+
+

भालेको डाकसँगै पानी लिन पँधेरामा धाउनुपर्ने बाध्यता हट्यो

रासस रासस
२०७८ फागुन ३० गते १२:४९
फाइल तस्वीर

३० फागुन, गलेश्वर । पश्चिम म्याग्दीका पाँच गाउँमा खानेपानीको समस्या समाधान भएपछि अहिले दैनिकी फेरिएको छ । मालिका गाउँपालिकाको विम, देवीस्थान, रुम, मङ्गला गाउँपालिकाको बरङ्जा र अर्मनमा स्थानीय सरकारले खानेपानी आयोजना सञ्चालन गरेपछि यहाँको दैनिक सहज भएको हो ।

गाउँगाउँमा पानी पुगेपछि अहिले सबेरै खानेपानीकै निम्ति भौतारिनुपर्ने बाध्यताबाट मुक्त भएको वरंजाका इन्द्रबहादुर रोकाले बताए ।

‘केही वर्षअघिसम्म खानेपानीको जोहो गर्दैमा दिन बित्थे । भालेको डाकसँगै खानेपानी लिन धारा पँधेरीमा पुग्नुपर्थ्यो, तर अहिले खानेपानीको समस्या टरेको छ । घरमै पानी आउँछ खानेपानीबाट बचेको पानीले करेसाबारीमा तरकारीलाई सिंचाइ गर्दै आएका छौं,’ उनले भने । बस्ती-बस्तीमा खानेपानी पुगेसँगै यहाँका स्थानीयवासीको घरको करेसाबारी हरियाली देखिन थालेको छ । आयोजना सञ्चालनपछि खानेपानीको समस्या टर्नुका साथै आफ्नै करेसाबारीमा तरकारी उत्पादन गर्दै आएको अर्मनकी राधिका सापकोटाले बताइन् ।

‘पहिले पहिले खानेपानी अभाव हुँदा मानिसलाई पिउने पानी पाउन नै सकस थियो, पशुचौपायालाई त कुरै थिएन, तर अहिले घरमा तरकारी खेती गर्दै आएका छौं । तरकारी किन्नु पर्दैन । खानेपानी आयोजनाले गाउँ नै फेरिएको झैं लागेको छ,’ उनले भने ।

जिल्लाका मध्यभाग र म्याग्दी तथा कालीगण्डकी नदीका तटीय क्षेत्रमा पर्ने गाउँहरु वर्षौंदेखि खानेपानीको समस्याले ग्रसित बन्दै आएका थिए । नागरिकको समस्यालाई समाधानका निम्ति स्थानीय सरकारले चासो दिंदै आएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । पश्चिम म्याग्दीमा खानेपानी आयोजना सञ्चालन भएसँगै यस क्षेत्रका आठ हजार बढी घर परिवार लाभान्वित बनेका उनले जानकारी दिए ।

जिल्लाका केही स्थानीय तहमा खानेपानीको सहज पहुँच पुगेर स्थानीयको जनजीवन सरल र सहज बनेको भएपनि बेनी नगरपालिकाकाका अधिकांश वडामा खानेपानीको समस्या विकराल बन्दै गइरहेको स्थानीयले बताएका छन् । बढ्दो जनसङ्ख्या र घट्दो पानीका स्रोतका कारण नगरपालिका क्षेत्रमा खानेपानीको समस्या बढ्दै गइरहेको हो । नगरपालिकाले एक घर एक धाराको अवधारणा लिएको भएपनि पानीको स्रोतको अभावमा योजना प्रभावकारी हुन नसकेको पाइएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?