
२ चैत, काठमाडौं । नेपाली समयानुसार बिहीबार बिहान पौने ५ बजे यस वर्षको विश्व सुन्दरी प्रतियोगिताको ग्रान्ड फिनाले आयोजना हुँदैछ । कोरोना महामारीले यसअघि स्थगित भएको प्रतियोगिता यसपटक भौतिक रुपमै हुन लागेको हो ।
अमेरिकी टापु राज्य पुएर्तोरिकोमा हुन लागेको फिनालेमा ४० मुलुकका सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । नेपालको तर्फबाट मिस नेपाल नम्रता श्रेष्ठले भाग लिएकी छन् ।
‘फास्ट ट्रयाक’ विधिबाट यसपटक ४० जना सुन्दरीलाई फिनालेमा बोलाइएको हो । हेड-टु-हेड च्यालेन्जमा विजयी हुँदै मिस नेपाल नम्रता भने यसअघि नै अन्तिम ३० मा प्रवेश गरिसकेकी छन् ।
ब्युटी विथ पर्पसको उत्कृष्ट १० भित्र नम्रता छानिएकी छन् । यी दुई विधामा उत्कृष्ट बनेकी नम्रतालाई अगाडि जान सजिलो भएको विश्लेषण गरिएको छ । ब्युटी विथ पर्पसमा यसपटक नेपालले धादिङको झोलुंगे पुलको परियोजना पेस गरेकी छन् । ७३ मिटर लामो उक्त पुलबाट २ हजार ८०४ घर र १२ हजार ३७६ जना बासिन्दा लाभान्वित हुने जनाइएको छ ।
मिस वर्ल्ड अध्यक्ष जुलिया मोर्लेले अनलाइनखबरलाई प्रेसित गरेको विज्ञप्तिमा भौतिक रुपमा कार्यक्रम आयोजना गर्न पाउँदा खुसी व्यक्त गरेकी छन् । यसपटक मिस वर्ल्डले ७० औं वर्षगाँठ समेत मनाउन लागेको भन्दै अहिलेसम्मको साथका लागि सबैलाई धन्यवाद समेत दिएकी छन् ।
विश्वका १०० मुलुकबाट ग्रान्ड फिनालेको प्रत्यक्ष प्रसारण हेर्न सकिने जनाइएको छ । फिनालेमा हालकी मिस वर्ल्ड टोनी एन सिङले नयाँ विजेतालाई ताज पहिराउनेछिन् ।
प्रतिक्रिया 4