+
+

फारम भर्नेको संख्या ५ लाख ७२ हजार नाघेपछि लाइसेन्सको आवेदन बन्द

विभाग भन्छ–एकहप्ताभित्रै लाइसेन्स दिने तयारीमा छौं

सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को वितरण प्रणालीमा अधिक चाप परेपछि मंगलबारदेखि नयाँ आवेदन लिन बन्द गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १ गते १४:४२

१ चैत, काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को वितरण प्रणालीमा अधिक चाप परेपछि मंगलबारदेखि नयाँ आवेदन लिन बन्द गरिएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार आवेदकको संख्या ५ लाख ७२ हजार पुगेपछि आवेदन प्रणाली बन्द गरिएको हो ।

विभागले अनिश्चितकालका लागि आवेदन बन्द गरेपछि लाइसेन्सको फारम भर्ने तयारीमा रहेकाहरु बिलखबन्दमा परेका छन् । सोमबार एक सूचना जारी गर्दै १ चैतदेखि अर्को सूचना नभएसम्मका लागि नयाँ निवेदन नलिने जानकारी गराएको थियो । आवेदकहरुको परीक्षा यथाशक्य छिटो टुंग्याउनुपर्ने भएको भन्दै विभागले सूचना प्रकाशन गरेको थियो ।

अहिले विभाग र विभिन्न प्रदेश अन्तरगत रहेका लाइसेन्स कार्यालयहरुले समयमै सही तरिकाले परीक्षाको व्यवस्था गर्न नसक्दा सवारी लाइसेन्सको आवेदन, लिखित परीक्षा, प्रयोगात्मक परीक्षा (ट्रायल) र लाइसेन्स छपाइ र वितरणसम्मका सबै काम सरकारको नियन्त्रणभन्दा बहिर पुगेको छ ।

यसअघि कोरोनाको कारण देखाएर लामो समय आवेदन रोकेका कारण नयाँ चालकहरु समस्यामा थिए । ६ महिना बन्द गरेर गत ९ कात्तिकदेखि लाइसेन्सको आवेदन लिन थालिए पनि प्रक्रियामा प्रवेश गरेकाहरु पनि ३ वर्षभन्दा पछि (२०२५ सम्मको) को मात्रै परीक्षाको मिति पाएपछि अन्योलमा छन् ।

लाइसेन्सको परीक्षा सुरु गरेका कार्यालयले प्रतिक्षा सूचीमा रहेको चाप छिटो घटाउने गरी कुनै पहलकदमी लिए नलिई नियमित शैलीमा परीक्षा लिइरहेका छन् । यहीबेला चाप व्यवस्थापनको काम गर्नुको साटो नयाँ आवेदन लिन बन्द गर्ने निर्णयमा विभाग पुगेको छ ।

महामारीको कारण देखाएर चैत २०७६ पछि झण्डै पुस २०७७ सम्म अनुमतिपत्र बन्द थियो । झण्डै एक वर्षपछि आवेदन खुल्ला खुलेकाले अनलाइन प्रणालीमा चाप उच्च थियो । सुरुमा दैनिक कार्यालयहरुले दिएको कोटाअनुसार मात्रै फारम भर्न सकिने व्यवस्था थियो । त्यसैकारण विभागले ‘भिजिट मिति’ दिने गरी जति पनि फारम भर्न सकिने व्यवस्था गरेको थियो । त्यसपछि भने आवेदनको चाङ लाग्न थालेको थियो ।

त्यही अवस्थामा फेरि १६ वैशाख २०७८ देखि महामारीको दोस्रो लहरका कारण अनलाइन फारम भर्न बन्द गरिएको थियो, जुन कात्तिक महिना मात्रै खुलेको थियो । त्यसको ४ महिना नबित्दै फेरि विभागले आवेदन लिन बन्द गरेको हो ।

विभागका प्रवक्ता लोकनाथ भुसाल आवेदन दिएर प्रतिक्षारत नागरिकलाई तुरुन्तै परीक्षा दिने वातावरण बनाउन आवेदन बन्द गरिएको दाबी गर्छन् । अब आवेदकहरुलाई मोबाइलमा म्यासेज पठाएर अग्रिम रुपमै सेवा लिन आउन आग्रह गर्ने बताउँछन् ।

‘आवेदन दिएको एक हप्ताभित्र नै लाइसेन्सको परीक्षा लिने गरी व्यवस्था गर्न नयाँ आवेदन लिन बन्द गरेका छौं,’ उनले भने, ‘यातायात कार्यालय र ट्रायल सेन्टरको क्षमता बढाएर छिटो लाइसेन्स दिन चाहान्छौं ।’

त्यसका लागि प्रदेश सरकारहरुसँग छलफल गरेर नयाँ आवेदन स्थगित गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?