
१ चैत, काठमाडौं । नेपाल सांस्कृतिक संस्थानले सांस्कृतिक फोटो पुस्तक प्रकाशन गर्ने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संस्थानको वार्षिकोत्सवको अवसरमा फोटो पुस्तक प्रकाश गर्ने जानकारी दिइएको हो । संस्थानले आगामी असार ५ गते आफ्नो ५० औं वार्षिकोत्सव मनाउँदैछ ।
फोटो पुस्तकमा मौलिक भेषभूषा, गरगहना, जीवनशैली, रहनसहन, रीतिरिवाज, संस्कार, चाडपर्व, जात्रा, जातीय एवं सांस्कृतिक महत्वका विभिन्न तस्वीर समेटिने जनाइएको छ ।
संस्थानले फोटो पुस्तकका लागि तस्वीर पठाउन आह्वान समेत गरेको छ । यसका लागि सांस्कृतिक संस्थानको वेबसाइटमार्फत देशविदेशबाट जोसुकैले तस्वीर पठाउन सक्ने व्यवस्था गरिएको छ । प्राप्त तस्वीरमध्ये निर्णायक समितिको छनोटका आधारमा लगभग तीन सय तस्वीर पुस्तकमा समेटिने भएको छ । त्यसमध्ये उत्कृष्ट १० तस्वीरलाई जनही १० हजार रुपैयाँ पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ । पुस्तकमा समेटिएका सबै फोटोग्राफरलाई एक–एकप्रति फोटो पुस्तक र प्रमाणपत्र प्रदान गरिनेछ ।
तस्वीर छनोटका लागि संस्थानले नेपाली फोकलोर सोसाइटीका अध्यक्ष एवं वरिष्ठ संस्कृतिविद् प्रा. तुलसी दिवस, वरिष्ठ फोटोग्राफर राजभाइ सुवाल र वरिष्ठ फोटोपत्रकार विकास कार्की सम्मिलित निर्णायक समिति गठन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4