, ऊ रन्कियो । ‘यो बैंसालु उमेरको स्वाभाविक विद्रोह हो’, राधाले जवाफ फर्काइन् । त्यसपछि उनले रोकिएको मन्तव्य अघि बढाइन्

‘जंगलीज्यू, हाम्रोमा एक मात्र उपन्यास लेखेर सेलिब्रिटी हुने र दर्जनौं कृति लेखेर गुमनाम रहने दुवैथरी लेखक छन् । त्यसबारेमा तपाइँ के भन्नुहुन्छ ?’ पहिलो प्रश्न आयो ।

‘आकाशमा लाखौं तारा हुँदाहुँदै एउटा चन्द्रमाले अन्धकारलाई भगाइदिन्छ । तपाईंहरूले घण्टौं बोल्ने तर बोलेका कुराको सार खिच्न मुश्किल पर्ने विद्वान र पाँच मिनेट बोल्ने तर बोलेका प्रत्येक वाक्य मीठो कोटेसनजस्तो लाग्ने दुवैथरी वक्तालाई देख्नुभएको छ । यसर्थ प्रस्तुत विषयमा संख्याभन्दा गुण महत्वपूर्ण हुन्छ भन्ने लाग्छ मलाई’, जवाफ आयो ।

‘सेलिब्रिटी बन्नका लागि व्यक्ति महत्वपूर्ण हुन्छ या कृति ?’ दोस्रो प्रश्न ।

‘अहिले भने प्रश्नकर्ताले मेरो घाँटीमै समाउनुभयो । मेरो विचारमा रस, अलंकार, गुदी, दर्शन र सार विनाको साहित्य जति नै ठूलो ओहोदाको व्यक्तिले लेखेको किन नहोस् साहित्य हुन सक्दैन । तर दुःखको कुरा, हाम्रो देश शक्तिशाली वर्गको मलद्वारबाट निस्केको अपचवायुलाई पनि अगरबत्तीको सुगन्ध भन्दै चाकरी भजाउनेहरूको देश भएको छ । एकजना कविले लेखेका पनि छन्- बडाले जो गर्‍यो काम हुन्छ त्यो सर्वसम्मत ! यहाँ ठूला मिडिया हाउस वा प्रकाशनगृहले धाप मारेकै भरमा सेलिब्रिटी लेखक कहलाएका धेरै छन् ।’

तेस्रो प्रश्न- ‘तपाईंले ठूला मिडिया हाउस या प्रकाशनगृहले सेलिब्रिटी निर्माणमा निणर्ायक हस्तक्षेप गर्न सक्छन् भन्न खोज्नुभएको हो ?’

‘मेरो भनाइ ठ्याक्कै त्यो चाहिं होइन । यदि त्यसो हुन्थ्यो भने जतिबेला लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल र बालकृष्ण समजस्ता साहित्यकार थिए, त्यतिबेला अहिलेका जस्ता बिग मिडिया हाउस या प्रकाशनगृह थिएनन् । तर पनि उनीहरू नेपाली साहित्य आकाशको दुर्लभ नक्षत्र बन्न सफल भए । चल्ला बन्नमा अण्डाभित्रको आन्तरिक तत्व निणर्ायक हुन्छ । माउको सेकताप र बाहृय वातावरण त सहायक कुरा मात्रै हुन् । साहित्यकारको प्राण भनेको कृतिको गुणस्तरीयता हो । गुण विनाको साहित्यमा जति हावा भर्नुस् त्यो पानीको फोका झैं फुट्छ ।’

‘जंगलीजी, सेलिब्रिटी लेखक बन्ने रेडिमेड फर्मूला छ भने पाउँ न ।’

‘त्यस्तो कुनै फर्मूला छैन । नो फर्मूला । त्यसको एउटै फर्मूला छ, त्यो हो- लेखन लेखन लेखन ! गुणस्तरीय लेखन । विभिन्न तह र तप्काका पाठकको मन छुने लेखन ।’

‘अनि हर्ष ट्रेडिङ्ग !’

‘वल्लो घरको नरे पल्लाघर सरे भने जस्तो हो यो । साहित्यमा दलीय हर्ष ट्रेडिङ्गको घुसपैठ भएपछि कसको के लाग्छ ! म त भन्छु, बमबार्ड दी हर्ष ट्रेडिङ्ग । बमबार्ड दी गु्रपिजम् । दल वा समूहमा आबद्ध भएपछि वाञ्छनीय योग्यता नै नचाहिने ? समूह विनाको व्यक्ति टुहुरो हुने ? अनि तथास्तु शैलीमा मुसालाई बाघ बनाउने ? यस्तो पनि हुन्छ ! आउनुहोस् यस कुप्रथामाथि निर्मम बमबारी गरौं ।’

जंगलीजीले सानदार ताली पाए ।

‘साहित्यमा कुन हदसम्मको मूर्तता या अमूर्तता स्वीकार्य हुन्छ ?’

‘अमूर्तताको महत्व नै नभएको चाहिं होइन । तर तपाईंले लिपिबद्ध गरेका कुरा अरूले बुझ्दैन भने त्यसको के अर्थ रहृयो ! त्यसैले साहित्यकारले मात्र त्यहाँ अमूर्त भाषा शैली प्रयोग गरोस् जहाँ आवश्यक छ । जस्तो कि शरीरको गोप्य अङ्गलाई अमूर्त स्वरूप दिन अण्डरवेयर पहिरिने गरिन्छ ।’

घडीको सुई साढे तीनबाट उकालो लाग्दै थियो, हलमा गज्जबको उमंग छायो । कार्यक्रम उद्घोषक चतुर्मान लगायत मञ्चमा आसीन गन्यमान्यहरूले मूलद्वारतिर हेर्दै ताली बजाए । अन्य सहभागीले पनि तालीमा ताली मिसाए । हलमा ‘सेलिब्रिटी ! सेलिब्रिटी !’ को आवाज घनीभूत हुँदै गयो ।

चतुर्मान हतारहतार ड्यासतिर लम्किए ।

‘पर्खाइको घडी समाप्त भएको छ । यतिखेर हाम्रोमाझ सेलिब्रिटी लेखिका मिसेज राधा उपस्थित भैसक्नुभएको छ । उहाँको जोडदार तालीका साथ स्वागत गरौं !’ चतुर्मानले मिसेज राधा हलमा प्रवेश गरेको सूचना र तालीको उर्दी एकैसाथ जारी गरे । मिसेज राधा क्याट्वाक शैलीमा मञ्चमा पुगिन् ।

राधाको आगमनसँगै कार्यक्रम उद्घाटनको रिबन काट्ने रिवाज विना विलम्ब सम्पन्न भयो । हाउभाउ हेर्दा मिसेज राधा हतारमा रहेको अनुमान लगाउन गाह्रो थिएन । उनले चतुर्मानलाई नजिक आउन इशारा गरिन् । चतुर्मानले राधा नजिकै पुगेर कान थापे । मिसेज राधा र चतुर्मानबीच खासखुस चल्यो । तत्कालै चतुर्मानले सभासमक्ष थप सूचना संप्रेषित गरे –

‘मिसेज राधा समकालीन नेपालको व्यस्त सेलिब्रिटीमा पर्नुहुन्छ । उहाँ अझै अन्य तीनवटा कार्यक्रममा प्रमुख वक्ता बन्नुपर्ने रहेछ । त्यसैले हामीले अन्त्यमा रहेको उहाँको सम्बोधन भाषणलाई सुरुमा सार्ने निर्णय लिएका छौं !’ उनले भने ।

मिसेज राधालाई माइक सुम्पनुअघि चतुर्मानले थप कुरा राखे –

‘हुन त मिसेज राधा परिचय दिइरहनुपर्ने नाम होइन । तैपनि माइक हस्तान्तरण गर्नुअघि म उहाँको छोटो परिचय दिन चाहन्छु । केहीबेर अघि हलमा गाइँगुइँ पनि चल्यो । कतिपय लेखकले मिसेज राधाका बारेमा अनभिज्ञता जाहेर गरेको पनि सुनियो । लेखकहरूमा एउटा समस्या छ ।

हामी आफूले लेखेका बाहेक अरूका पुस्तक पढ्दै पढ्दैनौं । देवकोटा, लेखनाथ र समबाहेक अरूलाई साहित्यकार नै गन्दैनौं । आज देशको साहित्य क्षेत्रमा कैयौं देवकोटा र समको उदय भइसकेको छ । तिनैमध्येकी एक हुनुहुन्छ मिसेज राधा । उहाँको मुखारविन्दबाट निस्केको वाक्य सुन्न प्रशंसकहरू हवाईजहाजको भाडा तिरी मेची-महाकालीबाट काठमाडौं आउँछन् । उहाँ जहाँ जानुहुन्छ त्यहाँ दशौं हजार फ्यान उपस्थित हुन्छन् । त्यसो त चलचित्र अभिनेत्रीबाट साहित्य सृजनामा डेब्यू गरेकी मिसेज राधाको ग्लामर क्यास गर्न ठूला प्रकाशन गृहले उहाँको उपन्यास प्रकाशन गरेको आरोप पनि छ ।

प्रकाशनगृहहरू कृतिको हैन व्यक्तिको व्यापार गर्छन् भन्ने पनि नसुनिएको हैन । राधाजीको नामबाट मुनाफा आर्जन गर्न उहाँको उपन्यासलाई महत्व दिइयो भनेको समेत सुनें । यसो भन्नु उहाँप्रति अन्याय हुनेछ । मिसेज राधा वर्तमान समयको सबैभन्दा चर्चित लेखिका हुनुहुन्छ । उहाँद्वारा लिखित उपन्यास ‘मधुमयी ओठ’ यस वर्षको ‘बेष्ट सेलर बुक’ मा दर्ता भएको छ ।

आज फेसबुक, ट्वीटर, टिकटक, युट्युब, टेलिभिजन, रेडियो, सहरका भित्ताहरू जता हेर्नुस् मिसेज राधालाई भेट्नुहुनेछ । कतिपय स्थापित लेखक उहाँको सामु फिका भएका छन् । उहाँ टिन एजर युवाको मुटुको ढुकढुकी बन्नुभएको छ । अब म लामो भूमिका नबाँधी समकालीन नेपालकी जबर्जस्त लेखिका मिसेज राधालाई यो माइक हस्तान्तरण गर्छु’, उनले भने ।
‘ओके छ त !’ दर्शक-दीर्घाबाट कसैले भन्यो ।

मिसेज राधा ड्यासमा पुगिन् । उनले उपस्थित सबैतिर एकसरो नजर दौडाइन् । मन्तव्यको सुरुमा राधाले आˆनो उपन्यास ‘मधुमयी ओठ’ बाट एउटा कविता साभार गरिन् –
‘तिम्रा ओठ मदिराको बोट रहेछन् प्यारे ।

म चमचमाउँदो सितारा, तिमी गड्गडाउँदो खहरे ।

गहुँ जस्तै गोरो तिम्रा छाला, स्याउझैं लाल मेरा गाला ।

म मधु तिमी चुस्की, आऊ यो अधरमा लगाइदेऊ ताला !’

हलमा बेजोड ताली र सिठी बज्यो । सबैको मुखबाट ‘वान्समोर !’ निस्कियो । प्रथम प्रहरमै मिसेज राधाले श्रोतामाथि जादू-टुना लगाइन् । एकजना श्रोता भने आसनबाट जुरुक्क उठ्यो ।

‘यो ब्लू पिक्चर हो कि कविता !’ ऊ रन्कियो ।

‘यो बैंसालु उमेरको स्वाभाविक विद्रोह हो’, राधाले जवाफ फर्काइन् ।

त्यसपछि उनले रोकिएको मन्तव्य अघि बढाइन्-

‘तपाईंहरूको ताली र सिठी सुनेपछि उपन्यास ‘मधुमयी ओठ’ का बारेमा केही भन्न मनलाग्यो । मूलतः यो उपन्यास मेरो आफ्नै प्रेमकथामा आधारित छ । नायक विशाल र नायिका राधिका लामो समयदेखि ‘लिभिङ्ग टुगेदर’ मा हुन्छन् । विशाल र राधिकाबीचको प्रेम सम्बन्धप्रति पारिवारले जनाएको अस्वीकृति नै त्यसको मूल कारण हो ।

….साहित्य सृजना शब्दको खेल रहेछ । प्रकाशनगृहले मैले खेलाएका शब्दपुञ्जलाई मन परायो । र पाठकहरूले उपन्यासको लोकप्रियतामाथि लालमोहर लगाए । यसको मुख्य श्रेय पाठकलाई जान्छ । मैले त पाठकवृन्दसामु सानो सौगात पस्केकी मात्र थिएँ । मेरा ईश्वरहरूले त्यसलाई स्वादिष्ट व्यञ्जन मानेर ग्रहण गर्नुभयो । उपन्यास प्रकाशनपछि म फ्यानमाझ थप लोकप्रिय हुनपुगें ।

हेर्नुस् न, तपाईंहरूसामु लामो भलाकुसारी गर्ने धोको थियो । तर समयको पाबन्दीका कारण पूरा नहुने भयो । अबको आधा घण्टामा यस्तै अर्को कार्यक्रममा सहभागी हुन पुग्नु छ । मेरो मर्म बुझेर तपाईंहरूले सहजै बिदा दिनुहुनेछ भन्ने आशा गरेकी छु । ‘मधुमयी ओठ’की लेखिकालाई हार्दिकताका साथ सुनिदिनुभएकोमा सम्पूर्ण सहभागीहरूमा हार्दिक आभार व्यक्त गर्दछु !’ मिसेज राधाले मन्तव्य टुङ्ग्याइन् ।

लेखकको बारेमा
प्रकाश तिवारी

उपन्यास, समालोचनाका साथै प्रशस्तै कथा, लेख, निबन्ध, कविता प्रकाशित रहेका लेखक समसामयिक विषयमा कलम चलाउँछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?