+
+
यौन हिंसा :

दृष्टिकोण नै गलत भएपछि नतिजा कसरी राम्रो हुनसक्छ ?

पीडकले पीडितलाई क्षतिपूर्ति बापत दिएको रकम पनि सजायको एउटा रूप हो भन्ने बुझ्न नेपाली समाजमा अझ धेरै वर्ष लाग्छ । तसर्थ, कानुनमा जे छ, त्यही मात्र बुझिदिए पनि पीडितले ठूलो राहत पाउँथ्यो ।

गीता पोखरेल गीता पोखरेल
२०७८ चैत ६ गते ११:३९

मान्छे स्वार्थी छ तर मान्छे आफ्नो स्वार्थले अरूको जीवन नै तहसनहस पार्छ भने त्यस्तो स्वार्थ त्याग्नुपर्छ । सामाजिक बन्नुपर्छ । मान्छे हुनुको धर्म राख्नुपर्छ । कोही महिला जीवनरक्षाको याचना गर्दैछिन् भने सहयोग गर्नुपर्छ । पीडित आफ्नो अस्मिता दाउमा लगाएर भनिरहेकी छिन्, ‘म बलात्कृत भएँ ।’ तैपनि महिलावादीहरू नै वाक्स्वतन्त्रता भन्दै बलात्कारीलाई पक्षपोषण गर्न पछि पर्दैनन् ।

आफ्नो काविलियत भ्याएसम्मको दिमाग लगाई पीडितलाई नै कमजोर बनाउने अभिव्यक्ति दिएर बाघको खोल ओढेर स्याल चरित्र देखाउँदै छन् । बेमौसमी विचार प्रकट गर्दै घुमाउरो तरिकाले बलात्कारीको सपोर्ट गर्दैछन् । ती छोरी समानकी बालिकाप्रति केको द्वेष हो थाहा छैन तर, पीडकप्रतिको चाकडीवाज उदाङ्गो भएको छ । लाज पनि लजाएर भन्न थाल्नुपर्ने भएको छ- ‘अब त शरम गर ।’

शक्तिमा पुगेपछि पीडित महिलाको पीडा अनुभव गर्न नसक्ने सुकिला देखिने समाजका यी फोहोरी पात्रलाई के भन्नु ? गाली पनि कम हुने द्वैध चरित्रधारीलाई कसरी सम्बोधन गर्नु ?

मेरो आफ्नै अनुभव छ । कुनै दिन यौन हिंसा भयो भनेर महिला आयोग गएकी थिएँ । एउटी वकिलले मेरो हिस्ट्री खोजिन् अनि डिभोर्स भएको पत्ता लागेपछि मेरो चरित्र माथि नै प्रश्न गरिन्, जुन उनको बडी ल्याङ्ग्वेजले म सजिलै बुझ्थें । उनको मनसायको केन्द्रमा थियो- केटी चालू छ ।

सम्बन्धविच्छेद पछि महिलाले अरु हिंसा सहन गर्नुपर्ने ? बोल्न नपाउने, लेख्न नपाउने ? सहीलाई सही र गलतलाई गलत भन्न नपाउने ? कति लाछी पुरुषप्रधान सोच । सबै वकिल हैनन्, सबै अधिकारकर्मी पनि होइनन् तर यस्ता मात्र एउटी कर्मचारीको बुझाइबाट कति पीडितले न्याय पाउलान् ?

अर्काथरी रुद्राक्षका माला लगाएका भऽ भलाद्मी देखिने राजनीतिकर्मी । मलाई ‘पेटको बच्चा फ्याल पैसा दिन्छौं’ भन्दै मिडियटर बन्ने अपराधी छुटाउन साथ दिने मनस्थितिका मान्छेहरू लाज पचाएर अझै मेरो फेसबुकमा साथी छँदैछन् । मेरी मम्मी भन्नुहुन्थ्यो, ‘असल व्यक्ति हुन रुद्राक्षको माला लगाएका शाकाहारी पनि हुनुपर्छ ।’ अनि मम्मीलाई गाली गर्दै म भन्थें, ‘मान्छे चिन्नु हुन्न अझै ? मेरो पेटको बच्चा खान आएको । के को शाकाहारी हुन्छ ? जल्दोबल्दो केसमा बीचमै लालचा देखाउन खोज्ने व्यक्तिहरू यही क्याटेगोरीमा पर्छन् । जो मध्यस्थकर्ता होइनन्, स्पष्टतः पीडक पक्षका हुन् ।’

अर्काथरीलाई आत्मादेखि थाहा छ । देखेका छन् कि गलत भएको छ । तर बोल्दैनन् । मुर्दा शान्तिमा बस्छन् स्वार्थीहरू । कुनै कुनै अवस्थामा मौनताले पनि पीडककै पक्षमा वकालत गरिदिन्छ ।

सरकारी कार्यालयका बैठकमा महिलालाई चरित्रहीन हुन्छन् भन्दै तथानाम बोलेको सुन्ने पात्रहरू । ‘लिखित के भएको थियो ?’ भनेर सोध्दा ‘हाम्रो ध्यान अन्तै थियो, सुनेनौं’ भन्नेको हुल पनि यही समाजमा भेटिन्छन् । उनीहरू अवसरवादी समाजका दूषित खलनायकहरू हुन् । यस्तो भीड सत्यमा भन्दा शक्तिमा विश्वास गर्छन् । थाहा छैन चाकडीको यस्तो हविगतले कुन दिन उनीहरूलाई तथाकथित शक्तिशालीहरूको तलुवा चाट्ने अवस्थासम्म पुर्‍याउँछ !

मलाई के लाग्छ भने यस्ता प्रवृत्ति भएका मानिसले घरभित्रै पनि हिंसा गरिरहेका हुन्छन् । दृष्टिकोण नै गलत भएपछि नतिजा कसरी राम्रो हुनसक्छ ?

समाज लहलहैमा दौडन्छ । प्रशासनको आफ्नो गुनासो छ । यी सबैको चपेटामा पर्छन्- पीडित । हाम्रो थोरै सपोर्टले कति ऊर्जा थपिंदो हो । पीडितलाई आफू विरुद्ध भएको अन्यायमा बोलिदिने कोही भए कति हिम्मत मिल्दो हो !

दुःख त झन् लाग्छ जब यस्तो भीडमा एकल महिलाले हुर्काएको तन्नेरी पनि समावेश हुन्छ । आमाको दशधारा दूधले पनि सराप्ने गरी उनी महिलालाई अपमानजनक बोलेका शब्दहरू सुनेर पनि नसुनेजस्तै गरिदिन्छन् र लिखित गरिदिन्छ मैले केही सुनिनँ ।

अर्काथरी सुन्नु बुझ्नु केही होइन, होमा हो गर्ने हुरिबतासहरू पनि हुन्छन् । न आफू जान्दछ न भनेको मान्दछ । उनीहरू आफ्नै घरमा विद्यमान हिंसा पनि बुझ्दैनन् ।

सामाजिक सञ्जाल यस्तै चरित्र भएका कठपुतलीले भरिभराउ छ जो अरूको इशारामा नाच्न सक्छ । आफ्नो बुद्धि पटक्कै प्रयोग गर्दैन ।

घ्याम्पो फुटाउने खेलमा रुमालले आँखा छोपी खेलेजस्तो निस्पट्ट अँध्यारो देख्ने गरी आँखा चिम्लिदिन्छन्, केही बुझ्नै नचाहने गरी । जति उनीहरूले बुझे, त्यही नै सत्य हो त्यो बाहेक अरु सत्य हुनै सक्दैन !

मानवता त जन्मसिद्ध हुनुपर्ने हो जस्तो लाग्छ तर हाम्रा समाजका कतिपय अगुवा भनिनेहरू आफ्नो फाइदाका लागि जे पनि गरिदिन्छन् । पीडक बचाउने हरपर्यन्त कोसिस गर्छन् किनकि पीडक जोगाउनु नै उनीहरूको व्यापार जोगाउनु हो । यो वर्ग भित्र को पर्छ भनी राख्नु नपर्ला, छर्लङ्ग छँदैछ । यसको पीडित पनि म स्वयं हुँ ।

नेपालको १० धनाढ्य भित्र पर्ने व्यक्तिसामु आफ् ना दुःख व्यक्त गर्दै उनैको मातहतको कार्यालयमा काम गर्छन्, मलाई प्रताडित गर्ने पीडक भनेर गुनासो गरेकी थिएँ । एक कानले सुनेर अर्को कानले उडाइदिए । ताजुब लाग्यो उनी पनि म समानकी छोरीका बावु हुन् । कहिलेकाहीं समाजसेवा गरेका विज्ञापन देख्छु अनि भन्न मन लाग्छ हात्तीको देखाउने दाँत र चपाउने दाँत फरक हुन्छ नै ।

हाल म बेलायत बस्छु । हाल सालैको जल्दोबल्दो मुद्दा हो- बेलायतका राजकुमार पि्रन्स एन्ड्रयुको विषय । २१ वर्ष अगाडि १७ वषर्ीया नाबालिकसँग सहमतिमै यौन सम्बन्ध राखेको दाबीका साथ एक अमेरिकी ३८ वर्षीया महिलाले मुद्दा दायर गर्छिन् । अन्ततः मुद्दा सेटल्मेन्टको लागि प्रिन्सले ठूलो रकम तिर्छन् । यति भइराख्दा बेलायती जनता न ती केटीको चरित्र माथि औंला उठाउँछन्, न त्यो केसले हदम्याद नाघेको कुरा सुनिन्छ ।

पीडकले पीडितलाई क्षतिपूर्ति बापत दिएको रकम पनि सजायको एउटा रूप हो भन्ने बुझ्न नेपाली समाजमा अझ धेरै वर्ष लाग्छ । तसर्थ, कानुनमा जे छ, त्यही मात्र बुझिदिए पनि पीडितले ठूलो राहत पाउँथ्यो ।

अदालती कामको पाँच वर्षको दौरानमा वकिल र न्यायाधीशबीचको अन्तरद्वन्द्व बुझ्ने मौका मिल्यो । न्यायाधीश भन्छन्, ‘वकिलले दुईवटा पक्ष मिल्न दिंदैनन्, मुद्दा लम्ब्याउँछन् ।’

वकिल भन्छन्, ‘अधिकारकर्मी कानुन बुझ्दैनन् ।’

समाज लहलहैमा दौडन्छ । प्रशासनको आफ्नै गुनासो छ । यी सबैको चपेटामा पर्छन्- पीडित । हाम्रो थोरै सपोर्टले कति ऊर्जा थपिंदो हो । पीडितलाई आफू विरुद्ध भएको अन्यायमा बोलिदिने कोही भए कति हिम्मत मिल्दो हो !

मेरो भोगाइ छ- एक्लो भएको अवस्थामा पनि हिम्मत नहारे एकदिन जितिन्छ । नजिक भए पीडित गायिकालाई एकपटक छातीमा टाँसेर भन्न मन छ- ध्रुव एक्लो भए पनि सत्य छ नडराऊ । एकदिन सत्यको जित हुन्छ ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?