+
+

‘नाबालिगको संवेदनशीलता नबुझ्ने छुट कसैलाई छैन’

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २८ गते १९:३८

२८ फागुन, काठमाडौं । अभिनेता पल शाहविरुद्ध नाबालिग किशोरीले बलात्कारको उजुरीको दिएपछि यसका विषयमा सञ्चार माध्यम र सामाजिक सञ्जालमा बहस जारी छ ।

नेपालमा महिला हिंसासम्बन्धी कानुनको विकासक्रम, बलात्कार मामिलाको बुझाइ र त्यसमा भइरहेका बहसका सम्बन्धमा अधिकारकर्मी रेणु अधिकारीसँग अनलाइनखबरकर्मी नुनुता राईले गरेको कुराकानीको सम्पादित अंशः

अहिले पल शाह संलग्न भएको भनिएको बलात्कार मामिलाको घटनामा मिडिया र सामाजिक सञ्जालमा जुन ढंगको बहस भइरहेको छ, यसलाई कसरी हेर्नुहुन्छ ?

यसबारेमा आफूलाई लागेको कुरा भन्न मानिसहरु स्वतन्त्र छन् । तर हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने अभिव्यक्ति स्वतन्त्रता प्रयोग गर्दा आफ्नो कर्तव्य पनि सम्झनुपर्छ । विशेष गरी सार्वजनिक ओहदामा बसेका–रहेका व्यक्तिहरु झन् संवेदनशील हुनुपर्छ ।

अहिलेको केस आफैंमा संवेदनशील विषय हो । यसको संवेदनशीलता नबुझ्ने छुट कसैलाई छैन ।

अहिले चलिरहेको बहस र कानुनी व्यवस्थाबारे तपाईको धारणा के हो ?

अहिलेको कानुन सहजै बनेको होइन । बलात्कार मुद्दामा ३५ दिने हदम्याद परिमार्जन गर्दै एक वर्ष बनाउन धेरै महिलाको पसिना बगेको छ । त्यो बेला हामी दिनरात नभनी सडकमा बस्यौं, भोक हड्ताल गर्‍यौं, देशभरबाट आवाज उठायौं । सत्य पनि हो कि परिमार्जन गर्नुपर्ने विषयहरु थुप्रै छन् । त्यसबारे बहस छलफल गरौं, नपुगेका विषयहरु थपौं । तर यो उपयुक्त समय होइन । अहिले अरु मुद्दा उठाउँदा त्यसले पीडित पक्षलाई न्याय गर्छ कि गर्दैन भन्ने सोच्नुपर्छ ।

अब त महिलाहरु हिंसा सहँदैनन्, आफूविरुद्ध हुने अपराध माथि व्यक्त हुने गलत अभिव्यक्तिको डटेर आलोचना गर्छन् ।

अहिलेको घटना नाबालकसँग जोडिएको छ । हाम्रो कानुनले सहमतिमै भएपनि नालबालकसँग गरेको यौन सम्पर्कलाई करणी ठहर्छ भन्छ । कुनै पनि उमेर समूहको पुरुषले प्रलोभनमा यौन सम्पर्क गर्नु हुँदैन । यो केसमा त झण्डै दोब्बर उमेर भएका पुरुष जोडिएका छन् । ती नाबालिकले आफू पीडित भएको अनुभव गरेर नै यो केस प्रहरीमा गएको हो । त्यसैले उनीमाथि खेलबाड गर्नु हुँदैन ।

लैङ्गिक मुद्धामा महिलाहरु कै पनि एउटा दृष्टिकोण देखिएन नि ?

हिजोको मानसिकता भएका मानिसले महिला महिला लडेको देख्ने हो । यस विषयमा महिलाविरुद्ध महिला लडेका होइन । यस भित्रका फरक विचार, फरक सोचहरु लडेका हुन् । सबै महिलाको एउटै सोच हुँदैन पनि । सबैलाई एउटै खालको पीडा हुन्छ भन्ने पनि हुँदैन ।

यदि पुरुषहरुले बोलेको र उनीहरुको अभिव्यक्तिको आलोचना गरेको भए महिलाहरु खनिए भन्थे । किनकी हिजो अस्तिसम्म महिला बोल्नु हुँदैन, हकअधिकारको कुरा गर्नु हुँदैन, महिला यस्तै हुन्छन् भनेर दबाइन्थ्यो । अब त्यो स्थिति छैन । अब त महिलाहरु हिंसा सहँदैनन्, आफूविरुद्ध हुने अपराध माथि व्यक्त हुने गलत अभिव्यक्तिको डटेर आलोचना गर्छन् ।

तर यस्तो विषयमा महिला अधिकारकर्मीहरु एक हुनुपर्ने होइन र ?

यस्तो संवेदनशील विषयमा सबै जुट्नुपर्ने हो, तर त्यस्तो हुँदैन । किनकी महिला भन्नेवित्तिकै एउटै सोच, विचार, बुझाइ हुन जरुरी छैन र हुँदैन पनि । सबै महिला, महिला अधिकारका सवालमा काम गरिरहेका हुन्छन् भन्ने पनि हुन्न । कसैले परियोजना चलाइरहेका हुन्छन्, आफ्नो फाइदाका लागि ठाउँ बनाइरहेका हुन्छन् । कति साँच्चै महिला अधिकारलाई समुदाय स्तरबाट रुपान्तरण गर्नुपर्छ भनेर लागिरहेका हुन्छन् । त्यसैले एउटै धारणा हुँदैन ।

‘फेमिनिष्ट भ्यालु’ मा तीन वटा कुरा हुन्छ । पहिलो, महिलाको पहिचान स्थापित गराउन खोज्छ । दोस्रो, महिलाको शरीर माथिको नियन्त्रण महिलाकै हुनुपर्छ भन्छ । र तेस्रो, महिलाको कामको अधिकार महिलाकै हुनुपर्छ भन्छ । त्यो भनेको ‘पोलिटिकल’ मुद्दा हो । महिलाको मुद्दालाई ‘पोलिटिकल्ली’ लिएर जाने कमै हुन्छन् ।

त्यसो भए अहिले बहस गर्नुपर्ने बिषय के हो त ?

हाम्रो समाजमा कुनै महिला अथवा नाबालिगमाथि यौन दुर्व्यहार भए, बलात्कृत भएमा तत्काल उजुरी गर्न सक्ने अवस्थामा हुँदैनन् । महिलाहरु त आफैं गएर उजुरी दिनसक्ने अवस्थाका हुँदैनन् भने नाबालिगहरु जानसक्ने कुरै भएन । हाम्रो जस्तो समाजमा आफूमाथि भएको अत्याचार, त्यो पनि यौनसँग जोडिएको कुरा परिवारलाई पनि भन्न सक्दैनन् । त्यसका लागि मानसिक रुपमा धेरै नै तयार हुनुपर्छ ।

भनेपछि पनि परिवारले सहजै साथ दिने सम्भावना न्यून हुन्छ । सकेसम्म यस्ता कुरा समाजले थाहा नपाउन् भनेर चुप बस्न लगाइन्छ । किनकी हाम्रो समाज पितृसत्ता सोचले जकडिएको छ । राति हिँड्नु हुँदैन, भड्किलो लुगा किन लगाइस्, कसैले अफर गर्‍यो भन्दैमा मान्ने ? जहाँ बोलायो त्यहाँ गएपछि त्यस्तै हुन्छ जस्ता लान्छना घरमै सामना गर्नुपर्छ ।

त्यसपछि प्रहरीकोमा त्यस्तै प्रश्नहरुको सामना गर्नुपर्छ । बलात्कारको घटना कति जोखिम छ भन्ने केही दिन अघिको घटनालाई हेर्दा थाहा हुन्छ नि, ८ बर्षकी छोरी बलात्कृत भएको थाहा पाएपछि बुवाले आत्महत्या गरे । अब त्यो बालिकालाई उजुरी दिन कत्ति कठिन छ ?

यो केस पनि एक वर्षपछि उजुरीमा गएको देखिन्छ । उनीमाथि पनि कस्ता कस्ता लाञ्छना लगाइदैछ भन्ने देखिरहेका छौं । अहिले उजुरी गर्नुअघि उनी मानसिक रुपमा कति तयार हुनपर्‍यो होला ? परिवारमा नभनेका थुप्रै बच्चाहरुले पटकपटक भेटेपछि आफूलाई भएका यौन दुर्व्यवहारका घटना रुँदै सुनाइरहेका हुन्छन् ।

यसैले अहिले त १० वर्षपछि पनि उजुरी गर्न मिल्ने कानुन बन्नुपर्छ भन्ने बहस चल्नुपर्छ । एक वर्षदेखि के हेरेर बसेको थिइस् भन्ने होइन, स्याब्बास ! अब तिमीले न्याय पाउँछौं भनेर हौसला दिनुपर्छ हामीले । किनभने एक वर्षअघि मात्रै होइन, दश वर्षपछि पनि गलत भनेको गलत नै हो ।

अहिले भइरहेको बहसले कस्तो असर पार्छ त ?

महिलाहरुले अधिकार पाएको धेरैलाई मन परेको छैन । पितृसत्ता खल्बलिएको मन नपराउने समूह छन् । सामाजिक रुपान्तरण आफैंमा कठिन प्रक्रिया हो । अहिले हामी त्यसलाई हल्लाउन सक्नेसम्म भएका छौं । त्यसले एकथरिको मान्छेहरुलाई मेरो हातबाट पावर जान्छ भन्ने अनुभूति हुन थालेको छ । त्यही कारण उनीहरु यस्ता बहसलाई महिला महिलाको लडाइँ बनाइदिन्छन् ।

गलत बहसले मिल्दासम्म चमत्कार, नमिलेपछि बलात्कार भनेर उडाउनेलाई पनि मद्धत हुन्छ । हुन नै त्यही हो । मिल्दा चमत्कार नै हो, नमिलेपछि बलात्कार नै हो । नमिलेपछि नै हुने हो समस्या । त्यही कारण बैवाहिक बलात्कारको मुद्दा स्थापित भएको हो । तर यो नबुझ्नेहरुले यसैको बलमा महिलाप्रति नकारात्मक भाव फैलाउँछन र महिलाहरुले न्याय पाउन कठिन हुन्छ ।

महिला अधिकारको आन्दोलनमा चाहिं यसले केही असर पार्छ कि ?

फरक पार्दैन । किनकी यो अहिले सतहमा मात्रै आएको हो । म समुदाय स्तरमा काम गर्ने व्यक्ति हुँ । मैले पिँधमा रहेर काम गरिरहेका महिलाहरुको जीवन देखेकी छु, भोगाई महसुस गरेकी छु । उनीहरुको जीवन भोगाइ रुपान्तरण हुनुपर्छ भन्ने मान्यता म राख्छु ।

एक खाले महिला हिजो पनि चाँदीको प्लेट पाएर जन्मिएका थिए । आज पनि चाँदीको प्लेटमा खाइरहेका छन् । उनीहरुले महिला, नाबालिगहरुले भोगिरहेको वास्तविक समस्या नै बुझेका हुँदैनन् र यस्तै यस्तै कुराहरु गरिहन्छन् ।

पीडित महिला, नाबालिगको न्यायमा प्रभाव पर्ने कुराहरु गरिरहेका हुन्छन् । त्यही कुरा अहिले सतहमा भएको मात्रै हो । यस्ता कुराले महिला आन्दोलनलाई असर होइन, सफा हुने मौका चाहिं दिन्छ ।

यसले न्यायमा भने प्रभाव पार्ने जोखिम हुन्छ । किनभने त्यहाँ समुदाय तहमा काम गर्नेहरु भन्दा अन्तर्राष्ट्रिय संघसंस्थासँग हुने, वरिपरि देखिने मान्छेको कुरा सुनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?