+
+

गाउँपालिका अध्यक्षविरुद्ध बहुविवाहको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ४ गते १९:००

४ चैत, काठमाडौं । भोजपुरको साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष महेश राईमाथि बहुविवाह गरेको आरोप लागेको छ ।

२ मंसिरमा नेपाली कांग्रेसकी एक जना केन्द्रीय सदस्यसँग पहिलो विवाह गरेका गाउँपालिका अध्यक्ष राईले त्यसको ११ दिनपछि फेरि ललितपुरकी अर्की महिलासँग विवाह गरेको आरोप लागेको हो ।

राईसँग विवाह गरेको विवाह दर्ता प्रमाण पत्र भेटेपछि १३ मंसिरमा विवाह गर्ने ललितपुरकी महिलाले महानगरीय प्रहरी परिसर, टेकु अन्तरगतको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, कालिमाटीमा किटानी जाहेरी दिएकी छन् । यद्यपि, प्रहरीले अहिलेसम्म जाहेरी दर्ता नगरेको पीडित परिवारले जनाएको छ ।

काठमाडौं प्रमुख प्रमुख एसएसपी सुदीप गिरीले गाउँपालिका अध्यक्ष राईविरुद्ध बहुविवाहको उजुरी आएको अनलाइनखबरसँग पुष्टि गरे । ‘एक जना महिलाले आफू जेठी श्रीमती भएको बताउँदै उजुरी दिनुभएको छ’ गिरीले भने, ‘त्यही आधारमा दुई पटक छलफलसमेत गराएका थियौं ।’

तर कागजीरुपमा अर्कै महिलासँग अगाडि विवाह भएको देखिएकाले जेठी र कान्छी नै छुट्टयाउन गाह्रो परेको उनले बताए । ‘यो विषयमा अनुसन्धान भइरहेको छ, उजुरी दिनेले रितिरिवाज अनुसार मगनी गरेको भन्नु भएको छ’ गिरीले भने, ‘थप बुझ्ने काम भइरहेको छ ।’

पीडित महिलाका दाइका अनुसार राईकी श्रीमतीको गत जेठ महिनामा निधन भएको थियो । त्यसपछि उनले ललितपुर बस्दै आएकी आफ्नी बहिनीसँग मगनी गरेका थिए । बिहेको प्रस्ताव षडानन्द नगरपालिका दिङ्लाका मेयर बीरबल राईले आफू कहाँ ल्याएको दाइ बताउँछन् ।

१३ मंसिरमा विधिवत् रुपमा विवाह गरेका अध्यक्ष राई माघ महिनाबाट सम्पर्कविहीन भएको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।

‘त्यसपछि खोजी गर्दा उनले मंसिर २ गते नै विवाह गरेको सोही गाउँपालिकाको वडा नं. २ मा विवाह दर्ता गरेको पाइएको थियो’ दाइले अनलाइनखबरसँग भने, ‘त्यसपछि काठमाडौं प्रहरी परिसर, टेकुमा जानकारी गराएका थियौं, त्यहाँबाट महिला सेलमा हामीलाई पठाइएको थियो ।’

यस विषयमा बुझ्न पटकपटक अध्यक्ष राईलाई फोन गर्दा उनले फोन उठाएनन् ।

घरबाट यसरी निकालिइन् बहिनी : पीडितका दाइ

साउनमा विवाहकोे कुरा चल्यो । यो कुरा षडानन्द नगरपालिकाका मेयर बीरबल राईमार्फत आएको हो । हाम्रो आफन्त हुन् उनी । त्यसपछि राई साउनको २६ गते मेरो बहिनी हेर्न आए । त्यसको अर्को दिन बहिनीसँग भेट्न खोजेपछि साउन २९ गते बहिनीसँग भेटे । फेरि मसँग पनि भेट्न खोजेपछि मैले ३१ गते भेटेको थिएँ ।

मसँगको भेटमा अध्यक्ष राईले त्यसबेला मलाई तपाईंको बहिनी मन पर्‍यो । बिहेपछि गरुँला अहिले म लगेर जान्छु भन्ने कुरा गरे । तर मैंले मानिनँ । बिहे नै गर्ने हो भने मगनी गर्न आउनुस्, म बहिनी, परिवारसँग छलफल गर्छु भनें । विधिवत तरिकाले विहे गरेर मात्रै पठाउँछौं भनें । त्यसपछि भदौको दुई गते मगनी गर्न आए । त्यसबेला मंसिरमा बिहे गर्ने प्रस्ताव आयो । हामी तयार भयौं ।

कांग्रेसको अधिवेशन र महाधिवेशनको समयलाई मध्यनजर गर्दै बीचको समय मंसिर १३ गते घरैमा विहे गर्‍र्यौं । भाइ पनि युकेबाट आयो । यहाँका केही आफन्त भेला भएर घरभित्रहरुकै सहभागितामा रितपूर्वक बिवाह गर्‍यौं । सामान्य गर्ने योजनाको कारण छरछिमेकीलाई चाहिं बोलाएनौं । बिहेभन्दा अघि भगाउन पनि कोसिस गरेको रहेछ तर, बहिनी मानिनछ ।

बिहे भए लगत्तै नै अत्यधिक रक्सी खाएर मातेर दुःख दिने गरेछ । बहिनी घर आएकी थिइन् । मैंले त्यत्तिकै आधारमा माया मार्नु हुँदैन भन्दा बहिनी माया मारेकै त होइन, अलि सुध्रिन्छ कि भनेर हो भनिन् । तर उनी श्रीमान्को व्यवहारले अचम्ममा परेकी थिइन् ।

पुसको अन्तिममा ज्वाइँ गाउँ गए । गाउँ हिँडेपछि सम्पर्कबिहीन भए । फोन गर्दा पनि नउठाउने र अधिकांश फोन नलाग्ने हुन थालेछ । त्यसबेला बहिनीलाई कोरोना लागेर १५÷२० दिन सुत्यो । माघमा काठमाडौं आएछ ।

कहिले गाडी निकालेर लैजाने, कहिले नानी (मृत्यु भएको श्रीमति पट्टीको छोरी) को लुगा निकालेर जाने गर्न थालेछ । घर कुर्नेहरुलाई चाहिं उनले अब म यस (श्रीमति) लाई निकाल्छु । फर्केर आएर बस्यो भने चोर लगाउँछु भनेको रहेछ । उनीहरुले बहिनीलाई सुनाएका रहेछन् । त्यसपछि यो समस्या गम्भिर भएछ भन्ने लाग्यो ।

यही फागुन १६ गते भने बहिनी किनमेल गर्न बाहिर निस्केछिन् । फकिँदा त भित्रबाट ढोका बन्द गरेछन्, फोन गर्दा पनि नउठाउने, ढोका पनि नखोल्ने भएछ । बहिनीले फोन गरिन् । त्यसपछि हामी गयौं ।

प्रहरीको सहयोग माग्यौं र दुई जना प्रहरी लिएर जाँदा रातिको १० बजेको थियो । त्यहाँ हामी पुग्दा ढोका खोलिएन । घरको माथिबाट कांग्रेसकी एक जना केन्द्रीय सदस्यले तथानाम गाली गरिन् । म उनको श्रीमती हुँ भनिन् । त्यसपछि हामी बौद्ध प्रहरीको शरणमा पुगेका थियौं । पछि काठमाडौं प्रहरी परिसर, टेकुमा उजुरी दिन हामीलाई भनिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?