+
+

अर्को सिजनदेखि एनएसलबारे विवाद हुँदैन : एन्फा महासचिव

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २९ गते १९:४९

२९ फागुन, काठमाडौं । चैत अन्तिम साता सुरु हुने तयारीमा रहेको नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको अक्सन सम्पन्न भइसकेको छ । नेपालको पहिलो फ्रेन्चाइज लिगमा १० टिम सहभागी हुँदैछन् । तर, शहीद स्मारक ए डिभिजन लिगका क्लबहरू मनाङ मर्स्याङ्दी, थ्रीस्टार, संकटा तथा न्यूरोड टिम (एनआरटी) ले असन्तुष्टि जनाइरहेका छन् । यही विषयको सेरोफेरोमा रहेर न्यूज एजेन्सी नेपालले अखिल नेपाल फुटबल संघका महासचिव इन्द्रमान तुलाधरसँग गरेको कुराकानीको सम्पादित अंश :

एनएसललाई लिएर ए डिभिजनका केही क्लबले खेलाडी स्थानान्तरणको विषयमा असन्तुष्टि जनाइरहेका छन् । यसको कारण के हो ?

एनएसएल विशुद्ध फ्रेन्चाइज लिग हो र सोही अनुसार हामीले एन्फाको कार्यक्रममा समावेश गरेका हौं । फुटबल विकासमा टेवा पुगोस् भनेर फुटबल प्रतियोगितासँगै विभिन्न व्यापारिक घरानाहरूलाई फुटबलमा ल्याउने प्रयास गरेका हौं । एनएसललाई सहयोग पुगोस् भनेर खेलाडीसम्बन्धी नियमावली बनाएका छौं । एनएसएलको समयमा खेलाडीलाई क्लबले रिलिज गर्नुपर्ने व्यवस्था नियामावलीमा राखेका छौं ।

ए डिभिजन लिगलगत्तै मोफसलका प्रतियोगिताहरू खेल्नुपर्ने समयमा खेलाडीलाई अक्सनमा समेट्न कतिपय क्लबको असहमति थियो । सल्लाहबिना नै एनएसलको मिति तोकिएकामा क्लबहरूको गुनासो आएको छ । क्लबहरूको गुनासो सम्बोधनका लागि एन्फाले विभिन्न चरणका छलफल गरिरहेको छ । आज-भोलि नै यस विषयले टुङ्गो लाग्ने विश्वास छ ।

मोफसलमा प्रतियोगिता भइरहेको अवस्थामा अवरोध नगरियोस् भन्ने क्लबहरूको चाहना छ । खेलाडीहरूको हकमा भने क्लबसँग छलफल नभएकोमा उनीहरूको असन्तुष्टि छ ।

कुनै पनि देशमा समानान्तर लिग सम्भव हुँदैन भन्ने फिफा र एएफसीको गाइडलाइन छ । तर, शहीद स्मारक ए डिभिजन लिग हुँदाहुँदै एनएसएललाई फिफा र एएफसीबाट मान्यता दिलाउन पहल गर्ने भन्ने समझदारी भएको विषय बाहिर आएको छ नि ?

एन्फा, एनएसएल आयोजक, त्यसमा खेल्ने टिम सबै यो विषयमा स्पष्ट छन् । नेपालको एउटै मात्र आधिकारिक लिग भनेको शहीद स्मारक ए डिभिजन लिग नै हो । यसैको च्याम्पियनले एएफसीको प्रतियोगिता खेल्छ । एनएसएललाई एउटा फ्रेन्चाइज लिगको रुपमा लिएका छौं । यो प्रतियोगिता करिब साढे दुई महिना चल्छ ।

यो प्रतियोगिताबाट कुनै पनि क्लबले अन्य प्रतियोगितामा सहभागिता जनाउँदैनन् । यो विशुद्ध फ्रेन्चाइज प्रतियोगिता हो । व्यापारिक घरानाहरूको लगानीमा क्लबहरूले खेल्ने प्रतियोगिता हो । यो लिग शहीद स्मारक लिगलाई प्रतिस्थापन वा विकल्पको रुपमा ल्याइएको प्रतियोगिता होइन । शहीद स्मारक ए डिभिजन लिग नै नेपालको आधिकारिक लिग हो ।

अहिले उत्पन्न भइरहेको विवाद समाधानका लागि एन्फाले कस्तो गृहकार्य गरिहेको छ ?

सुरुवातमा असन्तुष्टि जनाएका क्लबसँग एन्फामा बसेर छलफल गरिसकेका छौं । एन्फाको बैठकमा पनि केही विषयमा सहमति भइसकेको छ । छलफलपछि अक्सन रोक्नका लागि एन्फाले पत्राचार पनि गरेको थियो । तर, पत्र पठाउन ढिला भएका कारण अक्सन रोक्न सम्भव भएन ।

आयोजकले अक्सन गरेपछि सबै विषयमा छलफल गर्न खुला छौं भनेपछि अहिले असन्तुष्टि विषयमा विभिन्न चरणमा छलफल भइरहेको छ । दुवै पक्षसँग हामीले वार्ता गरिहेका छौं । छलफल करिब अन्तिम चरणमा पुगेको मैले बुझेको छु । त्यस विषयमा एन्फा अध्यक्षसँग क्लबहरूको भेटपछि एनएसएल क्लबहरूलाई औपचारिक रुपमा छलफलका लागि आह्वान गर्छौं । त्यसपछि एनएसल क्लव र एन्फा बसेर आगामी दिनमा यस्तै विवाद नदोहोरियोस् भनेर विवाद समाधान गर्छौं ।

एनएसल दोस्रो संस्करण हुन लाग्दा अहिलेसम्म एन्फाको क्यालेन्डरमा समावेश छैन । अहिले नै मोफसलमा पनि विभिन्न प्रतियोगिता भइरहेका छन् । एनएसएल र अरु प्रतियोगिताको व्यवस्थापन कसरी गर्नुहुन्छ ?

मोफसलमा विभिन्न गोल्डकप प्रतियोगिता भएकाले एनएसएललाई समावेश गर्न केही कठिन त पक्कै छ । सामान्य अवस्थामा भदौ, असोजदेखि कात्तिकको २० सम्म एनएसएललाई समय दिने योजना बनाएका छौं । त्यसलगत्तै एउटा नकआउट प्रतियोगिता गर्ने वा शहीद स्मारक ए डिभिजन लिग आयोजना गर्ने योजनामा छौं ।

त्यसपछि फागुनसम्म लिग सञ्चालन गर्ने चैत वैशाख, जेठ गोल्डकपका लागि छुट्याउने सोचमा छौं । यस वर्ष लिगलगत्तै एनएसएल आयोजना हुँदा केही कठिनाइको अवस्था छ । अर्को वर्ष आयोजना हुने एनएसएलका लागि अक्सन अगाडि खेलाडी रिलिजको बाटो खुला गर्नेछौं । त्यसपश्चात रिलिज भएका खेलाडीमात्र अक्सनमा समावेश हुन पाउने प्रावधान तोक्नेछौं ।

समग्र रुपमा सबैलाई समेट्नका लागि राष्ट्रिय लिग पनि आयोजना गर्नुपर्छ । मोफसलका प्रतियोगिता पनि उत्तिकै छन् । शहीद स्मारक ए, बी, सी डिभिजनका लिग आयोजना गर्नुपर्ने हुन्छ । महिलाका उत्तिकै प्रतियोगिता छन् । हामी यी सबैलाई समेट्ने गरी भदौबाट सिजन सुरु गर्ने तयारी गरिहेका छौं ।

तोकिएको मितिमा नै एनएसएल आयोजना हुन्छ त ?

एनएसएल तोकिएको मितिमा नै हामीले आयोजना गर्नुपर्छ । तोकिएको मितिभन्दा पछि धकेलिएको अवस्थामा राष्ट्रिय टोलीको तयारीलाई असर गर्छ । हामीले एशियन कप छनोट खेल्दैछौं । हामी अत्यन्तै कठिन समूहमा रहेका छौं । जोर्डन, कुवेत र इण्डोनेसिया जस्तो समूहमा रहेका छौं । तयारी राम्रो गर्नुपर्छ । त्यसका लागि मिति तलमाथि भए असर पर्छ । तसर्थ एनएसएल छिटो सकेर राष्ट्रिय टिम तयारीमा लाग्नुपर्नेछ । समयमा नै सम्पन्न गर्नका लागि क्बवहरूसँग छलफल गरिहेका छौं । कति जटिल विषय त छलफलपछि किनारा लागेका छन् । त्यसैले यो विवाद पनि वार्ताबाटै समाधान हुनेमा विश्वस्त छौं ।

एनएसएल आयोजक र एन्फाबीच एनएसएल आयोजनाका विषयमा के के समझदारी छ ?

एनएसएलको आर्थिक पाटोमा खासै केही कुरा भएको छैन । आयोजकले प्रतियोगिता मनदेखि नै आयोजना गरेको पाएका छौं । अघिल्लो संस्करण कोरोना महामारीको बीचमा पनि बन्द रंगशालामा खेलाएर सफल तरिकाले आयोजना भयो । यही प्रतियोगिताबाट खेलाडीको आर्थिक हिसाबमा राम्रो भएको पाएका छौं ।

अहिले हामीले आयोजकले प्राविधिक पाटोमा सहयोग गरेका छौं । रेफ्री खटाउने, मैदान व्यवस्थापन, परिषद‍्बाट स्वीकृति लिने काम, प्रतियोगिताको नियमावली बनाउने, खेलाडी दर्ता, खेलाडी स्थानान्तरण, अनुशासनलगायतका विभिन्न पाटामा हामीले सहयोग गरेका छौं । बाँकी आयोजनाको जिम्मा उनीहरूको हो । परम्परागत तरिकाले चलिरहेको फुटबल भन्दा भिन्न फुटलबल एनएसएलमा पाएका छौं । जुन हामीले लिगमा पनि अनुसरण गर्ने प्रयास गरेका छौं ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?