+
+

जसपा जाग्नुपर्ने तीन कारण

मिलनकान्छा किराँती मिलनकान्छा किराँती
२०७८ चैत १ गते १०:४३

जनता समाजवादी पार्टी, नेपाल (जसपा) निर्माणको चरणमा छ । घर निर्माण हुनुअघि ईंटा, छड, सिमेन्ट, बालुवा, गिट्टी, ढुंगालगायत अन्य सामग्री बटुलिए झैं जसपामा कांग्रेस, एमाले, माओवादी, मधेशवादी लगायत अन्य पार्टी, पङ्क्ति र तह तप्काबाट बटुलिएका छन् । भेला भएका छन् ।

यतिखेर को कसलाई कसरी कहाँ थुपारियो ? राखियो ? सहायक कुरा हो । बटुलेर राख्ने क्रममा कोही तल राख्नुपर्ने माथि राखियो होला, कोही माथि राख्नुपर्ने तल राखिन गयो होला ! यो अस्वाभाविक होइन । मिलाउँदा मिलाउँदै नमिल्न सक्छ, काम गर्दागर्दै पूरा नहुन सक्छ । समय लाग्न सक्छ । बिग्रिन सक्छ । यो सामान्य कुरा हो ।

प्रारम्भिक निर्माणको चरणमा यस्ता सानातिना समस्या आउनु स्वाभाविक हो । तर, यही सानातिना समस्याले घर नै नबन्नेसम्मको अवस्था आउन सक्दोरहेछ भन्ने पाठ पनि जसपाले सिकिसकेको हुनुपर्दछ । सिक्नुपर्दछ । सांगठनिक र प्राविधिक सानातिना समस्या बेलैमा हल नगरिंदा जसपाको पार्टी गतिविधि सेलाएको थियो । भर्खरै सम्पन्न संघीय परिषदको प्रथम बैठकले यसलाई पुनर्ताजगी गरेको छ ।

तात्कालिक रूपमा एमसीसीको संकट देशमा ज्यूँका त्यूँ रहे पनि पार्टीले गरेको निर्णयले विवाद र द्विविधा अन्त्य भएको छ । परिषद बैठकमा प्रस्तुत प्रतिवेदनले पार्टी, पंक्तिलाई ऊर्जा भरेको छ । जसपा सामान्य पार्टी हो । तर, यसको जिम्मेवारी असामान्य छ । त्यसैले, यसलाई सेलाउने छुट छैन । निदाउने छुट छैन । नबन्ने छुट छैन । भत्कने, फुट्ने छुट छैन । जसपा जाग्नुपर्ने तीन महत्वपूर्ण कारणहरू यसरी संश्लेषित गर्न सकिन्छ ।

इन्द्रेणी राष्ट्रवादको व्यावहारिक पुष्टि

नेपालको विशेषता विविध जाति, भाषा, क्षेत्र, संस्कृति र सभ्यताका सप्तरंगी इन्द्रेणी प्रकृतिको छ । ती सप्तरंगी इन्द्रेणी सदियौंदेखि एक रङद्वारा अन्याय र उत्पीडनमा परेको छ । यस्तो हुन पुग्नु कुनै जाति÷समुदायको दोष नभएर हिजोका शासक र सामन्ती राज्यव्यवस्थाको उपज हो ।

अधिकार प्राप्तिको संघर्षमा यहाँ महिलाको पीडा र समस्या पुरुषले उठाइदिने, जनजातिको समस्या र मुद्दा खस आर्यले उठाइदिने, मधेशको मुद्दा पहाडले उठाइदिने, कर्णालीको मुद्दा काठमाडौंले उठाइदिने गरेको पाइन्छ ।

एक जाति, भाषा अझ भनौं सीमित व्यक्तिले सबै जातजाति, भाषा, क्षेत्र, लिंगको नारा लगाइदिने, मुद्दा उठाइदिने र त्यसैको आडमा सत्तामा पुगेर राज्यको स्रोत, साधनको दोहन गर्ने, चरम भ्रष्टाचार गर्ने गरेको पाइन्छ । ती इन्द्रेणी समाजको भाग्य र भविष्यमाथि खेलबाड गरेको पाइन्छ । धोका दिएको पाइन्छ । यसकारण, अब अरूले होइन, आफैंले समस्या हल गर्न र मुद्दा उठाउँदै नेतृत्व गर्न जसपा जाग्नुपर्दछ ।

नेतृत्व लिएर समस्याको हल गर्न सक्नुपर्दछ । उठाएका मुद्दाहरूलाई स्थापित गर्न सक्नुपर्दछ । त्यसको लागि संगठनलाई चलायमान बनाउन संघीय परिषद खारेज गर्दै सबै सदस्यलाई वैकल्पिक केन्द्रीय समितिमा कार्यकारी अधिकार दिएर वडा÷टोल स्तरसम्म काम गर्न पठाउनुपर्दछ ।

परिषद अध्यक्षलाई क्लष्टरको आधारमा पाँच अध्यक्ष मण्डल बनाई एकको जिम्मेवारी पाउने गरी व्यवस्थापन हुनुपर्दछ । विधायिकीको काम विधान अधिवेशन र महाधिवेशनको लागि तोकिएको सार्वभौम सदस्यहरूले गर्नेछन् ।

महिला, मधेशी, आदिवासी÷जनजाति, शिल्पी÷सीमान्तकृत र खस÷आर्यबाट पाँच सदस्यीय अध्यक्ष मण्डल बनाएर देश, समाजमा भएको इन्द्रेणी जस्तै पार्टी नेतृत्व एवं सबै तह, अंग र राज्यसत्ता, सरकारमा पनि इन्द्रेणी राष्ट्रियता झल्किनुपर्दछ । व्यवहारतः पुष्टि हुनुपर्दछ ।

पहिचान, अधिकार र सुशासन, समृद्धिको प्राप्ति

नेपालमा नयाँ संविधान जारीसँगै नयाँ लोकतान्त्रिक राज्यव्यवस्था लागु भए पनि संविधानलाई पूर्ण मान्न सकिंदैन । लोकतन्त्र र समावेशिताले सन्तोषजनक रूपमा पूर्णता पाएको छैन ।

संविधानतः पहिचानसहित संघीयता संस्थागत गर्न निरन्तर संघर्ष गर्नुपर्ने अवस्था छ । हाल गरिएको संघीयताको सिमांकन र नामांकन नेपाली माटो र मर्म अनुरूप छैन । जसको कारण हालको संघीयताले उचित निकास दिन र तीव्र विकास गर्न सक्दै सक्दैन ।

यही अक्टोपसको अनुहारजस्तो संघीयतालाई देखाएर विकास र निकासको बाधक संघीयता मान्नेहरू हिजो संघीयतालाई यसरी हाँसको चाल न बकुल्लाको चाल बनाउन कम्मर कसेर लागेका थिए । खासमा, कांग्रेस, एमालेले खोजेको जस्तो संघीयता नेपाली जनतालाई चाहिएको थिएन ।

जनताको चाहना विपरीतको संघीयता बनाएर अन्ततः संघीयता नै काम छैन, गणतन्त्र काम छैन भनेर जनताको रगत, पसिना र संघर्षबाट प्राप्त उपलब्धिलाई अपमान गर्न तिनै हात धोएर लाग्नेछन् । यस्तो अवस्था आउन नदिन जसपा जाग्नुपर्ने हुन्छ । सांगठनिक र सैद्धान्तिक रूपमा बलियो भएर बस्नुपर्ने हुन्छ ।

पहिचानको मुद्दालाई गिजोलेर छुनै नसकिने, बोल्नै नहुने जातीय अफिम तिनैले बनाइदिएका छन् । त्यस्तो जातीय रंगले लिपपोत गर्न जानेर÷नजानेर पार्टीभित्रै पनि क्रियाशील प्रवृत्ति छैन भन्न सकिन्न ।

पहिचान अत्यन्त संवेदनशील र प्राज्ञिक विषय भएकोले यसलाई संयमित भई संवेदनशीलतालाई साम्प्रदायिकतामा परिणत हुन नदिई अधिकार स्थापित गर्ने चुनौती एकातिर छ भने अर्कातिर त्यही बखत सुशासन र समृद्धिको मोर्चा सम्हाल्ने मात्र नभई पूरा गर्नैपर्ने बाध्यात्मक कार्यभार छ ।

यो कार्यभार पूरा गर्न जसपाबाहेक विद्यमान कुनै पनि दल योग्य देखिंदैनन् । कांग्रेस, एमाले फरक ब्राण्डका एउटै विशेषता र प्रवृत्ति भएका दल हुन् । अरूहरू पनि फरक छैनन् । जसपालाई पनि ढाल्नुपर्ने, गाल्नुपर्ने, सोच, शैली, चिन्तन–व्यवहार फेर्नुपर्नेछ ।

नेतृत्व लिएर समस्याको हल गर्न र उठाएका मुद्दाहरूलाई स्थापित गर्न सक्नुपर्दछ ।

संघर्ष गर्नुपर्नेछ । जनताको मन जित्नुुपर्ने, जनताले विश्वास गर्नुपर्नेछ । त्यो वातावरण बनाउन ढिलाइ गरिनुहुँदैन । नत्र, निर्वाचनदेखि निर्वाचनसम्मको राजनीति चलिरहन्छ । यस्तो राजनीति कांग्रेस, एमालेको इच्छा, चाहना हो । यसले कुनै निकास दिन र विकास गर्न सक्दैन ।

जसपा समावेशी लोकतन्त्र, बहुलराष्ट्रवाद, समुन्नत समाजवादको पक्षमा बलियो उभिएको कारण पहिचान अधिकारलाई स्थापित गर्न असामान्य जिम्मेवारी बोकेको छ ।
संघीयताको मर्म र सिद्धान्त विपरीत भएका नामांकन र सिमांकनका कारण आइपर्ने समस्या र कुतर्कलाई निराकरण गर्ने क्षमताको विकास गर्दै सुशासन र समृद्धिको जग बसाल्न जसपा जाग्नै पर्ने हुन्छ । लोकतन्त्रको बाटो भएर पहिचानसहित अधिकार स्थापित गर्दै सुशासन र समृद्धि प्राप्त गरेपछि समुन्नत संघीय समाजवादतिर पुगिन्छ ।

त्यो समुन्नत संघीय समाजवाद कांग्रेसको नवउदारवादी लोकतन्त्रमा आधारित समाजवाद र एमालेको जनताको बहुदलीय जनवादमा आधारित समाजवाद भन्दा कैयौं गुणा सुन्दर र सफल समाजवाद हुन्छ । त्यसको लागि जसपाले पहिचानसहित अधिकार र सुशासन, समृद्धि प्राप्त गर्न संघर्ष गर्नुपर्दछ ।

समुन्नत संघीय समाजवाद

जसपाले समुन्नत संघीय समाजवादलाई चार तत्व संघीयता, सुशासन, समृद्धि र समाजवादमा विभक्त गरेको छ । माथि लेखिएझैं लोकतन्त्रको बाटो भएर संघीयतालाई पहिचानसहित अधिकार स्थापित गरिनुपर्दछ । तब मात्र जनताले चाहेको जस्तै समुन्नत संघीय समाजवाद प्राप्त गर्न सकिन्छ ।

लोकतन्त्र त कांग्रेस, एमालेले पनि स्वीकार्छ, अरूले पनि स्वीकार्छन् भन्ने जवाफ आउन सक्छ । त्यसोभए अहिले भएका संघीयताको सिमांकन र नामांकन ठीक छ कि छैन, अध्ययन गर्नुपर्ने हुन्छ । ठीक छ भने किन निकास दिएन ? विकास भएन ? जवाफ दिनुपर्ने हुन्छ ।

स्मरण रहोस्, अहिलेसम्म भएका प्रदेशको नामकरणमध्ये मधेश प्रदेशमा मात्र पहिचानको आधारमा नामकरण भएको छ । त्यहाँ जसपाको सरकार भएकोले मात्र पहिचानसहित अधिकार स्थापित गर्न सम्भव भएको हो ।

यो सबैलाई अवगत भएको कुरा हो । के प्रदेश–२ मधेश प्रदेश नामकरण हुने बित्तिकै नेपालदेखि मधेश टुक्रियो ? पहिचानको कुरा उठाउँदा तर्सिएर अतिरञ्जित ढंगले जातीय÷क्षेत्रीय विखण्डनकारी आरोप लगाउनेहरूले जवाफ दिन सक्नुपर्दछ ।

होइन भने, प्रदेश–१ किरात, प्रदेश–२ मधेश, प्रदेश–३ नेवा, क्रमशः ताम्सालिङ, तमुवान, मगरात राख्दैमा देश टुक्रिन्छ भन्ने बोक्रे प्रश्नको जवाफ जसपाले प्रदेश–२ मा मधेश प्रदेश नामकरण गरेर गतिलो जवाफ दिइसकेको छ ।

पहिचानसहित संघीयतालाई वैज्ञानिक क्रियान्वयन गरिरहँदा देशमा भएका विद्यमान भ्रष्टाचार, शोषण र अत्याचारलाई आँखा छोप्न सकिन्न । समृद्धि प्राप्त गर्न सुशासन अनिवार्य शर्त हुन आउँछ । राज्यको आर्थिक चुहावट रोकिनुपर्दछ । भ्रष्टाचार, शोषण र अत्याचारका निम्ति शून्य सहनशीलता हुनुपर्दछ । यसका लागि जसपाले निरन्तर खबरदारी र संघर्ष जारी राख्न जाग्नुपर्दछ ।

संघीयताको वैज्ञानिक कार्यान्वयन, सुशासन र सदाचारयुक्त समाज र आर्थिक, सामाजिक, सांस्कृतिक रूपमा समृद्धि हासिल गरेपछि मात्र समाजवाद स्थापना हुन जान्छ । सामन्ती राज्यव्यवस्थाको अदृश्य अवशेष र दलाल पूँजीवादी युगको चरम चपेटालाई चिर्दै अघि बढेपछि समुन्नत संघीय समाजवाद प्राप्त गर्न सक्दछौं ।

त्यो प्राप्त गर्न आज नै अहिल्यैदेखि माथि उल्लेखित अधिकार, अवस्था र व्यवस्था प्राप्त गर्न संघर्ष गरिनुपर्दछ । जसपाले ती सबै कार्यभार पूरा गर्ने आँट र साहस बटुलेर संघर्षरत रहनुपर्दछ ।

(लेखक जसपा सम्बद्ध नेता हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?