+
+

जनकपुर आयुर्वेद औषधालयमा आउने बिरामी बढे

मधेस प्रदेशको राजधानी जनकपुरमा रहेको आयुर्वेद औषधालयहरुमा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २ गते १३:३३

२ चैत, जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरमा रहेको आयुर्वेद औषधालयहरुमा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको छ । आयुर्वेदप्रतिको विश्वास बढ्दै जानु र औषधालयको स्तरोन्नति हुनुजस्ता कारणले सेवा लिन आउनेको संख्या बढेको हो ।

विगत भन्दा अहिले आएर आयुर्वेदतर्फ सर्वसाधारणहरुको रुची बढन थालेको छ । जनकपुर आयुर्वेद औषधालयमा ५ वर्ष अगाडीसम्म दैनिक १०–२० जना बिरामी उपचारका लागि यहाँ आउने गर्थे । तर, आजभोलि दैनिक २ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको स्थानीयबासीहरु बताउँछन् ।

औषधालयमा फिजियोथेरापी र मौलिक थेरापीअन्तर्गत पूर्वकर्म, पञ्चकर्म थेरापी गर्न आउने बिरामीको संख्या धेरै छ । विशेष गरेर हड्डी दुखाईका बिरामीहरु अत्याधिक आउने गरेका छन् । कतिपय व्यक्तिहरु भने अन्य उपचार गराएर रोक निको नभएपछि आयुर्वेदतर्फ आउने गरेका छन् ।

निको भएपछि गाउँ–गाउँमा प्रचार गरिएकाले समेत अस्पतालमा बिरामीहरु धरै हुने गरेको अस्पतालका कर्मचारीहरु बताउँछन् । घरेलु रुपमा आयुर्वेद पद्धतिबाट उपचार गर्नेहरु पनि आजभोलि औषधालय आइपुग्ने गरेका छन् ।

नागरिकहरुमा पनि आयुर्वेदभन्दा एलोपेथिक औषधिप्रतिको बढी भरोसा थियो । तर पछिल्लो दुई वर्षयता आयुर्वेदप्रति नागरिकको भरोसा बढ्दै गएको छ ।

स्रोत र जनशक्ति अभावले सबै क्षेत्रमा सहज रुपमा औषधि वितरण हुन नसकेको औषधालयको गुनासो छ । प्रदेश सरकारले औषधि उत्पादन तथा वितरणका लागि थप बजेट विनियोजन गरे आयुर्वेद उपचारलाई चुस्त बनाउन सकिने अस्पतालका प्रमुख डा. सिमा झाले बताए । उनले अस्पतालको स्तर वृद्धि गरेर प्रादेशिक अस्पतालको रुपमा नै जानुपर्ने आवश्यकता रहेको बताए ।

औषधालयमा आउने नागरिकलाई आयुर्वेदिक औषधि, आहारविहार र योग तथा मनोसामाजिक परामर्श दिएर उपचार गरिरहेको औषधालयले बताउँदै आएको छ । आयुर्वेद पूर्वीय चिकित्सा पद्धति हो । तर, आयुर्वेद चिकित्सा विज्ञानको अध्ययन र अनुसन्धान नहुँदा ओझेलमा पर्ने गरेको छ ।

औषधालयले उत्पादन गरेको आयुर क्वाथ, गुर्जो, जेष्ठवासादी, याष्टीमधु मिश्रण, अश्वगन्धा, गुडुची अमालाकी चूर्णलगायतका सङ्क्रमणबाट बच्न र रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?