+
+
Shares
मिस नेपाल सृच्छा प्रधानसँग संवाद (भिडियो) :

‘मिस वर्ल्डमार्फत पञ्च प्रणालीको भाष्य विश्वले सुनोस् भन्ने चाहन्छु’

‘नेपाल सोलुसन प्रोभाइडर मुलुक पनि हो’

सभ्यताको उत्पतिसँग जोडिएको वातावरणीय र आध्यात्मिक अवधारणाको मूल्यलाई उनले ‘पञ्च प्रणाली’को रुपमा ब्याख्या गरेकी छन् । ‘मलाई नेपालको न्यारेटिभ सिफ्ट गर्न मन छ । यसकारण यो अवधारणा अघि सार्दैछु’ भन्छिन्, ‘पञ्च प्रणाली’ भन्ने परियोजना होइन, यो ‘पहलकद्मी’ हो । यसको प्रभाव तत्काल देखिँदैन तर आगामी पुस्तामा देखिनेछ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २४ गते २१:२०

काठमाडौं । ७ देखि ३१ मेसम्म भारतको तेलांगनास्थित हैदराबादमा हुन लागेको ७२ औं मिस वर्ल्डमा सहभागी हुन मिस नेपाल सृच्छा प्रधान बुधबार त्यसतर्फ प्रस्थान गरेकी छन् । जलवायु अभियन्ता समेत रहेकी २५ वर्षिय सृच्छा मिस वर्ल्डको फिनालेलाई लिएर उत्साहित छिन् । मिस नेपालको ताज जितेको २ वर्षपछि अन्ततः उनले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिताको मौका पाइन् ।

भारत प्रस्थान गर्नुअघि अनलाइनखबरको स्टुडियोमा सृच्छा उत्साहित सुनिइन् । शारिरीक र मानसिक तयारीबारे कुरा गरिन् । मिस वर्ल्डको महत्वपूर्ण विधा ‘ब्युटी विथ अ पर्पस’मा उनले ‘पञ्च प्रणाली’को अवधारणा प्रस्तुत गर्दैछिन् ।

सभ्यताको उत्पतिसँग जोडिएको यो वातावरणीय र आध्यात्मिक अवधारणाको मूल्यलाई उनले ‘पञ्च प्रणाली’को रुपमा ब्याख्या गरेकी छन् । ‘मलाई नेपालको न्यारेटिभ सिफ्ट गर्न मन छ । यसकारण यो अवधारणा अघि सार्दैछु’ भन्छिन्, ‘पञ्च प्रणाली’ भन्ने परियोजना होइन, यो ‘पहलकद्मी’ हो । यसको प्रभाव तत्काल देखिँदैन तर आगामी पुस्तामा देखिनेछ ।’

‘यसपटक ब्युटी विथ पर्पसमा केही फरक गर्दैछौं हामी । समुदायको विशेषता के छ त भन्ने कुरामा फोकस छौं । कुनै समुदायलाई सिकाउन हैन, समुदायबाट के सिक्न सक्छौं भन्ने भाष्य बनाउन केन्द्रित छु । जोखिम पनि छ । तर, प्रतिस्पर्धाभन्दा पर हामी जानुपर्छ’ उनी भन्छिन् ।

अघिल्ला मिस नेपालहरू समुदायमा आधारित शिक्षा, स्वास्थ्य, विकास र पर्यटनको विषयमा प्रोजेक्ट पेश गरेका थिए । सृच्छाले भने अवधारणा प्रस्तुत गर्न लागेकी हुन् । उनको यो अवधारणालाई वन तथा वातावरण मन्त्रालयले पनि समर्थन जनाएको छ ।

‘हामी भल्नरेबल देश मात्र होइनौं, सोलुसन प्रोभाइडर मुलुक पनि हौं । यो भाष्यलाई सिफ्ट गर्न सक्छु भनेर मैले यो यात्रा सुरुवात गरेकी हुँ । यसलाई विश्वभर फैलाउन चाहन्छु’ उनी भन्छिन् ।

के हो त ‘पञ्च प्रणाली’ ? यसबारे सृच्छाको आफ्नो बुझाइ छ ।

‘यो निकै गहिरो कुरा हो । तपाईंले देख्नुभएको प्रार्थना बुनिएका झण्डाहरू भयो, शरिरमा भएका ५ तत्व सम्झिन्छौं । यो प्रणाली देशको विकास गर्न बनाएको फाउण्डेसन हो’ उनी भन्छिन् ।

उनी ‘क्लाइमेन्ट एक्सन’लाई रणनीतिको रुपमा मात्र बुझ्न नहुने बताउँछिन् । ‘यो त्यति पनि होइन । कनेक्सन र रेस्पेक्ट हराउँदै गएकाले पनि यो इस्यु आएको हो भन्ने अप्रोचमा काम गर्दैछु’ उनी भन्छिन्, ‘हाम्रा सहर पहिलेदेखि नै व्यवस्थित देखिन्छ । सहर भ्यागुता र नागको लागि पनि बनाएको छ । यसमा करुणाजस्ता भावनात्मक तत्वको कुरा आउँछ ।’

‘पञ्च प्रणाली’ रणनीति मात्र नभएर भ्यालु भएकाले यसको लागि आफू अघि बढेको उनको मत छ ।

जितभन्दा उद्देश्यमा प्रतिबद्ध

सृच्छा जित आफ्नो उद्देश्य नरहेको बताउँछिन् । उनी आफ्नो उद्देश्य महत्वपूर्ण रहेको बताइन् । जलवायु अभियन्ताको रुपमा आफ्नो आवाजलाई विश्व मञ्चमा पुर्‍याउनु आफ्नो ध्येय रहेको उनको भनाई छ ।

‘मेरो अप्रोच फरक छ । म मिस नेपालमा जित्नको लागि होइन । त्यो भन्दैमा मान्छेले हार मानिसकेको जस्तो लाग्छ । म चाहिँ आफ्नो उद्देश्य के हो, किन जान लागेको भन्ने कुरामा फोकस हुन खोजेको छु, भन्छिन्, ‘जीवनमा आफ्नो उद्देश्यसँग प्रतिबद्ध हुनु नै मेरो स्ट्राटेजी हो ।’

पछिल्ला २ वर्ष सृच्छाको लागि तयारीमै बिते । मिस वल्र्ड हुने वा नहुने अन्योलताको बीचमा उनको समय गुज्रियो ।

‘यो समयसम्म धेरै कुरा सिकेँ र गर्न पाएँ । सबैभन्दा मीठो कुरा त नेपालमा बस्न पाएँ । नत्र पढाइको लागि विदेश गइन्थ्यो होला’ भन्छिन्, ‘सुरुमा म क्लाइमेट एक्टिभिस्टि हुँ । पृथ्वीलाई बचाउने मात्र भन्दा पनि सबै जीव जनावरको भ्वाइस अघि राखौं भन्ने हो । म भावनात्मकरुपमा केही नर्भस छु । उत्साह पनि छ । यो दायित्व लिन म तयार पनि छु ।’

यसबीच उनले बोल्ने शैलीदेखि ब्यायाम, स्टाइलिङ र मेकअप सिकिन् । ‘यो प्रोसेसमा धेरै मेन्टर पाएको छु । मलाई पूर्वमिस नेपालहरुले पनि गाइड गर्नुभएको छ । शान्त कसरी हुने भन्ने कुरा पनि हुन्छ । मैले आध्यामिकरुपमा कसरी सशक्त हुने पनि सोचेकी छु’ उनले भनिन् ।

‘मेरो ध्यान सेमीफाइनलमा कसरी पुग्ने भन्दा पनि तनमन दिएर इभेन्टलाई कसरी इन्जोय गर्ने, आफ्नो आवाज उठाउन सक्छु भन्नेमा केन्द्रित छु’ उनी भन्छिन्, ‘फास्ट ट्रयाकको लागि म किन पनि उत्साहित छु । मोडल राउण्ड, ब्युटी विथ पर्पस विधामा पनि नेपालले कडा मिहेनत गरिरहेको छ ।’

यीबाहेक फिनाले समारोहमा सृच्छाले परम्परागत नेपाली बाजा सारङ्गीबाट सिर्जना गरिएको छोटो संगीत पनि पेश गर्नेछिन् । उनले यो पनि सिकेकी छन् ।

‘पेजेन्ट्री भनेको हेर्दाखेरी ग्ल्यामर र फेसनजस्तो देखिन्छ । तर, पेजेन्ट्री भनेको आफ्नो शान्ततालाई मनाउने काम हो । देखाउनलाई काम गर्ने होइन । आफ्नो शररिलाई जोड्ने कुरा हो । सारंगी सिक्दा पनि मैले त्यो प्रोसेस महसुस गरेँ’ उनले भनिन् । आफूलाई चिन्नु सबैभन्दा महत्वपूर्ण कुरा रहेको उनको मत छ ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

ग्राफिक्स : अरुण देवकोटा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?