+
+
राजेश हमालसँग संवाद :

‘अभिव्यक्ति स्वतन्त्रता नै लोकतान्त्रिक समाजको मुख्य सूचक’

हामी आफ्नो राष्ट्रलाई लोकतान्त्रिक मान्छौं भने यहाँ अभिव्यक्ति स्वतन्त्रता हुनैपर्छ । अभिव्यक्तिलाई कसरी ग्रहण गर्ने, त्यो अभिव्यक्तिलाई अर्को व्यक्तिले कसरी लिने भन्ने कुरा चाहिं मुख्य कुरा हो । अभिव्यक्तिलाई नै प्रतिबन्ध गर्ने, अभिव्यक्तिमाथि नै हाबी हुने लोकतान्त्रिक प्रणालीभित्र पर्दैन जस्तो लाग्छ मलाई ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २ गते ७:३८

२ चैत, काठमाडौं । ३४ वर्षअघि रिलिज भएको फिल्म ‘युगदेखि युगसम्म’पछि अभिनेता राजेश हमालले कहिल्यै पछाडि फर्किएर हेर्नुपरेन । करिअरको यो बिन्दुसम्म आइपुग्दा पनि हमाल नेपाली फिल्मको ‘ट्रयाक’मा बुर्कुसी मारिरहेकै छन् ।

मोडल बन्न कुनैबेला मुम्बई हानिएको ठिटो राजुले देश फर्किएर कसरी आफूलाई राजेश हमालमा बदल्यो ? कसरी ऊ ‘महानायक’ कहलियो ? कसरी उसले स्टारडमको मानक खडा गर्‍यो ? यी प्रश्नका जवाफ निकै रोचक लाग्छन् ।

हालैको एक साँझ आफ्नो चर्चित अखडा लण्डन क्याफेमा हमाल अनलाइनखबरसँग गफिए- युट्युब, प्रकाश सपुतको नयाँ गीत, काठमाडौंको मेयर, गायन, कोभिड महामारी, स्टारडम, फिल्म निर्देशन, रुस-युक्रेन युद्ध र आउने समयबारे । प्रस्तुत छ अभिनेता राजेश हमालसँग अनलाइनखबरकर्मी विष्णु शर्माले गरेको कुराकानीको सम्पादित अंश:

नेपालमा युट्युब प्रयोगलाई लिएर सरकारले कडाइ गरिरहँदा र यसबारे चौतर्फी बहस भइरहेको बेला तपाईंले पनि आफ्नै युट्युब च्यानल सुरु गर्नुभयो नि ?

अभिव्यक्तिलाई कसरी ग्रहण गर्ने, त्यो अभिव्यक्तिलाई अर्को व्यक्तिले कसरी लिने भन्ने कुरा चाहिं मुख्य कुरा हो । अभिव्यक्तिलाई नै प्रतिबन्ध गर्ने, अभिव्यक्तिमाथि नै हाबी हुने लोकतान्त्रिक प्रणालीभित्र पर्दैन जस्तो लाग्छ मलाई ।

पहिलेदेखि नै युट्युब गर्छु भन्ने योजना थियो । यतिबेला सुरु गर्नु संयोग मात्रै हो । आफ्नो सोचाइ र भोगाइलाई समेटेर प्लेटफर्म उपयोग गरौं भनेर हो । अहिलेको जमानामा नौलो कुरा पनि होइन । म अलिकति लेट आएँ, त्यही नै हो । के कस्तो सामग्रीबाट काम गर्ने हो भन्नेबारे पनि सोच्न सकिरहेको थिइनँ । संयोगवस अहिले यस्तो समयमा पर्‍यो । युट्युबजस्ता प्लेटफर्म भनेको त अभिव्यक्तिको माध्यम हो ।

युट्युबमा डिजिटल अनुशासन कायम नभए कडाइ गर्नुपर्ने हुन्छ भन्ने सरकारको भनाइप्रति तपाईं के भन्नुहुन्छ ?

यी कुरा त समयले लिएर आएका कुरा हुन् । समयले ल्याएका कुरालाई कसरी च्यानलाइज गर्नुपर्छ भन्ने कुरा सरकारको हुन्छ । समयले ल्याएका परिवर्तनलाई प्रतिबन्ध लगाउनुपर्छ भन्ने कुरा लोकतान्त्रिक माहोलमा उचित नहोला, तर च्यानलाइज कसरी गर्नुपर्छ भन्ने कुरा त आउँछ । कसैलाई केही असर पर्‍यो भनेर समयानुसार आउने प्रविधिलाई रोक्न सकिंदैन ।

फिल्म हेर्न पहिले फिल्म हल नै जानुपर्थ्यो मान्छेलाई । अहिले मान्छेले हातहातमा मोबाइल राखेर युट्युब र एपमा हेर्न थाले जसकारण फिल्मलाई असर गर्‍यो भनेर बन्द गर्न त मिल्दैन नि । त्यो त समयले लिएर आएको प्रविधि हो । हामी फिल्मकर्मी पनि यही प्रविधिसँग हातेमालो गरेर कसरी अघि बढ्न सकिन्छ भनेर समन्वय गर्नुपर्छ । समयअनुसार त राजनीति पनि ढल्नुपर्ने हुन्छ । कला पनि ढल्नुपर्ने हुन्छ । समाज पनि ढल्नुपर्ने हुन्छ ।

युट्युबमार्फत तपाईंले कस्ता विषयवस्तु र कार्यक्रम पस्किने तयारी गर्नुभएको छ ?

सरल र मनोरञ्जनात्मक तरिकाबाट गहन विषयवस्तुलाई पस्किने विचारमा छु । गहन विषयवस्तुलाई पनि मनोरञ्जनात्मक तरिकाबाट पस्कन सकिन्छ भन्ने लाग्छ ।

हालैको एउटा भ्लगमा तपाईंले काठमाडौंको मेयर बन्ने चाहना व्यक्त गर्नुभएको थियो । अब राजनीतिमा सक्रिय हुने सोच बनाउनुभएको हो ?

एउटा व्यंग्यात्मक कुरा थियो त्यो । संकेत मात्र गरेको हुँ । हाम्रो सहर अस्तव्यस्त भएको कुरा सबैलाई महसुस भएकै छ । सहर सुन्दर होस्, व्यवस्थित होस्, सहर घुम्दा पनि सफा र रमाइलो होस् भन्ने चाहनाबाट उक्त कुरा भनेको हुँ । राजनीति ज्वाइन गर्ने योजना तुरुन्तै छैन । पार्टीगत हिसाबले त म लागेकै छैन ।

तपाईंकै गायन रहेको दोस्रो गीत यसैसाता रिलिज भयो ? म्युजिक करिअरलाई कसरी अघि बढाउन चाहनुहुन्छ ?

संगीत पनि त एउटा इन्टरटेनमेन्टको पाटो हो । प्रयास किन नगर्ने भन्ने कुरा आयो । अनि हुन्छ भनेर मैले पनि ट्राइ गरें । नयाँ–नयाँ कुराहरु सिक्न पनि मलाई रुचि लाग्छ । गीतसंगीत र सिनेमा पनि एउटै क्षेत्रजस्तो पनि पर्‍यो । अनि अहिले सिनेमा पनि खासै सुटिङ भइरहेको छैन । सम्पूर्ण तयारी हुँदाहुँदै पनि हामी फ्लोरमा जान सकिरहेका छैनौं । सिनेमाको पूर्ण तयारी भएपनि कोभिड र अन्य कारणले गर्दा हामी जान सकिरहेका छैनौं ।

त्यसैले म त मनोरञ्जन फिल्डमा छु । आफू प्रोडक्टिभ किन नहुने ? किनभने प्रोडक्टिभ समय त सधैं रहिरहँदैन । मान्छेको जीवन पनि छोटो छ । यी सबै पक्षमा केही न केही अनुभव बटुल्ने हेतुले गरेको हो । गाउँले ठिटो भन्ने आखिरी गीत जुन मैले गरें, त्यो सुनियोजित योजना नै थियो । यस्तो गीत गरौं, जुन चाहिं समसामयिक नेपाली समाज, नेपालीको भावना प्रकट हुने टाइपको भनेर कुरा आयो, त्यहीअनुसार शब्द लेखियो । शब्द लेखिसकेपछि दाइले नै गाउँदा ठीक हुन्छ भन्ने प्रस्ताव आयो । यसरी नै यो गीत सिर्जना भएको हो ।

गायक प्रकाश सपुतको गीत ‘पीर’लाई लिएर अहिले भइरहेको विवादलाई कसरी लिनुहुन्छ ?

गहिराइमा गएर त मैले बुझेको छैन । यस्तो विधि हल्ला हुँदा कुनै न कुनै हिसाबबाट त कानमा परिहाल्छ । डिटेलिङमा त मैले हेर्‍या छैन । तर म अभिव्यक्ति स्वतन्त्रताको वकालत नै गर्छु । अभिव्यक्ति स्वतन्त्रता नै मुख्य सूचक हो लोकतान्त्रिक समाजको । हामी आफ्नो राष्ट्रलाई लोकतान्त्रिक मान्छौं भने यहाँ अभिव्यक्ति स्वतन्त्रता हुनैपर्छ । अभिव्यक्तिलाई कसरी ग्रहण गर्ने, त्यो अभिव्यक्तिलाई अर्को व्यक्तिले कसरी लिने भन्ने कुरा चाहिं मुख्य कुरा हो । अभिव्यक्तिलाई नै प्रतिबन्ध गर्ने, अभिव्यक्तिमाथि नै हाबी हुने लोकतान्त्रिक प्रणालीभित्र पर्दैन जस्तो लाग्छ मलाई । स्वतन्त्र अभिव्यक्तिको चाहिं म वकालत गर्छु ।

नेपालमा राजनीतिक दलहरुले सिर्जनालाई आफू अनुकूल व्याख्या गरिरहेको अवस्था हो ?

यदि तपार्इंले सुरक्षित स्थानमा आफूलाई राख्नुभएको छ भने विभिन्न कोणबाट आउने अभिव्यक्तिलाई पचाउनुपर्छ र तर्कसंगत ढंगले आत्मसात् पनि गर्नुपर्छ । जो आफ्नो स्थानलाई लिएर असुरक्षा महसुस गर्छ, ऊ नै डगमगाउने हो । लोकतन्त्रमा राजनीतिक, सामाजिक र पेशागत स्थानबाट तपाईं सुरक्षित हुनुहुन्छ भने विपक्षीको अभिव्यक्ति त झक्झकाउने चीज मात्रै हुन्छ ।

बजार सामान्य भए म फिल्म निर्माणमा अघि बढ्छु भनेर भन्नुभएको थियो । यो कुरा कहाँ पुगेको छ ?

हामीसँग कथा कम्पिलिट पनि छ । कोभिड सुरु हुनुभन्दा केही समय अगाडि मेरो आफ्नै प्रोजेक्ट नभएपनि अर्को एक मेगा प्रोजेक्टमा सहभागी हुने कुरा थियो । तर कोभिड र अन्य कारणले हामीले सोचेभन्दा धेरै नै लम्बियो । अलिकति अन्योलमा पनि पर्‍यो । भलै त्यसको सम्पूर्ण तयारी पनि भइसकेको थियो ।

म पछिल्ला दुई वर्षमा शतप्रतिशत त्यसमा लागिरहेको थिएँ । सो प्रोजेक्ट विभिन्न कारणले फ्लोरमा जान ढिला भइरहेको हुनाले अब चाहिं म आफ्नै प्रोजेक्टलाई अघि बढाउँछु ।

यो प्रोजेक्टले अहिलेसम्म कस्तो आकार लिएको छ ? निर्माण, निर्देशन, कलाकार र अन्य पक्षमा ?

कास्टभन्दा पनि हामीले यसको स्टोरी लाइन तयार पारेका छौं । मेरो टाइपको फिल्ममेकिङ भनेको दर्शकलाई हेर्दा पनि आनन्द आओस् भन्ने हो । यसमा चाहिं केही समसामयिक र राष्ट्रका विभिन्न मुद्दा चाहे वर्तमान र विगतका हुन् । यी सबै कुराहरु कुनै न कोणबाट समेटियोस् । समाजले भोगेका र भोग्न लागेका कुराबाट समाज पनि परिचित होस् हामीले पस्केका विषयवस्तुबाट ।

मनोरञ्जनात्मक हिसाबबाट हेर्न सकिने टाइपकै फिल्म बनाउन सकूँ भन्ने हो । आफ्नै लेखाइ भएकाले सोचाइ त आफैं निर्देशन गरुँ कि भन्ने पनि छ । अरुको कथामा फिल्म बनाउन एक–दुईवटा अफर त आइरहेको छ । अरुको स्टोरीमा निर्देशन गर्न म त्यति तयार भइरहेको छैन । मेरो आफ्नै स्टोरी भएकाले आफैं निर्देशन गर्छु होला । अहिलेसम्म कास्टबारे सोचेको छैन । वातावरण सहज हुने बित्तिकै फ्लोरमा जान्छु । अहिले पनि वातावरण सहज छैन ।

फिल्म बनाउनका लागि वातावरण उपयुक्त हुनुपर्‍यो । फिल्मको लागि चाहिने बृहत मार्केट हामीले खोज्न सकिरहेका छैनौं । पहिले नै बनेको ओभरसिज मार्केट त्यति पनि देखाइहाल्ने परिस्थिति छैन । बनेर बसिरहेका धेरै मेगा प्रोजेक्ट पनि अड्किरहेका छन् । वातावरण अलिकति सहज होस्, आफूले बनाएको सामग्री पस्किन वातावरण बनोस्, त्यो भएपछि बनाउने हो ।

कोभिडपछि फिल्म क्षेत्रलाई लयमा फर्काउन के गर्नुपर्छ जस्तो लाग्छ ?

चहलपहल त सुरु भइसकेको छ । हलमा पनि मान्छेहरु आउन थाल्नुभएको छ । हाम्रो उद्देश्य यही नै हुनुपर्छ कि कसरी राम्रो फिल्म हलमा राख्न सकौं ता कि दर्शक आइदिउन् । किनभने दर्शकले नेपाली फिल्म वा विदेशी फिल्म भनेर छुट्याउँदैनन् । दर्शकलाई राम्रो फिल्म चाहिएको छ । फिल्म राम्रो भए दर्शक हलसम्म आउनुहुन्छ ।

नराम्रो भएपछि आइदिनुस भनेर मात्र भएन । हाम्रो मुख्य ध्येय भनेकै आफ्नो सामग्री सशक्त बनाउनुपर्‍यो । फिल्ममा दम हुनुपर्‍यो । त्यो भएको खण्डमा दर्शक हलमा आउनुहुन्छ र विस्तारै–विस्तारै हलमा आउने बानी पनि पर्दै जान्छ । अनि हल व्यवसायी पनि उत्साहित बन्नुुहुन्छ । पहिलेको परिस्थितिमा आउन हामीलाई समय अवश्य पनि लाग्छ । केही धैर्यता आवश्यक हुन्छ, हतोत्साही बन्नुहुँदैन । चुनौतीपूर्ण समयलाई सामना गर्न हामी पनि तयार भएर जानुपर्छ ।

महामारीअघि हामीले जहाँ उद्योगलाई छाडेका थियौं, त्यहींबाट सुरु गर्न सक्दैनौं । अलिकति ब्याकगियर लागिसकेको छ, ब्याकगियरबाट अघि बढ्न हामीले केही चुनौतीको सामना पनि गर्नुपर्छ ।

बायोलजिकल्ली नभएर गर्‍या होइन, बायोजिकल्ली हामीलाई केही गुनासो छैन । शायद अर्को उपाय अपनाएर पनि सन्तान जन्माउनुपर्छ कि भन्ने पनि छ । तर अब सन्तान नजन्माउने कि भन्ने सोचबाट सन्तान जन्माउनुपर्छ भन्नेमा चाहिं अगाडि बढ्यौं ।

अहिले हामीलाई कन्टेन्ट महत्वपूर्ण कि स्टारडम ?

यी दुवैको खाँचो पर्छ । सिनेमा भनेको स्टारडम पनि हो । यसले केही हदसम्म दर्शकलाई आकर्षित गर्छ नै । अन्ततः दिगो हिसाबले फिल्म चल्ने भनेको त कन्टेन्टले नै हो ।

स्टार छैन, तर कन्टेन्ट आफैंमा बलियो छ भने पनि यसको परिणाम राम्रो हुन्छ । मलाई लाग्छ, फिल्ममा मुख्य भूमिका कन्टेन्टले नै खेल्छ । स्टारपावर छ भने केही सहुलियत मिल्छ होला । तर बढी जोड चाहिं कन्टेन्टमै दिनुपर्छ ।

पछिल्ला दिनमा साउथ (दक्षिण भारतीय) फिल्मको प्रभाव नेपालमा पनि देखिएको छ । नेपाली फिल्मको लागि अर्को चुनौती थपिएको हो ?

नेपाली फिल्मका लागि बाहिरी फिल्महरु जहिले पनि चुनौतीको रुपमा थिए । अहिले यो लहर (साउथ इण्डियन फिल्म) पनि आइरहेको छ । चुनौतीमुक्त त नेपाली फिल्म कहिले पनि थिएन । तर हामीले आफ्ना दर्शकलाई आफ्नो कन्टेन्टप्रति कसरी आकर्षित गर्न सकिन्छ भनेर सोच्नुपर्छ । नेपाली फिल्मको सशक्तता भनेको के हो भने यसमा नेपाली भावना दर्शकले पाउनुहुन्छ भने त्यही कुरा विदेशी फिल्ममा त पाउनुहुन्न । विदेशी फिल्ममा पस्किएका भावना र विषयवस्तु मनोरञ्जनक भएपनि नेपाली परिवेशलाई नेपाली व्यक्तिले महसुस गर्न सक्नुहुन्छ ।

त्यसैले नेपाली मन र नेपाली चीजलाई कसरी प्रस्तुत गर्न सकिन्छ भनेर सोच्नुपर्ने हुन्छ । यसो गर्न सकिए नेपाली दर्शक नेपाली फिल्म हेर्न आउनुहुनेछ । यसलाई नै हामीले बिक्रीको मुख्य उत्पादन बनाएर आफ्नो चीज बेच्न सक्यौं भने त्यो चुनौतीको सामना गर्न सक्छौं हामीले । तर नेपाली दर्शकहरु खाली नेपाली फिल्म भनेरै हेर्न आउनुहुन्न । हामीले त्यो पनि बुझ्नुपर्छ ।

तपाईंले ३० वर्षसम्म हिरोइज्म र मानक खडा गर्नुभयो । तर पछिल्लो समयमा त्यो विशेषताको अभाव देखिएको हो ?

समयअनुसार नै व्यक्तिले आफूलाई सञ्चालन गर्नुपर्ने हुन्छ । केही नयाँ कलाकारहरु कोभिडअघि स्पिडमा काम गर्नुभएको थियो, एक किसिमको पोजिसन ओगट्नुभएको थियो । अब त्यसमा उहाँलार्ई केही न केही विघ्न बाधा आइपरेको छ । अहिले पुस्ताको लागि सबैभन्दा त्रुटिपूर्ण कुरा चाहिं यही नै हो । कोभिडले तीन वर्ष उहाँहरुको स्पिडमा ब्रेक ल्याइदिएको छ । त्यसलाई हिम्मत नहारीकन फेरि आफ्नो काम कसरी अघि बढाउने भन्नेमा नयाँ पुस्ता लाग्नुपर्छ । किनभने यो भनेको चानचुने कुरा हैन । म आफैं सोच्छु, मैले ‘युगदेखि युगसम्म’ भन्ने फिल्म गरिसकेको थिएँ, ठ्याक्क कोभिड आइदिएको भए के हुन्थ्यो ? असाध्यै चुनौतीपूर्ण परिस्थितिबाट उहाँहरु गुज्रिनुभएको छ ।

समयअनुसार सबैजना अगाडि बढ्नुपर्छ । कन्टेन्ट आफैंमा सबैभन्दा सशक्त हुन्छ । त्यही हिसाबले जान सक्नुपर्छ । त्यसरी जाँदाखेरि केही ‘कम्प्रमाइज’ गर्नुपर्ने होला । हाम्रो बजेटिङमा कम्प्रमाइज गर्नुपर्ने हुन्छ कि । अन्य कुरामा कम्प्रमाइज गर्नुपर्ने हुन्छ कि । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने फिल्ममेकिङको प्रक्रिया चाहिं रोक्नुहुन्न ।

तपाईं केही महिनाअघि मुम्बई पुग्नुभएको थियो । त्यहाँ तपाईंले नेपाल र भारतबीच संयुक्त लगानीमा फिल्म निर्माण गर्न सकिने बताउनुभएको थियो । यसबारे प्रकाश पार्दिनुस् न ।

त्यो ज्वाइन्ट भेन्चर भनेको उताको टिम यहाँ आएर फिल्म बनाउने भन्ने हो । विशेषगरी लगानी उताकै गर्ने र यहाँ चाहिं म लगायतका केही कलाकार यताकै रहेर नेपालमै छायांकन गर्ने योजना छ । सो प्रोजेक्टको लागि उहाँहरुले कथावस्तुको छनोट गरिरहनुभएको छ । यताको परिवेश र कलाकारलाई पनि समेट्न सक्ने कथावस्तु कस्तो हुनसक्छ भन्ने हिसाबबाट उहाँहरु गृहकार्य गरिरहनुभएको छ ।

यसरी दुईटा मुलुक जोड्दा दुईटा मुलुक सांस्कृतिक हिसाबले पनि नजिक होस्, आत्मीयता होस् भन्ने हो । हाम्रो राजनीति कहिलेकाहीं यताउता हुँदा पनि सांस्कृतिक हिसाबले दुई राष्ट्र नजिक छन् भन्ने बोध गराउन सके राम्रो हुन्थ्यो भन्ने हिसाबले योजना अघि बढाइएको हो ।

अब अलिकति फरक कुरा गरौं । विवाहपछिको जीवन कस्तो चल्दैछ ?  मधुजी र तपाईंले जीवनका आगामी योजना के बनाउनुभएको छ ?

हाम्रो वैवाहिक जीवन प्लानिङअनुसार नै चलिरहेको छ । बालबच्चा नहुनु पनि हाम्रो प्लानिङ अन्तर्गत नै पर्छ । यो अनौठो सुनिन्छ, तर नितान्त व्यक्तिगत कुरा हो । सामान्य व्यक्तिले सुन्दा चाहिं यो मान्छेले के गरिराख्या होला भन्ने पर्ला । ढिलो बिहे गर्‍यो, बिहे गरेको पाँच–छ वर्ष भइसक्यो । अहिले पनि प्लानिङमै छु भन्छ । यो चाहिं नितान्त हामीमा मात्र लागू हुने कुरा बन्यो ।

बच्चालाई एडप्ट गर्ने तयारीमा त छैनौं । बायोलजिकल्ली नभएर गर्‍या होइन, बायोजिकल्ली हामीलाई केही गुनासो छैन । शायद अर्को उपाय अपनाएर पनि सन्तान जन्माउनुपर्छ कि भन्ने पनि छ । तर अब सन्तान नजन्माउने कि भन्ने सोचबाट सन्तान जन्माउनुपर्छ भन्नेमा चाहिं अगाडि बढ्यौं ।

राजनीतिक अस्थिरता र महामारीको अनिश्चितताबीच जीवन बाँचिरहेका नेपाली नागरिकलाई तपाईंको सन्देश के हुन्छ ?

परिस्थिति जीवनक्रममा कहिल्यै पनि सहज त हुँदैन । अहिलेको घडीमा आएर हरेक समय, हरेक पल सहज होस् भन्ने अपेक्षा राख्नु पनि हुँदैन । जिउने क्रममा संसारका घटनाक्रममा धेरै उतारचढाव आउँछन् । अहिले आएका जति घटनाक्रम छन्, ती इतिहासमै नभएका नौला पनि होइनन् । कस्ता कस्ता चुनौतीको सामना गरेर मानवजाति यहाँ आइपुगेको छ ।

२१ औं शताब्दीमा मानवजातिलाई सुविधा होस् भन्ने प्रयास हुँदाहुँदै पनि कोभिड–१९ घटनाक्रम, युरोपमा भएका हिंसालाई संसारले महसुस गरिरहेको छ । अहिले दुईवटा राष्ट्र (रुस–युक्रेन)मा युद्ध भएको देखिएपनि त्यो दुई राष्ट्रमा मात्र सीमित रहँदैन । त्यसको असर संसारभर पर्छ । यस्ता परिस्थितिको सामना गर्नेबारे सचेत हुनुपर्छ, हतोत्साही चाहिं हुनुहुँदैन । जीवन जहिले पनि सहज हुन्छ भन्ने हुँदैन ।

युक्रेनीहरुले आजको तीन महिनाअघि सहज रुपमा जीवन चलाइरहेका थिए । आज कति घरविहीन र राष्ट्रविहीन भएका छन् । विभिन्न कारणले यस्ता घटना मानवजीवनमा आउँदा रहेछन् । अहिले हामी पनि विशेष समयबाट गुज्रिएका छौं । कोभिडबाट सहज महसुस गरेका छौं । नेपालको आफ्नैखाले भूराजनीतिक परिवेश छ । यी सबैलाई बुझेर समय र परिस्थितिको सामना गर्नुपर्ने हुन्छ र सतर्कता अपनाउनुपर्ने पनि हुन्छ ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?