+
+

एमाले मुद्दा उठाएर मुद्रा कमाउने पार्टी होइन : ओली

'हामीले नागरिकता कानुन ल्यायौं, यो सरकारले रोक्यो'

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २८ गते १८:१९

२८ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता समस्या समाधान गर्न अध्यादेश ल्याए पनि अहिलेको सरकारले रोकेको दावी गरेका छन् ।

शनिबार वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई एमाले प्रवेश गराउँदै उनले नागरिकता विधेयक फेरि आफूहरुले नै अघि बढाउने दावी गरे ।

‘नागरिरकताका समस्या हामीले संसदबाट हुन नसकेपछि संसद नचलेका बेला अध्यादेश ल्याएर पनि नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता प्राप्त गर्नुपर्छ भनेर हामीले कानून बनायौँ तर अहिलेको गठबन्धनले त्यसलाई कायम रहन दिएन । फेरि हामी त्यसलाई अघि बढाउनेछौँ’ उनले भने ।

एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएका बेला सरकारले नागरिकतासम्बन्धी अध्यादेश ल्याएको थियो । तर सर्वोच्च अदालतले महत्वपूर्ण विषयमा अध्यादेशमार्फत निर्णय गर्नु उचित नहुने भन्दै नागरिकता विधेयक अघि नबढाउन अन्तरिम आदेश दिएको थियो ।

अध्यक्ष ओलीले नेकपा एमाले मुद्दा उठाएर मुद्रा कमाउने पार्टी नभई जनताका दुःख र समस्यालाई हटाउने पार्टी भएको दाबी गरे ।

‘नेकपा एमाले भनेको देश बनाउने पार्टी हो । जनताका समस्या समाधान गर्ने पार्टी हो । जनताका दुःख कष्टहरुलाई सम्बोधन गर्ने र तिनीहरुलाई हटाउने पार्टी हो । यो कुनै मुद्दा उठाएर मुद्दा देखाएर मुद्दाका नाममा मुद्रा कमाउने पार्टी होइन’ उनले भने ।

अध्यक्ष ओलीले आफ्नो सरकारका पालामा मधेशमा विकास निर्माणको काम अघि बढाएको पनि बताए । ‘हामीले तराईको विकासका लागि हुलाकी राजमार्ग, उत्तर दक्षिण राजमार्गहरुलाई चौडा गर्ने काम गरेका छौं’ उनले भने, ‘हामीले महानगर, नगर र शहरहरुलाई चक्रपथद्वारा विकास गर्ने, शहरी विकास आयोजना हरेक सदमुकामहरु आयोजनाहरु राख्ने, स्मार्ट सिटीहरुको अवधारणाअनुसार स्मार्ट सिटी अघि बढाउने कामहरु गरेका थियौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?